धरान(सुनसरी), ५ मंसिर । रात्रिकालीन प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत हुने फाइनल खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफ महिलो टोली र नेपाल प्रहरीको नेपाल पुलिस टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
खेल धरान १६ स्थित रंगशालामा हुने छ ।
आजको फाइनल खेलमा एपीएफकी नियमित कप्तान अनिता बस्नेत चोटका कारण फाइनल खेलमा मैदान उत्रने छैनन् । अनिताको अनुपस्थितिमा एपीएफको कप्तानी रेनुका नगरकोटीले सम्हाल्नेछिन् ।
फाइनल खेलमा दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
शुक्रबार रंगशालामा आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै एपीएफका प्रशिक्षक जिवेशकुमार पाण्डे र कार्यवाहक कप्तान रेनुका नगरकोटीले अनिताको अनुपस्थिति टोलीका लागि खड्किए पनि अन्य खेलाडीहरू लयमा रहेकाले उपाधि आफूहरूले नै जित्ने विश्वास व्यक्त गरे ।
पुलिसका प्रशिक्षक भोला सिलवाल र कप्तान अमृता जैसीले पनि धरानको पहिलो संस्करणको ट्रफी उचाल्न आफ्नो टोली पूर्ण रूपमा तयार रहेको बताए ।
फाइनलसम्मको यात्रा प्रतियोगिताको सुरुवातदेखि नै आक्रामक देखिएको एपीएफले क्वाटरफाइनलमा भारतको झारखण्डस्थित अक्वा फुटबल क्लबलाई ७–० ले पराजित गरेको थियो ।
सेमिफाइनलमा नेपाल आर्मी फुटबल क्लबलाई २–० गोलले पराजित गर्दै एपीएफ क्लब प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
धरान उपमहानगरपालिका–१६ स्थित धरान रङ्गशालामा बुधबार राति सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले पहिलो हाफमै दुई गोल गरेको थियो । खेलको नवौँ मिनेटमा एपीएफका अनिता बस्नेतले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् भने क्याप्टेन गीता राणाले पहिलो हाफको ४४औँ मिनेटमा अर्को गोल थपेकी थिइन् ।
खेलमा एपीएफकी गीता राणा ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।
यता नेपाल पुलिस क्लब पनि आयोजक स्वर्णिम फुटबल क्लबलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै रात्रिकालीन प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।
बिहीबार राति धरान–१६ स्थित धरान रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनल खेलको सातौँ मिनेटमा मीना देउवाले पहिलो गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । त्यसपछि ३१औँ मिनेटमा रेखा पौडेलले गोल गरिन् भने ३५औँ मिनेटमा मीनाले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा पुलिसले ३–० को अग्रता बनाएको थियो ।
दोस्रो हाफको नवौँ मिनेटमा रेखा पौडेलले व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसको १७औँ मिनेटमा विर्षणा चौधरीले गोल गरिन् भने खेलको ३३औँ मिनेटमा अनुष्का शेर्पाले थप एक गोल गरेपछि पुलिसले ६–० को जित सुनिश्चित गरेको हो ।
सो खेलमा ‘प्लेयर अफ दी म्याच’ मीना देउवा घोषित भइन् । उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको थियो ।
नेपाल पुलिस क्लब काँकरभिट्टा महिला फुटबल क्लबलाई ८–० गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको थियो ।
उक्त खेलमा रेखा पौडेलले ६ गोल तथा सम्झना लावती र मीना देउवाले समान १ – १ गोल गरेका थिए ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालका सात र भारतको एक गरी कुल आठ टोलीको सहभागिता रहेको थियो ।
महिला फुटबलको विकास तथा धरानलाई खेलकुदको नयाँ गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताको विजेताले ट्रफीसहित ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई एक थान ईभी स्कुटर प्रदान गरिनेछ । यस्तै, विधागततर्फ उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।