Prakash Adhikari November 4, 2018

पोखरा(कास्की),१८ कार्तिक । क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले नेतृत्व गरेको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिगको फाइनलमा पुगेको छ । आज भएको खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई पराजित गरेर पारसको चितवन राइनोजले फाइनलको बाटो तय गरेको हो ।
अब चितवनले उपाधिका लागि पोखरा पल्टनको सामना गर्नेछ। पोखरा राउण्ड रोबिन लिगबाट अंक तालिकाको शिर्ष स्थानमा रहँदै सोझै फाइनल प्रवेश गरेको थियो।

फाइनलसम्मको यात्रा तय गर्ने क्रममा चितवनले काठमाण्डौले दिएको ९५ रनको लक्ष्य १८.२ ओभरमा ४ विकेट गुमाउंदै पुरा गर्यो। काठमाण्डौलाई ६ विकेटले हराउन चितवनका स्मित पटेलले ३८ रन बनाए ।

स्मितले ४३ बलको सामना गर्दै ३ चौका सहित ३८ रन जोडे। यस्तै आरिफ शेखले अविजित २० रनको योगदान दिए । उनले ३२ बलमा १ चौका प्रहार गरेका थिए ।

यसअघि चितवनका हरि शंकर शाह २६, अनिल कुमार साह १ र पारस खड्का २ रन बनाएर आउट भएका थिए।

काठमाण्डौको बलिङ्गमा सुशान भारीले सर्वाधिक ३ विकेट लिएका थिए । उनले ४ ओभरको स्पेलमा १८ रन खर्चिएर अनिल, पारस र स्मितलाई पभेलियन फर्काएका थिए ।

यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा आइतवार बिहान टस जितेर ब्याटिंगमा उत्रिएको काठमाण्डौले १९.३ ओभरमा ९४ रन जोड्दा सबै विकेट गुमाएको थियो। सन्नी पटेल, भुबन कार्की र स्मित पटेलको सानदार बलिङ्ग अगाडि काठमाण्डौका ब्याट्समेनहरुको सिप चल्न सकेन।

काठमाण्डौको इनिंगलाई तहस नहस पार्ने क्रममा सन्नी पटेलले आफ्नो व्यक्तिगत पहिलो तथा इनिंगको दोस्रो ओभरमा नै तिन विकेट लिए। सन्नीको सो ओभरमा काठमाण्डौले अमित श्रेष्ठ, पवन सर्राफ र गौरभ तोमरलाई गुमाएको थियो।

काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिंग गर्ने प्रयास गरेपनि ३० रन कटाउन असमर्थ रहे । ३५ बलको सामना गरेका मल्लले २ चौकासहित ३० रन बनाए । उनलाई भूबन कार्कीले बोल्ड आउट गरेका थिए ।

ओपनर जयकिशन कोल्सावालाले २५ रन जोडेका हुन तर काठमाडौंका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रतियोगितामा सानदार प्रदर्शन जारि राख्ने क्रममा सन्नी पटेलले ४ ओभरमा मात्र ९ रन जोडेर ३ विकेट लिए। काठमाण्डौका गौरभ तोमर,, पवन सर्राफ र अमित श्रेष्ठलाई सन्नीले मैदानमा टिक्न दिएनन् ,पेभिलियन फर्काए ।

यस्तै स्मित पटेल र भूबन कार्कीको नाममा समेत समान २(२ विकेट रह्यो। भुबनले काठमाण्डौका ज्ञानेन्द्र मल्ल र बसन्त रेग्मीलाई आउट गर्दा स्मितले भने कोल्सावाला र आदिल खानलाई आउट गरे।

सर्वाधिक पुरस्कार राशीको पीपीएलको खेल आजसम्म निकै रोचक र प्रतिस्पर्धात्मक रहदै आएको छ । राष्ट्रिय कप्तान पारसको टीमले पछिल्लो समयमा गरेको चमत्कारिक सुधारले क्रिकेटमा पनि आगे खेल अनाडीका पिछ खेल खेलाडीका भन्ने कथनलाई पुष्टि गरेको छ ।

Share Now

Leave a comment.