
ढाका(बंगलादेश), २५ पुस । नेपाली क्रिकेट स्टार सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग अन्तर्गत आज टीमका लागि दोस्रो खेल खेल्दैछन् ।
डेभिड वार्नरको कप्तानीमा रहेको सन्दीपको सिलहेट सिक्सर्सले लिग अन्तर्गतको दोस्रो खेलमा चिट्टागोंग भाइकिंग्सको सामना गर्नेछ। मुश्फिकुर रहिमको कप्तानीमा रहेको चिट्टागोंगमा मोहम्मद शेहजाद, सिकन्दर राजा, केम्रुन डेलपोर्ट जस्ता स्टार खेलाडी रहेका छन्।
खेल बंगलादेश स्थित ढाकाको शेरे बांग्ला राष्ट्रिय रंगशालामा दिउँसो १२ः १५ बजे सुरु हुने छ।
उनको टीम सिल्हेट सिक्सर्स आइतवार सम्पन्न पहिलो खेलमा सिक्सर्स कोमिल्ला भिक्टोरियन्ससंग पराजित भएको थियो।
बंगलादेश क्रिकेट बोर्डको आयोजनामा सुरु भएको प्रतियोगितामा खुल्ना टाईटन्स, रंगपुर राईडर्स, राजशाही किंग्स, ढाका डाईनामाइट्स, सिलहेट सिक्सर्स, कोमिल्ला भिक्टोरियन्स र चिट्टागोंग भिकिङ्ग्स गरी ७ वटा टिम सहभागी छन्। लिग फेब्रुअरी ८ तारिकसम्म चल्नेछ।
बंगलादेश प्रिमियर लिग अन्तर्गत पहिलो खेलमा सन्दीपको प्रदर्शन उत्कृष्ट रह्यो बिग ब्यास लिग खेलेर बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दिपलाई सिलहेट सिक्सर्सले पहिलो खेलमा डेब्यु गराएको थियो। चर्चित दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिर हुँदाहुँदै सन्दिपलाई दिएको मौका उनले सदुपयोगमात्र गरेनन्,टीमका लागि सम्मानपूर्ण प्रदर्शन पनि गरे।
खेलमा ४ ओभर बलिङ्ग गरेका सन्दिपले ४ ओभरमा दुई चर्चित खेलाडीको विकेट झारे । ४ ओभरमा जम्मा १६ रन जोड्ने मौका दिएका उनले चर्चित पाकिस्तानी ब्याट्सम्यान शोयब मलिक र बंगलादेशी रास्ट्रिय क्रिकेटर अनामुल हकलाई मैदानबाट बाहिर पठाएका थिए।
सिलहेट सिक्सर्स टिम
नासिर होसेन, सब्बिर रहमान, लिटन दास, अफिफ होसेन, तस्किन एहमद, अल अमिन होसेन, तोहिड रिदोय, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि अनिक, मेहदी हसन। बिदेशी खेलाडीहरु – डेभिड वार्नर ( कप्तान ) , सन्दिप लामिछाने, सोहेल तन्बिर, मोहम्मद इरफान, गुल्बदीन नैब, आन्द्रे फ्लेचर, निकोलस पुरन, इमरान ताहिर र मोहम्मद नवाज