पोखरा(कास्की), ८ कार्तिक । नेपालकै सुन्दर नगरी पोखरामा कार्तिक ९ गते शुक्रबार देखि आयोजना हुने पोखरा प्रिमियर लिग टि-२० ( पिपिएल ) को तयारी लगभग पूरा भएको छ ।
६ सहरको प्रतिनिधित्व गर्ने फ़्रेञ्चाइज टिमहरु खेल्ने लिगको लागि ४ हजार दर्शक अट्ने प्याराफिट निर्माण, पिच, आउट फिल्ड, सजावटको कामहरु लगभग सकिएको छ। प्रतियोगिता खेल्ने ६ वटै टीमहरु पोखरा आइसकेका छन्।
कार्तिक ९ गते देखि सुरु हुने पोखरा प्रिमियर लिगको फाइनल खेल कार्तिक २० गते हुनेछ । कुल १२ दिन संचालन हुने प्रतियोगितामा कार्तिक १३ गते र कार्तिक १९ गते खेलहरु राखिएको छैन्।
लिगमा ६ टीम सहभागी हुँदै छन् । चितवन राइनोजको मार्की प्लेयर पारस खड्का, बिराटनगर टाईटन्सको मार्की प्लेयर सन्दिप लामिछाने, बुटवल ब्लास्टर्सको मार्की प्लेयर सोमपाल कामि, पोखरा पल्टनको मार्की प्लेयर शरद भेसावकर, धनगढी ब्लुजको मार्की प्लेयर दिपेन्द्र ऐरि तथा काठमाडौँ रोयल्सको मार्की प्लेयर ज्ञानेन्द्र मल्ल रहेका छन्।
खेल तालिका

पीपीएलको पहिलो खेलमा विराटनगर टाइटन्स र पोखरा पल्टनबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो दिन शनिबार दुई खेल हुनेछन । जसमा चितवन राइनोज र बुटवल ब्लास्टर्स तथा काठमाडौ रोयल्स र धनगढीबीच हुनेछ । तेस्रो दिन आइतबार विराटनगरले धनगढीसँग खेल्नेछ । सोहि दिन अर्को खेलमा बुटवलले पोखरा पल्टनसँग खेल्नेछ ।
लिग चरणका शीर्ष चार टिमले दोस्रो चरणमा प्रवेश गर्नेछन ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगिताको बैकिङ पार्टनर नबिल बैक रहेको छ भने हस्पिटालिटी पार्टनर ओयो र मेडिकल पार्टनर ग्राण्डी अस्पताल रहेको छ ।
बिजेतालाई २७ लाख नगद

पोखरा प्रिमियर लिग क्रिकेटको पुरस्कार रकम बृद्धि गरिएको छ ।
यसअघि उपाधि विजेताले २५ लाख पाउने भनिएकोमा २ लाख बढाइएको छ । योसँगै पोखरा प्रिमियर लिग सर्बाधिक ठूलो घरेलु प्रतियोगिता पनि बनेको छ ।
प्रतियोगिताको आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले बुधबार पुरस्कार रकम बढाइएको जानकारी दिएको हो । प्रतियोगिताको उपविजेतालाई १० लाख रुपैयाँ प्रदान गरिनेछ ।
यसबाहेक प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही एक एक थान सुजुकी मोटरसाइकल पुरस्कार पाउनेछन् । घरेलु प्रतियोगितामा तीन उत्कृष्ट खेलाडीलाई एकैपटक मोटरसाइकल पुरस्कार प्रदान गर्न लागिएको पनि पहिलो पटक हो ।
यस्तै हरेक खेलको म्यान अफ द म्याचले १० हजार रुपैयाँ नगद र ५ हजार बराबरको गिफ्ट ह्याम्पर पुरस्कार पाउनेछ भने हरेक खेलको विजेता टोलीले १५ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ ।


















