सातदोबाटो (ललितपुर), ८ कार्तिक । साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौथो संस्करण आज( बिहिबार)देखि राजधानीमा सुरू हुँदैछ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटो ललितपुरमा सुरू हुने प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, भुटान, माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशले सहभागिता जनाउँदैछन्।
प्रतियोगिताका सबै खेलहरु एन्फा मैदान सातदोबाटोमा हुने आयोजकले जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा समूह बी तर्फ भारत र पाकिस्तान ११:३० मा भिड्ने छन् भने दोस्रो खेलमा ३ बजे नेपाल र माल्दिभ्स भिड्ने छन् ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल कात्तिक ८ गते माल्दिभ्ससँग र समूह चरणको अन्तिम खेल कात्तिक १२ गते बङ्गलादेशसँग खेल्नेछ।
समूह ‘बी’मा भारत,पाकिस्तान, भूटान र श्रीलङ्का छन्।
प्रतियोगिता कात्तिक १७ गतेसम्म चल्नेछ।
नेपाली टोली
गोलकिपर: रोशन नेपाल, रोहन मगर, विनय श्रेष्ठ
डिफेन्डर:जान लिम्बू, निवास फुँयाल, प्रमेश गुरुङ, रोशन थापा, श्रीजन दानी, रोजित परियार, सुशील अधिकारी,
मिडफिल्डर:प्रदीप लम्साल, मनाग्य नकर्मी, दिपेश गुरुङ, प्रविन मगर, राकेश विक, शशांक बोहरा, निराजन मल्ल, धीरज बलायर
स्ट्राइकर:नमास थापा, सोनम गुरुङ, रोहित शुब्बा, दिपेश राई
मुख्य प्रशिक्षक: सनोज श्रेष्ठ
सन् २०१३ बाट आयोजना हुँदै आएको प्रतियोगितामा नेपाली टोली उपविजेता भैसकेको छ।
अघिल्लो बर्ष सन् २०१७ मा नेपालमै भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो।


















