काठमाडौँ, २३ कात्तिक (रासस): नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो । त्यसैले यहाँको हरेक चाडपर्व यहाँको जातीय, धार्मिक तथा सामुदायिक विविधता अनुसारको मनाउने चलन छ किनभने यहाँ भूगोल, समुदाय, भाषा र सामाजिक परिवेशअनुसार चाडपर्व मनाउने धार्मिक सांस्कृतिक विश्वास छ । यतिसम्म कि एउटै पर्व पनि फरक नाम, धार्मिक विश्वास र सांस्कृतिक अभ्याससहित मनाइन्छ । तिहारको भाइटीका र मधेसको भरदुतिया यसको एउटा राम्रो उदाहरण हो । पहाडमा भाइटीकाका रूपमा मनाइने दाजुभाइ तथा दिदीबहिनीबीचको स्नेहपूर्ण पर्व मधेसमा भरदुतिया अर्थात् भ्रातृद्वितीयाका रूपमा मनाइन्छ । यसको विधि र प्रक्रियामा भिन्नता भए पनि दुवै पर्वको मूल भावना पारिवारिक प्रेम, आत्मीयता, सम्मान र सम्बन्धको निरन्तरता हो ।
नेपालको पहाडी क्षेत्रमा तिहारलाई यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाउने परम्परा छ भने तराई–मधेसमा दीपावली, दियाबाती र भरदुतियाका रूपमा मनाइन्छ । यी पर्वका नाम र विधिमा भिन्नता भए पनि धार्मिक आस्था, प्रकृतिप्रतिको सम्मान, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावका दृष्टिले एकअर्कासँग जोडिएका छन् । दीपावलीको पहिलो दिन पहाडमा काग तिहार र मधेसमा धनतेरसको रुपमा मनाइन्छ । पहाडमा कागलाई यमदूतको प्रतीक मानेर पूजा गर्ने र खानेकुरा दिने चलन छ । कागको पूजा गर्दा अशुभ समाचारबाट बच्न सकिने धार्मिक विश्वास प्रचलित छ । मधेसमा भने धनतेरसका दिन धन, समृद्धि र शुभलाभको कामना गर्दै नयाँ भाँडाकुँडा किन्ने चलन छ । आर्थिक अवस्था हुनेहरूले सुनचाँदीका गरगहना तथा अन्य बहुमूल्य वस्तु पनि खरिद गर्छन् । यस दिनलाई नयाँ वस्तु घरमा भित्र्याउने शुभ अवसरका रूपमा पनि लिइन्छ ।
दोस्रो दिन पहाडमा कुकुर तिहार र मधेसमा नरक चतुर्दशी अर्थात् छोटी दीपावली मनाइन्छ । पहाडमा कुकुरलाई मानिसको विश्वासिलो साथी तथा यमराजको दूत मानेर माला र टीका लगाइदिने तथा मीठा परिकार खुवाउने चलन छ भने नरक चतुर्दशी पनि गर्ने गरिन्छ । मधेसमा यस दिन घरआँगन सफा गर्ने, माटोका दियो बाल्ने र नरकासुर वधको धार्मिक प्रसंग स्मरण गर्ने परम्परा छ । साँझ सार्वजनिक स्थानमा गाउँलेहरू भेला भएर सामूहिक रूपमा हुकालोली खेल्ने चलन पनि छ । यसले पर्वलाई धार्मिक अनुष्ठानसँगै सामुदायिक भेटघाट र मनोरञ्जनको अवसर बनाउँछ ।
तेस्रो दिन पहाडमा गाई तिहार र तराई–मधेसमा मुख्य दीपावली मनाइन्छ । पहाडमा बिहान गाईको पूजा र साँझ धनकी देवी लक्ष्मीको आराधना गरिन्छ । घर, आँगन र गोठमा दीप बाल्ने, देउसी–भैलो खेल्ने तथा धनधान्य र सुख समृद्धिको कामना गर्ने परम्परा छ । मधेसमा पनि यही दिन घर, आँगन, पसल र सार्वजनिक स्थलमा माटोका दियो बालेर झिलिमिली बनाइन्छ । रङ्गोली सजाउने, लक्ष्मी–गणेशको पूजा गर्ने, मिठाई बाँड्ने र आतसबाजी गर्ने चलन छ । दीप प्रज्वलनलाई अन्धकारमाथि उज्यालो र अशुभमाथि शुभको विजयका रूपमा लिइन्छ ।
चौथो दिन पहाडमा गोरु तिहार तथा गोवर्धन पूजा गरिन्छ । नेवार समुदायले यसै दिन म्हःपूजा गरी नेपाल संवत्को नयाँ वर्ष मनाउँछन् । गोरुलाई कृषिकर्मको महत्त्वपूर्ण सहयोगीका रूपमा सम्मान गर्दै पूजा गर्ने तथा गोवर्धन पर्वतको प्रतीक बनाएर प्रकृति, पशुधन र कृषिप्रति कृतज्ञता व्यक्त गर्ने चलन छ । म्हःपूजाले व्यक्तिको शरीर, आत्मसम्मान र जीवनको महत्वलाई आत्मपूजामार्फत अभिव्यक्त गर्छ । तराई–मधेसमा यस दिन गाईवस्तुको स्वास्थ्य र कृषिसँग जोडिएका मौलिक लोकपरम्परा पनि प्रचलित छन् । गाईवस्तुलाई नुहाएर विभिन्न रङले सजाउने गरिन्छ । तोरीको तेलमा निम, बकाइनो, कुफलीलगायतका पात र मरिच पिसेर मिसाई घाममा तताएपछि बाँसको चोङ्गा वा काइरबाट गाईवस्तुलाई खुवाउने चलन छ ।
नयाँ धानबाट तयार पारिएको बगिया पनि पहिलोपटक गाईवस्तुलाई खुवाइन्छ । खेतमा प्रयोग गर्ने सामग्री लगायत घरका काठ र फलामका समानहरुलाई पनि सफा गरेर पुजा गरिन्छ । स्थानीय जनविश्वासअनुसार गाईवस्तुलाई खुवाउने त्यो झोलले जाडो मौसममा पशुहरूको स्वास्थ्य रक्षा गर्छ । त्यसपछि गाईवस्तुलाई सार्वजनिक चौरमा लगेर हुराहुरी खेलाउने र कुस्ती प्रतिस्पर्धा गराउने परम्परा छ । यसमा विजयी हुने किसानलाई पुरस्कृत गरिन्छ । हुराहुरीमा प्रयोग भएका घाँस, पराल र बोकराका अंश खेतबारीमा राख्दा बाली राम्रो हुने र उत्पादन बढ्ने लोकविश्वास छ । यसरी मधेसको यो परम्पराले पशुधन, कृषि, सामूहिक मनोरञ्जन र प्रकृतिप्रतिको आस्थालाई जोडेको देखिन्छ ।
पाँचौँ दिन पहाडमा भाइटीका र मधेसमा भरदुतिया मनाइन्छ । पहाडमा दिदीबहिनीले दाजुभाइलाई घरमा निम्त्याएर निधारमा सप्तरङ्गी टीका लगाइदिने, मखमली र सयपत्रीका माला पहि¥याउने तथा मिठाई र परिकार खुवाएर दीर्घायु, सुख र समृद्धिको कामना गर्ने चलन छ । ओखर, विमिरो र तेलको घेराको पनि यस पर्वमा विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व छ । दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर सम्मान प्रकट गर्छन् । मधेसमा भरदुतियाका दिन दिदीबहिनीले दाजुभाइलाई निम्तो दिएर घरमा बोलाउँछन् । आँगनमा माटो वा गोबरले पोतेर चारकुने चौका बनाइन्छ र काठको पिढामा पूर्वतर्फ फर्काएर दाजुभाइलाई बसालिन्छ । त्यसपछि दाजुभाइका दुवै हात दिदीबहिनीले आफ्नो साडीको आँचलमा राख्न लगाउँछन् । पाँचवटा पानका पातमा पाँचवटा सुपारी राखेर पाँचपटक पानीको धार दिने, रातो टीका लगाउने र विभिन्न पूजा सामग्री चढाउँदै दाजुभाइको दीर्घायु तथा सुखसमृद्धिको कामना गर्ने परम्परा छ । स्थान र परिवारअनुसार विधिमा केही भिन्नता पाइए पनि यसको मूल उद्देश्य दाजुभाइ तथा दिदीबहिनीबीचको कुल सम्बन्धलाई प्रगाढ बनाउनु हो ।
भरदुतियाको विशेषता दाजुभाइ र दिदीबहिनीको सम्बन्धमा मात्र सीमित छैन । मधेसको ग्रामीण समाजमा मामा र भान्जा–भान्जीबीचको सम्बन्ध तथा मावली पक्षको आगमनले पनि यस पर्वलाई विशेष बनाउँछ । चामलबाट बनाइने बगिया, मटकुरीमा राखिएको दही, चुरा, मुराही र घरमै तयार पारिएका विभिन्न परिकार त्यसका प्रमुख कोसेली हुन । ती वस्तुको बजार मूल्यभन्दा तिनमा मिसिएको माया, श्रम र आत्मीयताको महत्त्व ठूलो हुन्छ । आज यातायात र बजारको विस्तारसँगै कोसेली ल्याउने शैली फेरिएको छ तर फेरिँदै गएको परम्पराहरु भने मरेको छैन । त्यसले परम्परा फेरिए पनि बोकेको पारिवारिक सम्बन्धको महत्व घट्नु हुँदैन ।
दीपावलीपछि तराई–मधेसमा मनाइने लगत्तै छठ पर्वले पनि यस क्षेत्रको सांस्कृतिक पहिचानलाई विशिष्ट बनाएको छ । सूर्य, प्रकृति र जलाशयसँग जोडिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ । छठले प्रकृति, पर्यावरण, जलस्रोत र सामूहिक सहभागिताप्रतिको सम्मानलाई अभिव्यक्त गर्छ । यसले पारिवारिक आस्था र सामुदायिक सद्भावलाई पनि बलियो बनाउँछ । तर पछिल्लो समय आफ्नै चाडपर्व मनाउन पनि मानिससँग पर्याप्त समय छैन । एउटै घरमा बसेर पनि एकअर्काका लागि समय निकाल्न कठिन हुँदै गएको छ । कतिपय अवस्थामा पर्वको आत्मीयता महँगा उपहार, देखावटी खर्च र सामाजिक प्रतिष्ठाको प्रतिस्पर्धामा सीमित हुन थालेको छ ।
संस्कृति समयअनुसार परिवर्तन हुनु स्वाभाविक हो तर त्यसको मूल मानवीय भावना कमजोर हुनु चिन्ताको विषय हो । भाइटीका र भरदुतियालाई केवल धार्मिक अनुष्ठानका रूपमा बुझ्नु पर्याप्त हुँदैन । यी पर्वले परिवारभित्र समानता, पारस्परिक सम्मान र जिम्मेवारीको भावना पनि विकास गर्नुपर्छ । दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुखको कामना गरेझैँ दाजुभाइले पनि दिदीबहिनीको स्वतन्त्रता, सम्मान, सुरक्षा र अधिकारप्रति जिम्मेवार हुनुपर्छ । निधारमा टीका लगाएर दीर्घायुको कामना गर्नु र व्यवहारमा महिलामाथि हुने हिंसा, विभेद तथा अन्यायविरुद्ध उभिनुबीच सम्बन्ध स्थापित हुनुपर्छ । किनभने पर्वको वास्तविक सार आशीर्वाद र सद्भावलाई दैनिक व्यवहारमा रूपान्तरण गर्नु हो ।
त्यसैगरी पहाडको भाइटीका र मधेसको भरदुतियालाई एकअर्काभन्दा ठूलो वा सानो संस्कृतिका रूपमा बुझ्नु हुँदैन । पहाडको सप्तरङ्गी टीका र मखमली माला होस् वा मधेसको चौका, पान, सुपारी र आँचलमा हात राखेर गरिने पूजा, यी सबै आआफ्नो समुदायले विकास गरेका मौलिक सांस्कृतिक अभिव्यक्ति हुन् । भाषा, विधि, पहिरन र खानपान फरक भए पनि दुवै पर्वको केन्द्रमा प्रेम, विश्वास र आत्मीयता नै छ । नेपालको सांस्कृतिक विविधता राष्ट्रिय एकताको बाधक होइन, यसको आधार हुन् । त्यसैले एकअर्काका पर्व र परम्परालाई बुझ्ने, सम्मान गर्ने र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने संस्कार विकास गर्न आवश्यक छ । सांस्कृतिक संरक्षण भनेको पुरानो विधि जस्ताको तस्तै दोहो¥याउनु मात्र होइन, त्यसले बोकेको मानवीय भावना र सामाजिक मूल्यलाई जीवन्त राख्नु पनि हो ।
त्यसैले पहाडमा भाइटीका होस् वा मधेसमा भरदुतिया, दुवै पर्वको सार सम्बन्धलाई सम्झनु, सम्मान गर्नु र जीवनभर जोगाइराख्नु हो । मामाले आफ्नो भान्जाभान्जीको लागि काँधमा बोकेर ल्याउने कोसेली समयसँगै हराए पनि त्यसमा मिसिएको माया मानवसमाज रहुन्जेल रहनुपर्छ । खेतको आलीमा उभिएर हरेक भान्जाभान्जीले बाटोमा मामा आउने बाटो पर्खेको समाजिक, पारिवारिक तथा नातासम्बन्धको इतिहास मर्नु हुँदैन । हरेक दिदीबहिनी र दाजुभाइबीचको आत्मीय तथा कुल सम्बन्धको इतिहास नयाँ युगसँगै छलाङ हान्नुपर्छ किनभने हाम्रो हरेक समाजिक धार्मिक सांस्कृतिक परम्पराको सम्बन्धको वास्तविक सम्पत्ति धन, उपहार र प्रदर्शन होइन्, एकअर्काप्रतिको माया, विश्वास, त्याग र आत्मीयता हो । यही साझा मानवीय मूल्य नै भाइटीका र भरदुतियाको वास्तविक सांस्कृतिक अर्थ हो, जसले हाम्रो नेपाली समाजलाई जीवित बनाएको छ र, ऐतिहासिक पनि ।