काठमाडौं, ३ मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले आयोजना गर्ने इंग्ल्यान्ड भ्रमणअन्तर्गत नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।
नेपाल र बंगलादेशबीचको खेल दुवै टोलीका लागि विशेष हुनेछ। बंगलादेशको पुरुष टोलीले पहिलोपटक लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअघि बंगलादेशको महिला टोलीले यसै वर्ष दक्षिण अफ्रिकाविरुद्ध आईसीसी महिला टी–२० विश्वकपका क्रममा पहिलोपटक उक्त मैदानमा खेलेको थियो।
बंगलादेशको पुरुष टोलीले सन् २०२७ को मे महिनाको अन्त्यतिर इंग्ल्यान्डसँग टेस्ट खेल्दै १७ वर्षपछि लर्ड्समा पुनरागमन गर्नेछ। त्यसको केही दिनपछि नेपालसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम छ।
नेपालले भने लर्ड्समा दोस्रोपटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। यसअघि सन् २०१८ मा एमसीसीसँगको त्रिकोणात्मक शृंखलाअन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग उक्त मैदानमा प्रतिस्पर्धा गरेको थियो।
सोही दिन त्यहाँ मिडलसेक्स टी–२० ब्लास्टअन्तर्गतको घरेलु प्रतियोगिताको खेलसमेत हुनेछ। यससँगै लर्ड्समा पहिलोपटक एकै दिन पुरुषतर्फको अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल आयोजना हुनेछन्।
एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्नेछ। भ्रमणअन्तर्गतका तीन खेल वर्म्स्लीमा र दुई खेल बेकनहमस्थित काउन्टी मैदानमा आयोजना हुनेछन्।
यी सबै खेल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यताप्राप्त आधिकारिक अन्तर्राष्ट्रिय खेल हुन्। इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले पनि भ्रमणका खेललाई स्वीकृति दिएको छ।






