ब्रसेल्स् (बेल्जियम),८ कार्तिक । नेपाली काँग्रेस निकट प्रवासी नेपालीहरुको संगठन नेपाली जनसम्पर्क समिति बेल्जियममा नेतृत्वको विषयमा चर्को विवाद उत्पन्न भएको छ ।
समितिकी सभापति सीता सापकोटाले एक विज्ञप्ति जारी गर्दै वर्तमान महामन्त्री सुभाष गुरुङ र पूर्वसभापति गंगाधार गौतमलाई समितिको साधारण सदस्य समेत नरहने गरि चार वर्षको लागि बर्खास्त गर्नुभएको छ ।

सभापति सापकोटाद्धारा जारी विज्ञप्तिमा गुरुङ र गौतमले पार्टी अनुशासन तोडेर पटक पटक सचेत गराउदा समेत नसुध्रेपछि कार्यवाही गरिएको उल्लेख गरिएको छ ।
सभापति सापकोटाले कारबाही बढाएपछि नेपाली जनसम्पर्क समितिका महामन्त्री सुभाष गुरुङको नेतृत्वमा आइतवार राति लुभेनमा भएको एक भेलाले वर्तमान सभापति सीता सापकोटाको नेतृत्व नमान्ने घोषणा गर्दै नयाँ कार्यसमिति गठन गरेको छ।
सभापति सापकोटाको कारबाहीमा पर्नुभएका महामन्त्री सुभाष गुरुड.को नेतृत्वमा बनेको कार्यसमितिले आफूलाई आधिकारिक भएको दावी गर्दे नेपाली कांग्रेस केन्दीय कार्य समितिलाई आफ्नो समितिसंग पत्राचार गर्न आग्रह गरेको छ । सो कार्य समितिको बैठकले सभापति सापकोटालाई नै बर्खास्त गरेको नयाँ कार्यसमितिकी महामन्त्री अनुजा प्रधानद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पहिल्यैदेखि मतमतान्तर रही आएको बेल्जियम जनसम्पर्कमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल।को यूरोप भ्रमणको समयमा विवाद चर्केको थियो ।



















