Prakash Adhikari October 23, 2026

काठमाडौँ, ६ कात्तिक : अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा नेपालका तर्फबाट अनुकूलन कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाउनुभएको थियो । उहाँका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनका जोखिममा रहेका समुदायको उत्थानशीलता अभिवृद्धि, प्रकृतिमा आधारित समाधानको प्रवद्र्धन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरेको छ । उक्त परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिनेछ ।

बैठकले स्वीकृत गरेको अर्को परियोजना अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ हो । उक्त परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्व–अवधारणापत्र स्वीकृत भएको हो ।

त्यसैगरी संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले कार्यान्वयन गर्ने लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजनाको करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ ।

यसैबीच भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त परिचालन गर्ने विषय आगामी बोर्ड बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकमा समय अभावका कारण उक्त विषयमा निर्णय हुन नसकेपछि आगामी वैशाखमा हुने बोर्ड बैठकमा छलफल तथा निर्णयका लागि एजेन्डा स्वीकृत गरिएको जनाइएको छ । उक्त पहलले भोटेकोशी विपद्बाट प्रभावित समुदायको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तको पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
—

Share Now