धनगढी(कैलाली), १ फागुन । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत बुधबार भएको तेस्रो दिनको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको छ ।
घनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १सय ३४ रनको योगफल जुटाउदै महेन्द्रनगरसामु १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
जवाफमा उत्रेको महेन्द्रनगरेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २७ रन जोड्यो।
राम्रो सुरुआत गर्न नसकेको महेन्द्रनगरले ७ रन बनाउदा दुई विकेट गुमायो । उसले ५० रन पूरा गर्दा ४ विकेट गुमायो । ओपनर मोहम्मद नाभिदले खाता खोल्न सकेनन् भने दिलिपनाथ एक रनमा आउट भए ।
त्यसपछि आरिफ शेख १८ रनमा पेभेलियन फर्किए सुब्रमनियम आनन्द १५ रनमा बाहिरीए । त्यसपछि कप्तान शरद भेषवाकरपनि २३ रनमा आउटभएपछि महेन्द्रनगरले ६२ रनमा पाँचौ विकेट गुमायो ।
एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरले ८७ रन बनाउदा सात विकेट गुमाउन पुग्यो । रोहित पौडेल १० रन, कुशल मल्ल ६ रनमा पेभेलियन फर्किए । त्यसपछि सिद्धान्त लोहनी र अमरसिंह रौटेलाले ४७ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्याएका थिए । अन्तिम ओभरमा जितका लागि महेन्द्रनगरलाई १२ रनको आवश्यकता थियो । टीमले जुटाउन सकेन ।
यस अगाडि टस हारेर ब्याटिड गरेको काठमाडौंले मात्र ७ रनको योगफलमा अनिल शाह र गौरव तमोर दुबै ओपनरलाई काठमाडौंले गुमाएको थियो । अनिल शाह ६ रन र गौरव तोमर १ रनमा आउट भएका थिए।
त्यसपछि कप्तान ज्ञानेन्द्र मल्लले अंकित दबाससँग मिलेर तेसो विकेटको लागि २९ रनको साझेदारी गर्दै स्कोर उकास्ने प्रयास गरे। मल्ल तेस्रो विकेटको रुपमा १४ रन बनाएर आउट भए।
त्यसपछि महबूब आलमले पनि चौथो विकेटको रुपमा आउट हुनुभन्दा अगाडी १३ रन बटुल्दै दबाससँग १९ रनको साझेदारी गरे। त्यसपछि आएका सोनु तामांग पनि टिक्न सकेनन् । १ रनमा आउट भए।
छैठौं विकेटको लागि योगेन्द्र कार्कीसँग मिलेर दबासले अन्तिम ७ ओभरमा ७६ रनको आक्रामक साझेदारी गरेपछि भने गोल्डन ठूलो स्कोरतर्फ बढ्ने मेसो पायो ।
अंकित ६५ रनमा अविजित रहे। उनले मात्र ५५ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका छन्। योगेन्द्र कार्कीले १४ बलमा १ चौका र १ छक्काको मद्दतमा २२ रन जोडे ।


















