Prakash Adhikari September 15, 2026

 

काठमाडौं, ३० भाद्र। एकताको माला जप्दाजप्दै नेपालको राजनीतिक इतिहासमा परिवर्तनको संवाहक बनेको नेपाली कांग्रेस विभाजनको बाटोमा गएको छ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले असोज तेस्रो साता संस्थापन पक्षले गर्न लागेको १५औं महाधिवेशनमा सहभागी नहुन नेता तथा कार्यकर्तालाई सार्वजनिक रुपमा अपिल गर्नुभएको छ।

उहाँले मंगलबार ७ बुंदे अपिल जारी गर्दै असोज २६ देखि ११ गतेसम्मका लागि तय १५ औं महाधिवेशनमा सहभागी नहुन र आफ्नो समूहले मंसिरमा गर्न लागेको महाधिवेशनमा सहभागी हुन आग्रह गरेका हुन्।

उहाँले गत पुस मसान्तमा भएको विशेष महाधिवेशनलाई अवैधानिक भन्दै सभापति गगन बाधामाथि पार्टीलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन्।

“कथित विषेश महाधिवेशन पक्षधरहरूले विगतको परम्पराबाट पाठ सिक्न नसकेको मात्र होइन, बरु पार्टीभित्र सहमति हुन सक्ने प्रयाप्त सम्भावना हुँदा हुँदै सहमतिको अवसरलाई लत्याएर बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाई छ,ु उहाँले भन्नुभएको छ, ुत्यसैले यस अपिलमार्फत अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली काग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु।”

देउवाले आफूलाई अब पदको लालसा नरहेको तर १४ औं महाधिवेशनवाट निर्वाचित सभापतिका रूपमा १५औं महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु आफ्नो नैतिक दायित्व र कर्तव्य भएको उल्लेख गर्नुभएको छ।

“कथित विषेश महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रुपले अधिवेशन गरेमा म पार्टीलाई कमजोर गर्ने कार्य हुँदा मुकदर्शक भएर बस्न सक्ने छैन”, उहाँले भन्नुभएको छ, “तसर्थ नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रुपमा आगामी मंसिर २२ र २३ गते सम्पन्न हुने १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु ।”

Share Now