काठमाडौं, १८ कार्तिक (बीबीसी) । भारतका विदेशसचिव विक्रम मिस्री बुधवार र बिहीवार काठमाडौंमा उच्चस्तरीय भेटघाटमा व्यस्त हुने अधिकारीहरूले जनाएका छन्।
गत वर्ष नेपालमा भएको आमनिर्वाचनपछि छिमेकी भारतबाट नेपाल भ्रमण गर्ने उहाँ नै सबैभन्दा उच्च अधिकारी हुनुहुन्छ ।
नेपालको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निम्तोमा भारतीय समकक्षी मिस्रीको नेपाल भ्रमण हुन लागेको हो।
“परराष्ट्रसचिवसँग विदेशसचिवको बुधवार दिउँसो द्विपक्षीय भेटघाट र छलफल हुन्छ,ू परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भन्नुभयो”, भ्रमणका क्रममा उच्चस्तरीय अन्य भेटघाटहरू गरेर बिहीवार स्वदेश फर्किने कार्यक्रम छ।ू
भारतीय विदेश मन्त्रालयले पनि आफ्ना विदेश सचिवले नेपालका अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेट गर्ने जनाएको छ।
उसका अनुसार मिस्रीले ‘आपसी हितका द्विपक्षीय, क्षेत्रीय तथा विश्व मामिलामा छलफल गर्नुहुने छ।’
दुवै पक्षले मिस्रीले नेपालमा भेटघाट गर्ने अन्य उच्च अधिकारीहरूबारे औपचारिक रूपमा खुलाएका छैनन्।
प्रधानमन्त्रीसँग जुरेको भेट
सरकारी स्रोतका अनुसार भारतीय विदेश सचिवले प्रधानमन्त्री वालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्नुहुने छ।
अधिकारीहरूले त्यसबारे केही खुलाएका छैनन्।
केही महिनाअघि प्रधानमन्त्री बालेनले भेटघाटको समय नदिएपछि निर्धारण भइसकेको भ्रमण पनि मिस्रीले स्थगित गर्नुभएको खबरहरू सार्वजनिक भएका थिए। त्यस सन्दर्भमा अहिलेको भ्रमणलाई महत्त्वका साथ हेरेको पाइन्छ।
विदेशसचिव मिस्रीले सम्भवतः बुधवार नै प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेटवार्ता गर्ने एक अधिकारीले जानकारी दिनुभएको छ।
भ्रमणका क्रममा उहाँले गर्ने भेटघाटको पूर्ण तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
तर उहाँले अर्थमन्त्री, परराष्ट्रमन्त्री, ऊर्जामन्त्री र पूर्वाधारविकासमन्त्रीलगायतका अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने बताइएको छ।
त्यस्तै सत्ताधारी दल रास्वपाका सभापति रवि लामिछानेसँग पनि उहाँको शिष्टाचार भेट हुने छ।
प्रधानमन्त्रीको भारत भ्रमणको सुनिश्चितता?
प्रधानमन्त्री बालेनको भारत भ्रमण मङ्सिरको पहिलो हप्ता हुने अहिलेसम्मको तयारी रहेको बताइन्छ।
उक्त मितिबारे पनि नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले केही खुलाएका छैनन्।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले कार्तिक ११ गते आयोजित नियमित पत्रकार भेटघाटमा नेपालका प्रधानमन्त्रीलाई ‘भ्रमणको निमन्त्रणा गरिसकेको र यस विषयमा दुवै पक्षको आपसी अनुकूलताका आधारमा कूटनीतिक माध्यमबाट निर्णय लिइने’ बताउनुभएको थियो।
“सम्माननीयज्यूको भ्रमण दुवै पक्षलाई उपयुक्त र अनुकूल समयमा हुने छ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता क्षेत्रीले भन्नुभयो, “त्यसै सिलसिलामा परराष्ट्र मन्त्रालयबाट तयारी भइरहेको र मितिलगायतका विवरण उपयुक्त समयमा सार्वजनिक गरिने छ।”
तर जानकारहरूका अनुसार मिस्रीको यो भ्रमणको मुख्य ध्येय नै प्रधानमन्त्री बालेनको आसन्न भारत भ्रमण सुनिश्चित गर्दै त्यसको चाँजो मिलाउनु हो।
एक अधिकारीले मिस्रीसँग नेपाली अधिकारीहरूको छलफलमा त्यसबारे चर्चा हुने र त्यसबारे ूएक खालको टुङ्गोू लाग्न सक्ने जानकारी दिनुभएको छ।
“भ्रमणका केही मुद्दाबारे पनि कुरा होलान्”, संबन्धित अधिकारीले भन्नुभयो, “अहिलेसम्म मङ्सिर ७ गते भ्रमण हुने तयारी छ तर ६ गते पनि हुन सक्छ, सम्भवतः भ्रमणका क्रममा गरिने सम्झौतालगायतका विषयमा मोटो रूपमा सहमतिपछि मितिबारे अन्तिम टुङ्गो लाग्ला।”
मिस्रीको नेपाल भ्रमणको अघिल्लो दिन नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला मङ्गलवार काठमाडौं आईपुग्नुभएको छ।
भारतका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस भई संसदीय समितिबाट अनुमोदित भएका निश्चलनाथ पाण्डे दिल्लीको एग्रिमोको पर्खाइमा रहेको बताइएको छ।
एक अधिकारीका अनुसार पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणअघि नै दिल्लीमा जिम्मेवारी सम्हाल्ने ठानिएको छ।
प्रधानमन्त्रीको मन बदलियो
प्रधानमन्त्री बालेनको तर्फबाट औपचारिक रूपमा केही नभनिए पनि उहाँको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताले प्रधानमन्त्री कम्तीमा एक वर्ष औपचारिक विदेश भ्रमणमा नजाने मनस्थितिमा रहेको बताउनुभएको थियो।
“प्रधानमन्त्री भारत भ्रमणमा जानुलाई अन्यथा रूपमा लिएको छैन, तर केही समय विदेश भ्रमणमा नजाने भनेको सन्दर्भमा उहाँ आफैँ किन परिवर्तन हुनुभयो”, पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो, “त्यो प्रश्नले पनि केही अर्थ राख्छ र सङ्केत दिन्छ जस्तो लाग्छ।”
उहाँले रास्वपाभित्रको आन्तरिक परिस्थितिलाई प्रधानमन्त्रीको भारत भ्रमणसँग जोडिएको हुन सक्ने आकलन सुनाउनुभयो।
“अन्तर्विरोध तीव्र रुपमा अघि बढिरहेको र सरकारले जनता, नागरिक समाज र आम रूपमा सकारात्मक प्रभाव दिन नसकिरहेको सन्दर्भमा किन निर्णय फेर्नुभयो भन्ने कुराले केही अर्थ राख्छ कि”, उहाँले भन्नुभयो ।खास गरी देशभित्र एकता रहेको सन्देशबीच हुने विदेश भ्रमणले प्रधानमन्त्रीलाई सहयोग पुर्याउने जानकारहरू बताउँछन्।
नेता श्रेष्ठका भनाइमा भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारलाई राष्ट्रिय एकताले बल दिएको हुनुपर्छ।
त्यसैले भ्रमणअघि सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति र अजेन्डा निर्धारण गरेर विदेश भ्रमण जाने विगतको परम्परालाई पछ्याउँदा राम्रो हुने उहाँको सुझाव छ।
“तर प्रधानमन्त्रीले त्यत्रो विपद्का बेला त उहाँले त्यो पहल गर्नुभएन”, उहाँले भन्नुभयो, “त्यसैले उहाँबाट यस सन्दर्भमा धेरै अपेक्षा गर्ने अवस्था छैन।”
सरकार र रास्वपाले प्रधानमन्त्रीको भारत भ्रमणबारे केही बताएका छैनन्।
पछिल्ला साताहरूमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्टमन्त्री शिशिर खनाल र गृहमन्त्री सुधन गुरुङले विभिन्न सन्दर्भमा भारत भ्रमण गर्नुभएको थियो।
भारत, चीन र अमेरिकाप्रति बालेन सरकारको सम्भावित नीति
रास्वपा सभापति लामिछाने भारतमा तीर्थयात्रा पूरा गरेर फर्किनुभएको छ। यसअघि भारतको सत्ताधारी भाजपाको निम्तोमा भ्रमणमा गएका बेला लामिछानेको भव्य स्वागत गरिएको थियो।
भारतले लामिछानेलाई दिएको महत्त्वलाई ‘अस्वाभाविक’ ठानेका कतिपयले त्यसबाट प्रधानमन्त्री बालेनमाथि साङ्केतिक दबाव पर्ने आकलन गर्दै आएका थिए।
त्यसैले भारत भ्रमणको तयारीलाई यी विभिन्न पक्षसँग जोडेर हेर्ने गरेको पाइन्छ ।







