Prakash Adhikari September 15, 2026

काठमाडौं, ३० भाद्र । सरकारले पूँजी बजार सुदृढीकरण तथा पुनरोत्थान कार्यक्रम सार्वजनिक गरेपछि शेयर बजारमा सकारात्मक असर देखिएको छ ।

साताको पहिलो कारोबार दिन मंगलबार नेप्से परिसूचक ४८.५७ अंक बढेर २६३३.६२ विन्दुमा पुगेको छ।

धितोपत्र बजार परिसूचक सँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ६८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४७ स्टकको २ करोड ३ लाख ८७ हजार कित्ता शेयर खरिदबिक्रीबाट ८ अर्ब २९ करोड १७ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन सिन्धु विकास बैंकको शेयरमूल्य ११ प्रतिशत बढेको छ भने मल्टीपर्पस फाइनान्स कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्रको मूल्य सर्वाधिक ५.५५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। कम्पनीले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु आकर्षित भएका हुन्। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको कारोबार रकम साढे ३१ करोड रुपैयाँ नाघेको छ भने अपि पावर कम्पनीको करिब साढे २८ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.८२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now