काठमाडौं,१ फागुन । नेपाल वायुसेवा निगमका पूर्व महाप्रबन्धक तथा वरिष्ठ क्याप्टेन कुलबहादुर लिम्बू नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल वायुसेवा निगममा पुन प्रवेश गर्नुभएको छ ।
नेपाल वायुसेवा निगमबाटै आफ्नो व्यवसायिक उडान सुरु गरी संस्थाको महाप्रबन्धक बनेर अवकाश लिनुभएका वरिष्ठ क्याप्टेन लिम्बूले सो समाचारका पुष्टि गर्नुभएको छ ।
जहाज भएर पनि पाइलटको अभावमा कुनै दिन १४ वटा जहाजमा १०/१० वटा जहाज ग्राउण्डेड भएको समाचार सुनेपछि आफ्नो ज्ञान गुन र खुनले बचाएको संस्थालाई जोगाउन यो निर्णय लिएको उहाँले बताउनुभयो ।
निगमले उहाँलाई वरिष्ठ पाइलटको रुपमा दुई बर्षको करारमा लिएको छ । मासिक तलब भत्ता उहाँले खुलाउन चाहनुभएन । ‘सम्मानजनक नै छ ‘ भनेर उहाँले टार्नुभयो । तर विदेशी पाइलट र स्वदेशी पाइलटलाई समान प्रकृतिको कामको लागि दिइने पारिश्रमिक र भत्ता भने तुलना नै गर्न नसकिने ढंगको फरक छ ।
निगमले हालै खरिद गरिएका एअरबस ३३० सेरिजका वाईड बडी चलाउने र चीनबाट किनिएका वाई १२ जहाज चलाउने विकल्प उहाँलाई दिएको थियो । ‘मैले आन्तरिक उडान मजबूत बनाउनु पर्छ भन्ने मान्यता राखेर वाई १२ चलाउने निर्णय लिए’, क्याप्टेन लिम्बूले भन्नुभयो ।
नेपाल वायुसेवा निगममा निरन्तर ३२ बर्ष सेवा गर्दा निगमसंग रहेका साना ट्विनओटरदेखि बोईड. ७५७ जेट जहाज कुशलतापूर्वक चलाउनु भएका क्याप्टेन लिम्बूको यो निर्णय आफैमा किन सराहनीय देखिन्छ भने निगममा अझै पनि कनिष्ठदेखि वरिष्ठ पाइलटहरु हालै निगमको बेडामा थपिएका ३३० सेरिजका वाइडबडीका जहाज चलाउन मरिहत्ते गरिरहेका छन्, तर स्वदेश र विदेशमा जेट विमान चलाएको करिब ४ दशकको उडान अनुभव सम्हाल्नुभएको वरिष्ठ क्याप्टेन लिम्बूले चीनसंग लिइएका वाई १२ जहाजलाई सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘हैन नेपालका स्टल एअरपोर्टमा विदेशी पाइलटले राम्रोसंग चलाउनै सक्दैनन्’, सौर्य एअरमा पनि अढाई बर्ष चीफ पाइलट भएर रात्रीकालीन सेवा पनि सञ्चालन गर्नुभएका वरिष्ठ क्याप्टेन लिम्बूले भन्नुभयो, ‘सौर्यमा ल्याइएका एक अमेरिकी पाइलटले विराटनगर विमानस्थलमा नै टायर पड्काए भने जर्मन पाईलट त कुनै जहाज नै नचलाईकन फिर्ता भए ।’ ‘निगमका आन्तरिक सेवा रहेका विमानहरुलाई सुरक्षित तवरले सञ्चालन गरेर निगमलाई युरोपेली युनियनको कालोसूचिबाट निकाल्न सहयोग पुगोस भनेर पनि मैले यो निर्णय लिएको हुँ’, उहाँले भन्नुभयो ।
नेपाल वायुसेवा निगममा करिब एक दशकको उच्च व्यवस्थापकीय अनुभव हासिल गर्नुभएका क्याप्टेन लिम्बूले निगमबाट अवकाश लिएपछि बेलायतको यूके इन्टरनेशनल एअरमा एक बर्ष मुख्य पाइलटको रुपमा उडान गर्नुभएको थियो । त्यहाँको सिभिल एशियसनले लिने परीक्षा पास गरेर सेवा थाल्नुभएका लिम्बू त्यसपछि भारतको जूम एअरमा वरिष्ठ पाइलटको रुपमा कार्यरत रहनुभयो ।
पाइलटहरुको अभाव झेलिरहेको निगममा पूर्वमहाप्रवन्ध तथा वरिष्ठ पाइलट क्याप्टेन लिम्बुको प्रवेशले निगमका जहाजहरुको अधिकतम् उडान हुने संभावना बढ्न गएको छ । व्यवस्थापकीय कौशलको समेत अनुभव भएका पाइलटलाई सेवामा लिएर निगमको समुन्नतिमा लगाउने सफलता नयाँ कार्यकारी अध्यक्ष मदन खरेललाई मिलेको छ ।
यसभन्दा पहिले निगमका कार्यकारी प्रमुखहरुको ध्यान जहाज किन्ने,बेच्ने र भाडामा लगाउनेमा केन्द्रित हुँदै आएकोमा निगमका कार्यकारी अध्यक्ष खरेलले त्यो खराब प्रबृत्तिमा ब्रेक लगाएर निगमबाट अवकाश लिएका तर निगमलाई माया गर्ने र आफ्नो सीपले सघाउन पनि सक्ने अनुभवी पाइलटहरुलाई भित्र्याएर जहाजहरुको अधिकतम् उपयोग गरी देश र जनताको सेवा दिंदै निगमको आर्थिक अवस्था सुधार गर्ने कार्यको पनि सुरुआत गर्नुभएको छ ।
यो क्रमलाई निरन्तरता दिएर निगमका जहाजहरु पूर्ण क्षमतामा चलाउने व्यवस्था मात्र हुन सकेमा निगम हालको टाट उल्टन लागेको अवस्थाबाट मुनाफामा जान लामो समय नलाग्ने देखिन्छ ।


















