Prakash Adhikari November 25, 2018

काठमाडौं, ९ मंसिर । संघीय संसदको प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिले नेपालको सार्वजनिक खरिदको इतिहाममा सबैभन्दा ठूलो घोटाला भएको एअरबसका ३३० सेरिजका दुईवटा वाईड बडीका जहाज खरिदका सम्बन्धमा छानवीन गर्ने मनशायले प्रारम्भिक जानकारी लिन संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा, नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेल र महाप्रबन्धक सुगतरत्न कंशाकारलाई समितिको बैठकमा बोलाएको छ ।

सोझो हिसाबले ६ अर्ब ५९ करोड घोटाला भएको देखिएको यो प्रकरणमा दर्जनौ प्रश्नहरु उपस्थित भएका छन। के तिनमा समितिका सदस्यहरुको ध्यान जाला ?

१) आर्थिक वर्ष २०७३/ ७४ को बजेट वक्तव्यमा निगमका लागि २ वटा वाईड बडीका जहाज खरिद गर्ने भन्ने प्रावधान पारिएको थियो । तर निगमको व्यवस्थापनले एअरवसका जहाज मात्र लिन मिल्ने गरि आरएफपी बनायो किन होला ?

२) नयाँ जहाज उत्पादक कम्पनीसंग तर प्रतिस्पर्धा गरेर मात्र लिन पर्ने व्यवस्था निगमको आर्थिक नियमावलीको दफा २३६(१)का उपदफाहरुमा स्पष्ट किटानीकासाथ व्यवव्स्था गरिएको छ, तर नयाँ जहाज खरिद गर्न पुरानो जहाज खरिद गर्ने दफा २३६(२)को प्रक्रिया किन अबलम्बन गरिएको होला ?

३) निगमको लागि जहाज खरिदका लागि नेपाल सरकार जमानी बसेर कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोष १२ /१२ अर्ब कर्जा दिन तयार भैसकेपछि त्यतिमूल्यमा नयाँ जहाज ल्याउन पुराना जहाज ल्याउने प्रक्रिया किन अबलम्बन गरिएको होला ?

४) निगमको व्यवस्थापनले बनाएको बिजनेस प्लान नयाँ जहाज किनेर चलाउने ढंगले तयार पारिएको हो वा पुरानो जहाज ल्याएर चलाउने ढंगले तयार भएको हो ?

५) जहाज खरिदको लागि तयार पारिएको आरएफपीमा एअरबस ३३०-२०० उल्लेख गरेर अरु भेरियन्ट आउन रोकियो तर खरिद गर्दा टेण्डरमा उल्लेख गरिएको भन्दा फरक जहाज ३३० -२४३ किन खरिद गरियो ?निगमले जहाज खरिद गरेको भनेको छ तर एअरबसले आजपर्यन्त निगमले पोर्चुगलको हाईफ्लाईबाट लिजमा लिने भनेको छ । यथार्थ के हो ?

Nepal Airlines’ first A330

Press Release 28 June 2018

Nepal Airlines’ first A330

Nepal Airlines has taken delivery of its first widebody jetliner, an Airbus A330, one of two it will lease from Portuguese lessor Hi Fly

६) नयाँ जहाज खरिद गर्दा खरिद कर्तालाई निर्माता एअरबसले विभिन्न छुटहरु जस्तै एअरफ्रेम क्रेडिट मेमो, न्यू कस्टोमर क्रेडिट मेमो,फ्लिट सपोर्ट क्रेडिट मेमो, एअरबस गुड्ज एण्ड सर्भिसेस् क्रेडिट मेमो,टेनिड. एण्ड कन्सल्टेन्सी क्रेडिट मेमो, प्रमोशनल क्रेडिट मेमो, इस्टिमेटेड इन्जिन कन्सेसन(६० प्रतिशत) दिने गरेको छ, । यो खरिदमा त्यस्तो छुट कति आयो र कसले खायो ?पहिलेको खरिद प्रक्रियामा एअरबसले उसको प्रस्तावित मूल्यमा ४९ प्रतिशत छुट दिएको छ । यो छुट कहाँ गयो ।

७) टेण्डर प्रस्ताव पेश गर्ने अमेरिकाको एएआर इन्टरनेशनल इन्कसंग जहाज नै थिएन । आफ्नो स्वामित्वमा नभएको जहाज दिने कपोलकल्पित प्रस्ताव पेश गर्ने कम्पनीको प्रस्ताव कसरी मूल्यांकन भयो ?

८) एएआर कम्पनीले टेण्डर प्रस्तावमा ३३०-२००सेरिजका २४२ अधिकतम उडान भार भएका जहाज प्रति जहाज १०४ मिलियन तर २०१६ को आधारमूल्यमा दिन्छु भनेर उल्लेख गरेको छ र मूल्यांकन समितिले २०१६ को आधारमूल्य ८८,०९९,३१७ डलर उल्लेख गरेको छ र त्यसमा २.७ प्रतिशतको बार्षिक मूल्य बृद्धि राख्दा पनि ९३.०५ मिलियन डलर पर्न जान्छ तर निगमले प्रति जहाज १०८. २ मिनिलयनमा किनेको छ । प्रस्तावमा उल्लेख गरेभन्दा बढी मूल्य किन तिरियो रबढी रकम झण्डै ३० मिलियन कहाँ गयो ?

९) प्रस्तावकले २४२ मेटिक टन अधिकतम उडान भार भएको जहाज दिन्छु भनेको थियो एअरबसले २३० मेटिक टनका जहाज पूरा यात्रु र कार्गाे सहित अष्टेलिया जान सक्दैनन भन्दाभन्दै २३० मेटिक टनका जहाज किन ल्याउने व्यवस्था गरियो । घटेको तौलमा आउने प्रतिमेटिक टन ३ लाख ५० हजार डलरका दरले ८४लाख डलर झण्डै ९१ करोड रुपैया कहाँ गयो ?

१०) टेण्डर एएआर इन्टरनेशनल इन्कले प्रस्ताव गरेको थियो । पछि समझदारी पत्र एएआर इन्टरनेशल इन्क, जर्मन एभिएसन क्यापिटल र हाईफ्लाई एरोज पोर्चुगलको कन्सोर्टियमसंग गरियो ? यस्तो गर्न पाइन्छ ??

 

११) समझदारीपत्रमा २६ जनवरी २०१७ मा हस्ताक्षर भैसकेपछि फेब्रुअरी २१ मा आयरल्याण्डमा हाईफ्लाई एक्स नामक कम्पनी स्थापना गरेर ७ अप्रिल ऊसंग क्रयबिक्रय संझौता गरिएको छ । एउटा खरिप्रक्रियामा दुईवटा विक्रेता कसरी हुन गए ? किन हाईफ्लाई एक्स कम्पनी स्थापना गर्न अनुमति दिइयो ?

१२) समझदारी पत्रमा एस्क्रो एजेन्ट नियुक्त गर्ने प्रावधान छैन तर हाईफ्लाई एक्स थपिएपछि जर्मनको म्युनिखमा रहको नर्टन रोज फुलब्राईट भन्ने कम्पनीलाई एस्क्रो एजेन्ट नियुक्त गरी आर्थिक कारोबार उसंग गर्ने तारतम्य मिलाइयो । किन?

१३) सेकेण्ड ह्याण्ड(अर्को कम्पनीले उत्पादकसंग किनेर बेच्ने जहाज) ल्याउने भएपछि आफैले अर्डर गर्दा अपनाउने प्रक्रिया जसरी प्रतिबद्धता शुल्क र अग्रिम किस्ता किन पठाइयो ? सबै रकम एकसाथ भुक्तानी गरेर लिन सकिन्थेन ?

१४)जहाजको खरिदका लागि पठाईएको २४ अर्ब रुपैयाको भुक्तानी रसिद आएको छैन भनिन्छ ? सो रकम ककसलाई बुझाइयो ? नर्टन रोजले एअरबसलाई बुझाएको रकमको निस्सा र विवरण निगमसंग छ ?

१५) निगमसंग जहाजको सक्कली स्वामित्वपूर्जा (बिलअफ सेल) छैन भनिन्छ  ।  किन आउन सकेन ?

१५) निगमलाई एअरबसले दिएको भनेको म्यानुफयाक्चरिड. सिरियल नम्बर(एमएसएन)फेरिएको पाइयो ? निगमले पहिले उल्लेख भएका जहाज लिन किन अग्रसरता देखाएन ?

१६) निगमका जहाज त्रिभुवन अन्तराष्टिय विमानस्थलमा उत्रिएपछि पनि लामो समय ग्राउण्डेड भैरहेका छन् । निगम व्यवस्थापन किन गन्तव्य खोज्न सकिरहेको छैन ?अष्टेलिया उडाउने भनेर बिजनेस प्लान र आरएफपीमा लेख्ने तर अष्टेलिया उड्नै नसक्ने जहाज किन किनेको ?

१७) यूरोपियन युनियनले नेपाल र नेपालको नागरिक उड्डयन प्राधिकरणलाई हैन, नेपालमा रजिष्टर भएका विमान कम्पनीहरुलाई कालोसूचिमा राखेको हो । कालोसूचिबाट बाहिर निस्कन निगमको व्यवस्थापनले के पहल गर्यो ? गरिरहेको छ ?

१८) निगमको दैनिक घाटा एक करोडभन्दा बढी भएको र ग्राउण्ड हेण्डलिड.को आम्दानी नजोड्ने हो भने दैनिक दुईकरोड भन्दाबढी घाटा हुने बताइन्छ ? जहाज सञ्चालन गरेर नाफा कमाउन निगमले के कस्तो कार्ययोजना बनाएको छ ? निगम आफै सक्षम छ कि छैन ?

 

१९) निगमका जहाजहरुको मर्मतसंभारमा पनि समस्या देखिएको छ ? कस्तो व्यवस्था छ ? कसरी गरिदैछ ?

२०) निगमको दैनिक सञ्चालनका लागि पनि सरकारसंग २० अर्ब रुपैया चालु पूँजी माग गरिएको छ ? यो रकम दुरुपयोग हुँदैन र यति राखेपछि निगम स्वस्थ,सक्षम,प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित हुनेछ भन्ने ग्यारेन्टी के छ ?

२१) निगमले अघिल्लो खरिदमा बनाएको विजनेस प्लानको पुनरावलोकन गर्दा कापाले निगम जस्तो सानो संस्थाको लागि थोरै संख्यामा वाईड बडी चलाउनु व्यवसायिक हिसाबले उपयुक्त नहुने राय दिएको थियो । त्यतिबेला लेखासमितिको छलफलमा तात्कालिन महाप्रबन्धक कूलबहादुर लिम्बू र इन्जिनियरिड. विभागका निर्देशक अच्यूत पहाडीले निगमको लागि वाईड बडी गरिबबाहुनलाई सेतो हात्ती दान दिएजस्तो हुने धारणा राख्नुभएको थियो ।यसपटकको खरिदमा यी विषयमा पर्याप्त ध्यान दिइयो त ?

Share Now

Leave a comment.