काठमाडौं,२९ भाद्र। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या हालसम्म १ हजार ३ सय ९२ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार बाढीमा परेका ४ हजार ८९ जना अझै सम्पर्कविहीन रहेका छन्।
प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फेला परेका शवहरूमध्ये ५ सय ४२ पुरुष, ३ सय ३६ महिला र ५ सय १४ वटा आंशिक अंग मात्र रहेका छन्। हालसम्म फेला परेकामध्ये १ सय ३ वटा शवको पहिचान भई आफन्तलाई हस्तान्तरण गरिसकिएको छ। बाँकी शवको पहिचान र सनाखतका लागि डिएनए परीक्षणलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले जनाएको छ।
बाढीमा बेपत्ता भएका चार हजारभन्दा बढी व्यक्तिहरूको खोजी तीव्र पारिएको छ। बेपत्ता हुने स्वदेशी नागरिकतर्फ २ हजार ९ सय ७ पुरुष र ५ सय ७२ महिला रहेका छन् भने विदेशी नागरिकतर्फ २ सय ७२ पुरुष र ३ सय २८ महिला सम्पर्कविहीन रहेका छन्।
विपदपछि चालिएको उद्धार कार्यका क्रममा हालसम्म ९हजार २ सय ८७ जना घाइतेको सकुशल उद्धार गरिएको छ। जसमा ६ हजार ४ सय ७ पुरुष, २ हजार ८ सय ३० महिला र पहिचान नखुलेका ५० जना रहेका छन्। उद्धार गरिएकामध्ये २ हजार ७ सय ८१ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरहरूमा राखिएको छ।
बाढीबाट ठूलो मानवीय क्षति भएकाले प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार, शवको पहिचान र राहत व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र सम्बन्धित सरकारी निकायहरू संयुक्त रूपमा परिचालित छन्।काठमाडौं। विपद् प्रभावित विभिन्न क्षेत्रहरूमा नेपाली सेनासहितको संयुक्त टोलीले खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ।
आइतबार साँझ साढे ६ बजेसम्मको विवरण अनुसार सेनाले हवाई साधनमार्फत विभिन्न भोटेकोशी बाढी प्रभावित इलाकाहरूबाट हालसम्म कुल ४ हजार १ सय ५७ जनाको सकुशल उद्धार गरेको छ। उद्धार गरिएकाहरूमा ३ हजार ८ सय ७४ जना स्वदेशी तथा २ सय ८३ जना विदेशी नागरिक रहेका छन्।
सुरुङमा खोजी जारी, अपर त्रिशूली १ मा अझै बेखबर
विशेषगरी रसुवा र नुवाकोटस्थित विभिन्न जलविद्युत आयोजनाहरूमा स्वदेशी तथा विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ।
‘कम्पोजिट क्विक रियाक्सन टिम’ तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ। लाङटाङमा संयुक्त टोलीले सुरुङभित्र ड्रोन परिचालन गरी खोजी गरे तापनि हालसम्म केही फेला पर्न सकेको छैन।
चिलिमे सुरुङभित्र जम्मा भएको लेदो र गेग्रान (डेब्रिज) हटाउन एक्साभेटर र डोडर प्रयोग गरिएको छ। हालसम्म करिब ८५ मिटर सफा गरिएको छ भने खोला वारपार गर्न नजिकै तुइन जडान कार्य भइरहेको छ। माथिल्लो त्रिशूली–१ मा नेपाली सेना र आयोजनाका प्रतिनिधिहरू संयुक्त रूपमा खोजीमा जुटेका छन्।
त्रिशूली–३ ‘ए’ पावरहाउस तथा सुरुङ इलाकामा टोलीले खोजी कार्य जारी राखेको छ। त्रिशूली–३ ‘बी’ मा तीन वटा एक्साभेटर र एउटा ब्याकहो लोडरको सहायताले उत्खनन गर्दै आवास गृह रहेको गहिराइसम्म पुगेर खोजी कार्य अघि बढाइएको छ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी (पूर्व) का प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका ८ हजार ९ सयभन्दा बढी जनशक्ति प्रत्यक्ष रूपमा परिचालित छन्। टोलीले घाइतेहरूको उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, सडक खुलाउने तथा आपत्कालीन स्वास्थ्य उपचार प्रदान गरिरहेको छ।








