Prakash Adhikari November 21, 2026

कीर्तिपुर(काठमाडौं), ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर फिल्डिड. रोजेको छ । आज पहिले लुम्बिनी लायन्स ब्याटिङमा उत्रिने भएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सका कप्तान दिपेन्द्र सिंह ऐरिले टस जितेर बलिङ रोजेर लुम्बिनीलाई ब्याटिङको आमन्त्रण दिएका हुन् ।

लुम्बिनी र सुदूरपश्चिम दोस्रो पटक फाइनलमा भिड्दै

एनपीएल उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच यो दोस्रो भिडन्त हो ।

गत बर्षको दोस्रो संस्करणको फाइनलमा आमनेसामने भएका यी टोली शनिबार तेस्रो संस्करणको उपाधिका लागि भिडेका हुन् ।

साँझ ५ बजे सुरु भएको फाइनलमा लुम्बिनी लगातार दोस्रो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ। लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम भने यसपटक विगतका दुई फाइनलको नतिजा उल्ट्याउँदै पहिलो उपाधि जित्ने लक्ष्यमा छ।

एनपीएलको इतिहास हेर्दा लुम्बिनी र सुदूरपश्चिमबीचको प्रतिस्पर्धा निकै रोचक देखिन्छ। हालसम्म भएका ५ भेटमध्ये लुम्बिनीले ३ र सुदूरपश्चिमले २ खेल जितेका छन्। यो संस्करणमा मात्रै दुई टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ। अघिल्ला दुवै भेटमा लुम्बिनी विजयी भएको छ।

लिग चरणको उद्घाटन खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो। पहिलो क्वालिफायरमा पनि ६ विकेटको जित निकाल्दै लुम्बिनीले सिधै फाइनलमा स्थान बनाएको थियो। सुदूरपश्चिमले भने दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनल गरेको हो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले फाइनलका लागि आफूहरू तयार रहेको बताएका थिए।

लुम्बिनीका कप्तान रोहित पौडेलले तीन दिनको विश्रामपछि टोली फाइनलका लागि उत्साहित रहेको बताए। टोलीले दुई दिन पूर्ण आराम गरेको र तेस्रो दिन अभ्यास गरेको उनले जानकारी दिए।

हामीले तीन दिनको आराम पाएका थियौँ। दुई दिन पूर्ण आराम गर्‍यौँ भने तेस्रो दिन अभ्यास गरेका छौँ। फाइनलका लागि हामी उत्साहित र तयार छौँ,’ रोहितले भने।

लिग चरणमा शीर्ष स्थान हासिल गरेको लुम्बिनीले पछिल्ला तीन खेलमा लगातार जित निकालेको छ। काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित भएपछि टोलीले लगातार तीन खेल जितेको हो। यही लयलाई फाइनलमा पनि कायम राख्ने लुम्बिनीको लक्ष्य छ।

तर रोहितले अघिल्ला खेलको नतिजा र अंकतालिकाको शीर्ष स्थानले मात्रै उपाधि जित्न नसकिने बताए। उनले सुदूरपश्चिमलाई बलियो प्रतिद्वन्द्वीका रूपमा लिएका छन्।

ञटिम गेममा जितको मोमेन्टमले राम्रो काम गर्छ। हामी लिग चरणमा अंक तालिकाको शीर्ष स्थानमा रहेर प्लेअफ पुगेका हौँ। तर त्यसले मात्रै फाइनल जितिँदैन। सुदूरपश्चिम राम्रो टोली हो,’ उनले भने।

लगातार दोस्रो पटक कप्तानका रूपमा उपाधि जित्ने अवसर भए पनि आफ्नो व्यक्तिगत उपलब्धिभन्दा टोलीको सफलतालाई महत्त्व दिने रोहितले बताए। लुम्बिनीका लागि उपाधि रक्षा महत्त्वपूर्ण रहेको उनको भनाइ छ।

एनपीएलमा लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम यसपटक पहिलो उपाधिको खोजीमा छ। पहिलो संस्करणको फाइनल जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनीविरुद्ध खेल्दा पनि उपविजेतामै सीमित भएको थियो।

कप्तान दीपेन्द्रसिंह ऐरीले लुम्बिनीको बलिङ आक्रमणलाई ध्यानमा राखेर फाइनलको तयारी गरिरहेको बताए। उनले लुम्बिनीको बलिङ बलियो भएकाले त्यसअनुसार रणनीति बनाइरहेको जानकारी दिए।

‘तयारी राम्रो भइरहेको छ। हामी खेल खेलिरहेका छौँ। लुम्बिनीको बलिङ आक्रमण राम्रो छ। त्यसैलाई ध्यानमा राखेर तयारी गरिरहेका छौँ,’ दीपेन्द्रले भने।

विदेशी खेलाडीको आगमन र बिदाइका कारण टोलीको संयोजन तथा ब्याटिङ क्रम मिलाउन केही चुनौती रहेको पनि उनले बताए।

‘विदेशी खेलाडी आउने(जाने प्रक्रिया चलिरहँदा त्यसअनुसार ब्याटिङ अर्डर मिलाउन केही परिवर्तन गरिरहेका छौँ,’ उनले भनेका छन्।

 

Share Now