कीर्तिपुर(काठमाडौं), २३ कार्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण अन्तरगत आज हुने १९ औं खेलमा पोखरा एभेञ्जर्सले टस जितेर ब्याटिड. रोजेको छ।
आजको पहिलो खेल पोखरा एभेञ्जर्स र कर्णाली याक्स्बीच हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आजको खेलमा कर्णालीले पहिले बलिड. गर्नेछ ।
सुरुवातको आफ्नो दुई खेलमा लगातार विजयी भएको कर्णाली याक्स त्यसपछिका दुई खेलमा पराजित भएको थियो।लगातारको हारले प्ले अफको लागि दबाबमा परेको कर्णाली आज पोखरालाई पराजित गर्ने ध्याउन्नमा छ ।
पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले हराएको कर्णालीले १ सय ८७ रनको लक्ष्य पछ्याउँदै विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो। त्यसपछि कर्णाली काठमाडौं गोर्खाजसँग ४ विकेट र सुदूरपश्चिम रोयल्ससँग ३९ रनले पराजित भएको थियो।
यता पोखराले हालसम्म खेलेका चारवटै खेलमा हार बेहोरेको छ। पोखराले प्ले अफको झिनो सम्भावनालाई जीवित राख्न आजको खेल जित्नु पर्नेछ ।
पोखरा हालसम्मका चार खेलमा सुदूरपश्चिमसँग ६ विकेट , जनकपुरसँग ९ रन ,लुम्बिनी लायन्ससँग ८ विकेट र चितवनसँग ३० रनले पराजित भएको थियो।
पोखरा र कर्णालीको विगतको भेट
एनपिएलमा पोखरा र कर्णालीबीच यसअघि भएका दुई खेलमा दुवै टोलीले एक–एक जित हासिल गरेका छन्।
पहिलो संस्करणमा कर्णालीले पोखरालाई ७ विकेटले पराजित गरेको थियो।
पोखरा १ सय ३ रनमा अलआउट भएपछि कर्णालीले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। कर्णालीले ३० बल बाँकी छँदै जित निकालेको थियो।
दोस्रो संस्करणमा पोखराले कर्णालीसँग बदला लिँदै ३४ रनको जित हासिल गरेको थियो। पहिले ब्याटिङ गरेको पोखराले २ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो। २ सय २ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभरमा १ सय ६७ रन मात्रै बनाउन सक्यो।
आज साँझ ५ बजे काठमाडौं र चितवनबीच दोस्रो खेल हुनेछ।







