Prakash Adhikari September 14, 2026

काठमाडौं, २९ भाद्र । नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो समितिमा रहेका नेताहरूलाई पुनः केन्द्रीय समितिमा फर्किने बाटो खुला गरेको छ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि गठित नयाँ समितिमा पर्न नसकेका सबै नेताहरूलाई समेट्दै केन्द्रीय समितिमा राख्ने निर्णय गरेको हो।

बैठकपछि महामन्त्री प्रदीप पौडेलद्धारा जारी प्रेस विज्ञप्तिको निर्णय नं ६ मा भनिएको छ,” महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। कुनै असहमिति भएमा आफ्नो मत राख्ने र समाधान खोज्ने स्थान महाधिवेशनमा नै हो। अतस् पार्टीका कोही पनि साथीहरू महाधिवेशन प्रक्रियामा नछुटुन् र पार्टीमा रहन चाहने प्रत्येक सदस्यले भाग लिने वातावरण बनोस् भन्ने नेपाली कांग्रेस चाहन्छ।”

१५ औं महाधिवेशनको प्रक्रियामा असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुन उत्साही पार्टीका सबै साथीहरूप्रति यो बैठक सम्मान व्यक्त गर्दछ। यस सन्दर्भमा १५औं महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालिन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्यसमितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय यो बैठक गर्दछ।

सो निर्णय कार्यान्वयनको बारेमा एक पदाधिकारीले बताए अनुसार ‘अघिल्लो समितिमा रहेका सबैलाई केन्द्रीय समितिमा आउन औपचारिक आह्वान गरिन्छ। उहाँहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिकै रूपमा क्रियाशील रहनुहुनेछ।’

ती पदाधिकारीका अनुसार केन्द्रीय समितिमा फर्कन चाहने नेताहरूलाई स्वागत गरिनेछ भने अनिच्छुकहरूका लागि जबरजस्ती नगरिने नीति पार्टीले लिएको छ।

पार्टीले आगामी १५औँ महाधिवेशनको कार्यतालिका पनि तय गरेको छ। जसअनुसार असोज १६ देखि १९ गतेसम्म महाधिवेशन आयोजना गरिनेछ। त्यसअघि असोज ३ र ४ गते वडा तहको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ।

यसैगरी, कांग्रेस संस्थापन पक्षले गत पुस मसान्तसम्म नवीकरण भइसकेका सबै क्रियाशील सदस्यहरूलाई मान्यता दिने निर्णय गरेको छ। यस निर्णयसँगै लामो समयदेखि कायम रहेको सदस्यता नवीकरण सम्बन्धी अन्योल र विवाद समाधान भएको छ ।

चास्नीमा डुबेर मर्ने कि अस्तित्व जोगाउने ?

शकुनी चालले विशेष महाधिवेशन गरेर पार्टीको नेतृत्व हत्याएको सानेपा कांग्रेसले विगत आठ महिनामा पार्टीका सम्पूर्ण कब्जा गरेर आफ्नो अनुकूल बनाएपछि महाधिवेशन सुरुहुनु पाँच दिन अगाडि मात्र असहमत पक्षलाई पार्टीमा आउने बाटो खुला गरेको छ । अब असहमत समूहमा रहेका नेता र कार्यकर्ता सानेपा कांग्रेसमा छिरे भनेपनि असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा पराजित गराइन्छ । नियमित महाधिवेशन पक्षधरहरुको अस्तित्व समाप्त विधिवत् रुपमा समाप्त पारिन्छ ।

सानेपा कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा विदेशी एजेन्सीको खर्चपर्च र खटनपटन अनुसार चलेको कुरा विदेशी सञ्चारमाध्यमले नै सार्वजनिक गरेकोले नेपाली कांग्रेसले स्वभिमानी नेपाली नेता अहिले घोषित महाधिवेशन तयारी समितिबाट पाउन नसक्ने स्पष्टै छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माले त भनिसक्नुभएको छ, “हामी गगन थापालाई ७० मत दिएर सभापतिमा जिताउँछौ ।” उहाँको यो कथनले निर्वाचनपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीले दुईतिहाई ल्याउछ भनेर बनाइएको भाष्यको पुन:स्मरण गराएको छ । सानेपा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीको रिमोट कन्ट्रोल एकै स्थानमा भएको कुरा’ दि ग्रेजोन डटकम’ले सार्वजनिक गरिसकेको छ ।

जसरी विशेष महाधिवेशन शकुनि चालले झ्यापझुप पारियो, न सनाखत, न उपस्थितिको रुजु, उपस्थितिको संख्या पनि माइन्युटिड. नगरी मुखबोली लगाएर सम्पन्न गराइयो, यो महाधिवेशनको नतिजा पनि त्यो भन्दा फरक  नहुने देखिन्छ । भृकुटी मण्डपमा गत पुस माघमा महिनामा जे देखिएको थियो, असोजमा पनि त्यही दृश्य पुनरावृत्ति हुनेछ । अलिकति भिड बढाएर । त्यसैले पार्टीभित्रको असहमत पक्ष गगन थापा नेतृत्वको सानेपा कांग्रेसले देखाएको चास्नीमा डुबुल्की लगाएर मर्ने कि अलग अस्तित्व रक्षाका लागि आफ्नो पक्षले घोषणा गरेको मंसिरको महाधिवेशनको तयारी गर्ने भन्ने इतिहासको कठिन अग्नि परीक्षामा छ ।

विदेशी पोषित शकुनि कांग्रेसबाट जोगिन इमान्दार,स्वाभिमानी, राष्ट्रभक्त कांग्रेसजनहरुले अर्को पार्टी स्थापना गरे भने अब आश्चर्य हुने छैन ।

 

Share Now