काठमाडौं, ४ असोज । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको भ्रमण टोली आइतबार मित्रराष्ट्र चीन प्रस्थान गरेको छ।
चीनको ‘चाइना ल सोसाइटी’ को आयोजनामा हुन गइरहेको ‘चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन -२०२६’ कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश शर्माको टोली चीन प्रस्थान गरेको सर्वोच्च अदालतले जनाएको छ।
चाइना साउदर्न एयरलाइन्सको विमानमार्फत चीनको ग्वाङ्झाउतर्फ प्रस्थान गरेको उक्त टोली भ्रमण सम्पन्न गरी असोज ८ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माका साथमा उहाँकी धर्मपत्नी उमा शर्मा, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेल र उप-रजिस्ट्रार राजेन्द्र पौडेल सहभागी हुनुहुन्छ। सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी गराइएको हो।








