काठमाडौं, ८ असोज । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा बसेर देशमा खनिज तेल र ग्यास आपूर्ति गर्न १७ जना मैदानमा उत्रिएका छन् ।
उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा निगमको कार्यकारी निर्देशक चयन गर्ने निर्णय गरि आवेदन माग गरेपछि १७ जनाले आवेदन दिएका हुन् । मन्त्रालयका अनुसार सुरेन्द्र पौडेल,तारक थापा, डा. सरोज कोइराला, गोविन्दप्रसाद खरेल, मंगललाल श्रेष्ठ,प्रलयंकर आचार्य, तारानाथ पौडेल, गोवर्द्धन खड्का, मुकेश काफ्ले,अनन्तराज घिमिरे,अनिलकुमार झा, लोकबहादुर खड्का, रमेशकुमार बस्नेत, डा. शिवहरि श्रेष्ठ, अच्युतराज पहाडी,शिवराम यादब र रामप्रसाद धितालले आवेदन दिएका छन्।
आवेदन दिने पौडेलउदयपुर सिमेन्टका महाप्रवन्धक हुन्। उनले झण्डै चार वर्षको अवधिमा उद्योगमा सुधार गरेको छवि कायम गरेका छन् ।
निगमको नेतृत्व सम्हाल्न अग्रसर अच्युत पहाडी नेपाल वायुसेवा निगमका सञ्चालक हुन् । उनीसंग नेपाल वायुसेवा निगमको इन्जिनियरिड.विभाग सम्हालेको लामो अनुभव छ । उनले विभिन्न वायुसेवामा परामर्शदाताको काम पनि गरेका छन् ।
निगमको कार्यकारी निर्देशक हुन आवेदन दिने मुकेश काफ्ले विगतमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भईसकेका व्यक्ति हुन् । उनलाई राजिनामा गर्न लगाएर प्राधिकरणमा कूलमान घिसिड.लाई ल्याइएको हो ।
निगमको नेतृत्व लिन अग्रसर गोबर्धन खड्का नेपाल वायुसेवा निगमको निर्देशकबाट अवकाशप्राप्त व्यक्ति हुन् । निगममा स्वच्छ छवि बनाएर अवकाश पाउने थोरै कर्मचारीमा उनको नाम आउछ ।
कार्यकारी निर्देशकमा आवेदन हाल्ने धिताल वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन्।उनले केन्द्रको कार्यकारी निर्देशक पूरा समय निर्विवाद ढंगले चलाएका थिए ।
निगमको नेतृत्व गर्न तम्सेका रमेशकुमार बस्नेत यसअगाडि सिक्टा र रानीजमरा कुलरिया सिंचाई आयोजनाको प्रमुख भैसकेका व्यक्ति हुन् ।
अर्का आवेदक अनिलकुमार झा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा महाप्रबन्धक भैसकेका व्यक्ति हुन् ।
प्रलयंकर अचार्य आयल निगमकै प्रवन्धक हुन्।
कार्यकारी निर्देशकमा आवेदन दिने शिवहरि नेपाल खाद्य संस्थान र राष्ट्रिय विमा संस्थानका पूर्वमहाप्रवन्धक हुन्।
खुला प्रतिस्पर्धा भनेपनि चयनमा विभागीय मन्त्री र प्रधानमन्त्रीको प्रत्यक्ष रुचि रहने भएकोले मन्त्री र प्रधानमन्त्रीसंग निकट व्यक्ति नै आउनेमा कुनै शंका भने छैन् ।








