अंकारा, ५ मङ्सिर (रासस/एएफपी) : तेल, ग्यास र कोइलाको प्रयोग घटाउने तथा अन्त्य गर्ने विषयमा सदस्य राष्ट्रहरूबीच सहमति जुट्न नसक्दा टर्कीमा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) निर्धारित समयभन्दा लम्बिएको छ ।
करिब २०० देशका प्रतिनिधि सहभागी दुई सातादेखिको वार्ता शुक्रबार सम्पन्न हुनुपर्ने भए पनि ऊर्जा नीति, वैज्ञानिक अनुसन्धान र जलवायु वित्तसम्बन्धी मतभेदका कारण शनिबारसम्म लम्बिएको हो ।
सम्मेलनको अध्यक्षता गरिरहेको अस्ट्रेलियाले सहमति जुटाउन तेस्रो मस्यौदा तयार पार्ने प्रयास गरिरहेको छ । सम्मेलन अध्यक्ष तथा टर्कीका वातावरणमन्त्री मुरात कुरुमले सहमति नजिक पुगे पनि अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताउनुभयो ।
यसअघि सार्वजनिक गरिएको पहिलो मस्यौदामा तेल, ग्यास र कोइलाको प्रयोग छिटो चरणबद्ध रूपमा अन्त्य गर्नुपर्ने प्रस्ताव समावेश थियो । तर, बिहीबार सार्वजनिक दोस्रो मस्यौदाबाट यससम्बन्धी सबै उल्लेख हटाइएपछि विवाद चर्किएको हो ।
युरोपेली सङ्घले संशोधित मस्यौदाले जलवायु सम्मेलनलाई नै तेल तथा ग्यास सम्मेलनमा परिणत गर्ने जोखिम रहेको टिप्पणी गरेको छ। फ्रान्स, पानामा र सोलोमन टापुलगायत करिब एक दर्जन देशले सम्झौतामा यी इन्धनको प्रयोगबाट बाहिरिने स्पष्ट प्रतिबद्धता समावेश गर्न माग गरेका छन् ।
यसैबीच, सन् २०३५ सम्म विश्वको कुल ऊर्जा मागमा विद्युत्को हिस्सा ३५ प्रतिशत पुर्याउने प्रस्ताव अघि सारिएको छ। तर, विद्युत् उत्पादन नवीकरणीय ऊर्जाबाटै हुनुपर्ने स्पष्ट व्यवस्था नहुँदा केही देशले असन्तुष्टि जनाएका छन् ।
जलवायु अनुकूलनका लागि प्रस्ताव गरिएको १२० अर्ब अमेरिकी डलरको लक्ष्य मस्यौदाबाट हटाइएपछि विकासशील राष्ट्रहरू पनि असन्तुष्ट बनेका छन्। घानाकी वातावरणमन्त्री जानेटोर अगेमान–रावलिङ्सले भन्नुभयो, “हामी यहाँ भीख माग्न आएका होइनौँ ।”






