
वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका),२५पुस(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “बढ्दो मानवीय तथा आप्रवासी संकट” समाधान गर्न मेक्सिकोसँगको सिमानामा स्टिलको पर्खाल बनाउन आवश्यक लगानीको माग गरेका छन्।
आफ्नो कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिइएको टेलिभिजन सन्देशमा ट्रम्पले कंग्रेसको सहमतिविनै सिमानामा पर्खाल बनाउने आफ्नो योजना जबर्जस्ती अघि बढाउन संकटकालको घोषणा भने गरेनन्।
टेलिभिजनमार्फत् नै असन्तुष्टि जनाउँदै विपक्षी डिमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी जनताहरूलाई बन्धक बनाएको भन्दै ट्रम्पको कडा आलोचना गरेका छन्।
होडबाजी
पर्खालका लागि बजेट विवादकै कारण १८ दिन देखि जारी सरकारी खर्चबन्दीका बीच सत्तापक्ष र विपक्ष दुवैले आफूलाई अब्बल प्रमाणित गर्ने प्रयास जारी राखेका छन्।
अमेरिकास्थित बीबीसी सम्वाददाताका अनुसार सरकारी खर्चबन्दीको जारी अवस्थाका लागि विपक्षीहरूले राष्ट्रपति ट्रम्प दोषी भएको बताइरहेका छन्।
उनको सम्बोधनले शुक्रवारको बजेट निकासामा समेत प्रभाव पार्ने ठानिएको छ।