Prakash Adhikari October 29, 2018

काठमाडौं,१२ कार्तिक ।जघन्य अपराधका आरोपीलाई उम्काउन केही वरिष्ठ अधिकारीहरू नै संलग्न भएको टिप्पणी हुन थालेपछि नेपाल प्रहरीले आइतवारदेखि सुरू गरेको एउटा महत्त्वाकांक्षी अभियान सफल बनाउन थुप्रै चुनौती देखिएको सुरक्षा सेवाका पूर्व अधिकारीहरूले बताएका छन्।

पश्चिम नेपालको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएका प्रमाणहरू नष्ट गर्न त्यहाँका प्रहरी अधिकारी नै संलग्न भएको सार्वजनिक भएपछि प्रहरीप्रतिको जनविश्वास गुमेको देखिएकोले यो अभियानलाई नागरिकहरूले सहयोग गर्नेमा पनि उनीहरूले शंका व्यक्त गरे।

प्रहरी अधिकारीहरू भने उक्त अभियान समाज र प्रहरीबीचको द्वन्द्व कम गरेर सुरक्षा क्षेत्र सुधार गर्ने प्रयास भएको दाबी गर्छन्।

समुदायसँग मिलेर शान्ति सुरक्षा कायम गर्ने भन्दै नेपाल प्रहरीले ‘समुदाय-प्रहरी साझेदारी’ नामक अभियान सुरू गरेको हो।

देशैभर

प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालका अनुसार त्यस्तो साझेदारी ७७ वटै जिल्लाका सबै स्थानीय तहमा र त्यहाँका विद्यालयहरूसँग गरिनेछ।

पहिलो चुनौती नै अविश्वास हो। अहिलेको कार्यक्रम पनि त्यसलाई निराकरण गर्ने पहल नै हो जस्तो लाग्छ तर प्रहरीले आफ्नो काम कारवाहीबाट समाजसामू प्रमाणित गर्न सक्नुपर्‍यो अनि मात्र सफल हुन्छ।
सूर्य सिलवाल, पूर्व गृहसचिव

अपराध गर्ने र त्यसबाट पीडित हुनेमा बालबालिका र युवा बढी रहेकाले यो अभियान त्यस्ता वर्गमा लक्षित गरिने अधिकारीहरूले बताएका छन्।

त्यसबाहेक कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई सुरक्षा सम्बन्धी विशेष पाठ्यक्रम बनाएर अध्यापन गराउनेलगायतका लक्ष्य पनि यो अभियानको छ।

तर, उक्त अभियान सफल पार्न कैयौं चुनौतीहरू भएको एकजना पूर्व गृहसचिव सूर्य सिलवालले बताए।

चुनौती

उनले भने, “पहिलो चुनौती नै अविश्वास हो। अहिलेको कार्यक्रम पनि त्यसलाई निराकरण गर्ने पहल नै हो जस्तो लाग्छ तर प्रहरीले आफ्नो काम कारवाहीबाट समाजसामू प्रमाणित गर्न सक्नुपर्‍यो अनि मात्र सफल हुन्छ।”

जति धेरै सरोकारवाला भए उति नै धेरै आफ्नो कारणले भन्दा उनीहरूको कारणले कार्यक्रममा असर पर्न सक्छ।उनीहरूले राम्रो काम गरिदिएनन् र साझेदारीमा संगसंगै हिडिदिएनन् भने प्रहरीले सोचेजस्तो नतिजा दिन सक्दैन।
नवराज ढकाल, पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक

स्रोतसाधन र उच्च प्रविधिको अभावकाबीच महत्त्वाकांक्षी लक्ष्य राखिएकाले त्यसलाई पूरा गर्न सानोतिनो प्रयासले नहुने सिलवाल बताउँछन्।

उक्त अभियानलाई सफल पार्न धेरै निकायको एकीकृत प्रयास आवश्यक रहेको एकजना पूर्व अतिरिक्त प्रहरी महानिरिक्षक नवराज ढकालले बताए।

“जति धेरै सरोकारवाला भए उति नै धेरै आफ्नो कारणले भन्दा उनीहरूको कारणले कार्यक्रममा असर पर्न सक्छ,” उनले भने, “उनीहरूले राम्रो काम गरिदिएनन् र साझेदारीमा संगसंगै हिडिदिएनन् भने प्रहरीले सोचेजस्तो नतिजा दिन सक्दैन।”

सहभागिता

अभियानका क्रममा प्रहरी र सबै सरोकारवाला गरि करिब एक करोड २० लाख जना व्यक्तिहरू प्रत्यक्ष रूपमा सहभागी हुने बताइएको छ।

हामी केवल प्रहरीमाथि निर्भर भएर र प्रहरीको मात्र दायित्व भनेर सोच्यौ भने हामीले देखेका सपनाहरू र लक्ष्यहरूलाई हासिल गर्न सक्दैनौ। तपाईं हाम्रो सक्रियतामा सफलता निर्भर गर्छ।
रामबहादुर थापा, गृहमन्त्री

राजधानी काठमाण्डूमा अभियानको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले पनि यस्ता चुनौती तर्फ संकेतका थिए।

उनल भने, “हामी केवल प्रहरीमाथि निर्भर भएर र प्रहरीको मात्र दायित्व भनेर सोच्यौ भने हामीले देखेका सपनाहरू र लक्ष्यहरूलाई हासिल गर्न सक्दैनौ। तपाईं हाम्रो सक्रियतामा सफलता निर्भर गर्छ।”

प्रहरीले लामो गृहकार्यपछि ल्याइएकाले उक्त अभियान सफल हुने बताइरहेका बेला आलोचकहरूले भने यसलाई पनि पहिले-पहिले ल्याइने गरेका यस्तै खाले अभियानभन्दा भिन्न नभएको बताएका छन्।

(बीबीसी)

Share Now

Leave a comment.