काठमाडौँ, ४ मङ्सिर: निर्वाचन आयोगले संविधान र कानुनको मर्म बमोजिम स्थानीय तह र प्रदेशसभाको निर्वाचन हुने स्पष्ट गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेताहरूसँग आज यहाँ आयोजित कार्यक्रममा निर्वाचनको सम्भावित मितिबारे छलफल भएको हो ।
छलफल पश्चात् आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले स्थानीय र प्रदेशसभाको निर्वाचन एकै समयमा हुनुपर्ने र सम्बन्धित तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगावै गर्नुपर्ने संविधानको मर्मअनुसार परामर्श भएको बताउनुभयो । सो विषयमा आन्तरिक छलफलपछि आयोग र सरकारलाई ठोस सुझाव दिने शीर्ष नेताहरूले विश्वास दिलाउनुभएको उहाँको भनाइ छ ।
प्रवक्ता भट्टराईले योग्य मतदाता कोही पनि मतदाता नामावलीमा छुट्न नहुने र एउटै मतदाताको नाम दोहोरिन नहुने विषयलाई आयोगले प्राथमिकतामा राख्नुका साथै आयोगद्वारा गरिएका सुधारात्मक कामबारे नेताहरुलाई जानकारी गराइएको जानकारी दिनुभयो । मतदाता नामावलीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरसम्बन्धित गराइएको उल्लेख गर्दै उहाँले नामावलीलाई थप व्यवस्थित र त्रुटिरहित बनाउने काम अघि बढाइएको जानकारी दिनुभयो ।
प्रवक्ता भट्टराईले देशको कूल जनसङ्ख्यामा महिलाको सङ्ख्या बढी रहे पनि मतदाता नामावलीमा भने पुरुष मतदाताको सङ्ख्या बढी देखिएको अवस्थाबारे पनि जानकारी गराउनुभयो । मतदाता नामावलीमा देखिएका यस्ता असन्तुलन र सुधार गर्नुपर्ने विषय छलफलमा प्रस्तुत गरिएको उहाँको भनाइ छ ।