Prakash Adhikari November 20, 2026
काठमाडौं, ४ मंसिर । निर्वाचन आयोगल फागुन मसान्तभित्रै स्थानीय निर्वाचन गर्ने संकेत दिएको छ ।

आज राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरुसंगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीहरुले यसको छनक दिएका हुन ।

छलफल पश्चात् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने र सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै गर्नुपर्ने संविधानको मर्मअनुसार परामर्श भएको बताउनुभयो ।
स्थानीय तहको पछिल्लो निर्वाचन २०७९ बैशाख ३० गते भएको थियो । आयोगको भनाई  र संविधानको मर्म अनुसार पदावधि समाप्त हुनुभन्दा दुई महिना अगावै निर्वाचन गर्दा फागुन मसान्त भित्र चुनाव गर्नुपर्ने हुन्छ ।
आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ ।
सो विषयमा आन्तरिक छलफलपछि आयोग र सरकारलाई ठोस सुझाव दिने शीर्ष नेताहरूले विश्वास दिलाउनुभएको प्रवक्ता भट्टराईको भनाइ छ ।
प्रवक्ता भट्टराईले योग्य मतदाता कोही पनि मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई आयोगले प्राथमिकतामा राख्नुका साथै आयोगद्वारा गरिएका सुधारात्मक कामबारे नेताहरुलाई जानकारी गराइएको जानकारी दिनुभयो । मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको उल्लेख गर्दै उहाँले नामावलीलाई थप व्यवस्थित र त्रुटिरहित बनाउने काम अघि बढाइएको जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईले देशको कूल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदाता नामावलीमा भने पुरुष मतदाताको सङ्ख्या बढी देखिएको अवस्थाबारे पनि जानकारी गराउनुभयो । मतदाता नामावलीमा देखिएका यस्ता असन्तुलन र सुधार गर्नुपर्ने विषय छलफलमा प्रस्तुत गरिएको उहाँको भनाइ छ ।
Share Now