Prakash Adhikari November 25, 2018

काठमाडौं, ८ मंसिर । माओवादी पार्टीलाई पुनर्गठन गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिवार राजधानीको मुटुमा रहेको प्रदर्शनीमार्गको खुला सडकमा आमसभा गरेर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको उछित्तो काढेको छ । नेपाल प्रहरीको पुलिस क्लबको आँगनबाट पुलिसहरुको घेरामा बस्दै सरकारमा रहेको कम्युनिष्ट पार्टी र तिनका नेताहरुलाई दिइएको चुनौतिलाई सांकेतिक अर्थमा पनि लिइएको छ ।

नेत्रविक्रम चन्द (विप्लव)को नेपाल कम्युनिष्ट पार्टीले पार्टी पुनर्गठनको पाँचौ बार्षिकोत्सवका अवसरमा गरेको आमसभाका अधिकांश वक्ताहरुले सत्तामा रहेको नेकपा पूँजीवादी,सामन्त,दलाल र नोकरशाहीहरुको पार्टीमा रुपान्तरित भएको आरोप लगाउदै यो सत्ताबाट देश र जनताको समृद्धि संभव नभएको बताए ।

२०७१ मंसिर ८ गते मोहन बैद्य(किरण) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी)बाट अलग भएर पार्टी पुनस्र्थापना गरेको विप्लव समूहका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीविरुद्ध अघोषित प्रतिवन्ध लगाएर निर्ममतापूर्वक दमनमा उत्रिएको ओली सरकारलाई जनताको कठघरामा उभ्याउने चुनौति दिए ।

उनले वर्तमान सरकारले राष्टियताको सम्बर्धन पनि गर्न नसक्ने र जनताको जनजीविकाको सरल ढंगले संबोधन पनि गर्न नसक्ने ठोकुवा गरे ।उनले मुलकमा चरम संकट उत्पन्न भएको र यसलाई समाधान गर्न दलाल र नोकरशाही पार्टीको रुपमा रुपान्तरित भएको प्रचण्ड र ओलीको पार्टीबाट संभव नभएको पनि बताए ।

जनसभामा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म पनि भ्रष्टाचार र दूराचारको दलदलमा फसेको सरकारले दोषी पहिल्याएर कारबाही गर्न नसकेकोले बताउदै निर्मलाको हत्यारालाई आफ्नो पार्टीले कारबाही गर्ने दावी गरे ।

उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत बताए।

 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका संयोजक किराँतीले प्रचण्डले माओवादी आन्दोलनको विचार र इतिहासलाई तिलाञ्जली दिएको आरोप लगाए ।

अर्का वक्ता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले ७० बर्षको नेपालको कम्युनिष्ट आन्दोलन नेतृत्वमा रहेका व्यक्तिहरुको लोभ र स्वार्थकाकारण पचासौँ पटक टुटफूट हुनपुगेको बताए । उनले प्रचण्ड र ओलीको पार्टी भ्रष्ट,दलाल र विदेशी एनजीओहरुको आदेश अनुसार चल्ने समूहमा रुपान्तरित भएको गम्भीर आरोप लगाए ।

‘उनले क्रान्तिकारी कम्युनिष्टहरु एक हुनुपर्ने आवश्यकता औल्याउदै कम्युनिष्ट आन्दोलनमा नेतृत्वले गद्दारी गरे पनि जनताले सच्चा क्रान्तिकारीहरुलाई साथ दिने विश्वास व्यक्त गरे ।


उनले दुई तिहाईको दुहाईदिने वतमान ओली सरकार ९ महिनामै नांगिएको भन्दै संशोधनवादी कम्युनिष्टबाट मुलुकको रुपान्तरण संभव नभएको बताए ।

 

 

वैकल्पिक राज्यप्रणालीको खोजी

पार्टी पुनर्गठनको पाँचौ बार्षिकोत्सवको उपलक्ष्यमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव(ले एक विज्ञप्ति प्रकाशित गरि वर्तमान सरकार र सत्ताबाट जनता आजित भएको बताएका छन्।

पार्टी पुनर्गठन भएको पाँचौं वर्ष लागेको अवसरमा शनिबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रियता, जनतन्त्र र जनजिविका इतिहास कै गम्भीर घुम्तीमा पुगेको उल्लेख गरेका छन्।


‘चुनावपछि सरकार बनेको यो दश महिनासम्म पुग्दा हामीले गरेका तथ्यपरक निष्कर्षहरू हुबहु सिद्ध भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘वाम भनेर जनतामा भ्रम छरिराखेको यो सरकार र सत्ताबाट जनता आजित, हैरान हुन पुगिराखेका छन्।’

विप्लवले विज्ञप्तिमा महिला हिंसा, हत्या, बलात्कारका कारण देश असुरक्षित बन्दै गएको उल्लेख गरेका छन्। उनले जनता र राष्ट्रले वैकल्पिक राज्यप्रणालीको माग गरिराखेको दाबी गरेका छन्।

Share Now

Leave a comment.