काठमाडौं, १८ कार्तिक। सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालत र उच्च अदालत पाटनबाट उहाँ सम्बन्धित मुद्दाका प्रमाण मिसिल झिकाउन आदेश दिएको छ।
न्यायाधीशहरू शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भट्टका बुबा चतुर्भुज भट्टले दायर गर्नुभएको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार यस्तो आदेश जारी गरेको हो ।
उक्त रिटमा विशेष अदालत काठमाडौं समेतलाई विपक्षी बनाइएको छ । सुनुवाइका क्रममा निवेदकको तर्फबाट उपस्थित वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बहस गर्नुभएको थियो ।
वरिष्ठ अधिवक्ताको बहस सुनेपछि संयुक्त इजलासले अदालतमा विचाराधीन निवेदनहरू लगाउमा राखी नियमानुसार पेस गर्न भनेको छ ।
विशेष अदालत काठमाडौंमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सुरू प्रमाण मिसिल पेसीका दिन देखाई लैजाने गरी विशेष अदालत काठमाडौंबाट झिकाउन तथा वादी नेपाल सरकार र प्रतिवादी दीपक भट्ट समेत भएको बैंकिङ कसूर मुद्दाको प्रमाण मिसिल पेसीका दिन देखाई लैजाने गरी उच्च अदालत पाटनबाट झिकाउन आदेश जारी गरेको हो ।







