Prakash Adhikari January 27, 2019

 

ओटवा(क्यानडा),१३ माघ(बीबीसी) । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनका निम्ति उनका देशका राजदूतलाई बर्खास्त गरिदिएका छन्।

पक्राउ परेकी ह्वावेइकी वरिष्ठ अधिकृतको अमेरिका सुपुर्दगीसम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएलगत्तै ती राजदूतले जागिर गुमाएका हुन्।

के हो विवाद?

चीनका निम्ति क्यानडाका राजदूत जन म्याककुलमले चिनियाँ विशाल टेलिकम ह्वावेइका वरिष्ठ अधिकारीको सुपुर्दगीबारे विवादास्पद टिप्पणी गरेका थिए।

प्रधानमन्त्री ट्रुडोले उनले म्याककुलमलाई पदबाट हट्न भनेको बताए।

तर कारण भने खुलाएनन्।

अमेरिकाको अनुरोधमा मङ्ग वान्जूलाई पक्राउ गरेयता चीनको क्यानडासँगको सम्बन्ध बिग्रिएको छ।

उनीमाथि अमेरिकाले इरानसँग सम्बन्धी आर्थिक प्रतिबन्धका प्रावधान उल्लंघन गरेको आरोप लगाएको छ।

तर ती आरोप उनले र ह्वावेइले अस्वीकार गरेका छन्।

म्याककुलमले मङ्गलवार सार्वजनिक रूपमै अमेरिकाले गरिरहेको सुपुर्दगीको अनुरोधमा गम्भीर त्रुटी रहेको टिप्पणी गरेपछि पछिल्लो विवाद उत्पन्न भएको थियो।

क्यानडा
अर्को दिन उनले विज्ञप्ति जारी गर्दै आफूले गलत बोलेको भन्दै दु:ख व्यक्त गरेका थिए।

तर फेरि शुक्रवार उनले अमेरिकाले उक्त अनुरोध त्यागे क्यानडालाई आनन्द हुने बताएका थिए।

तिक्तता
चीन र क्यानडाबीचको सम्बन्ध बिग्रँदै गर्दा चीनले यसै महिना एक क्यानडेली पुरुषलाई मृत्युदण्ड सुनाएको छ।

त्यहाँ अदालतले उनलाई यसअघि सुनाइएको १५ वर्षको कैद सजाय अपुग भन्दै त्यसो गरेको हो।

अन्य दुई क्यानडेलीलाई पनि पक्राउ गरिएको छ।

चीनबारे जानकारहरू भन्छन् यी पक्राउ मङ्गको पक्राउको बदलास्वरूप गरिएका हुन्।

तर बेइजिङ्गले त्यसलाई अस्वीकार गरेको छ।

यसबीच मङ्गको सुपुर्दगीसम्बन्धी अमेरिकाले औपचारिक निवेदन गर्न लागेको ठानिएको छ।

चिनियाँ अधिकारीहरूले अमेरिकालाई त्यसो नगर्न भनिरहेका छन्।

गत महिना एक क्यानडेली अदालतले मङ्गलाई जमानतमा रिहा गरिदिएको थियो।

Share Now

Leave a comment.