बैंकक(थाइल्याण्ड), १२ फागुन । नेपाली महिला क्रिकेटर नेरी थापा चम्किएपछि थाईल्याण्डमा भैरहेको आईसीसी महिला विश्वकप एशिया छनोट प्रतियोगितामा नेपालले हंगकंगलाई ४ विकेटले पराजित गरेको छ ।
खेलमा टस जितेर पहिले ब्याटिंग गरेको हंगकंगले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६२ रन बनाउदै नेपाललाई ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
नेपालले निर्धारित लक्ष्य १८.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो।
६३ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टोलीको सुरुवात खराब रह्यो। मात्र २४ रन जोड्न पहिलो ४ विकेट गुमाएको नेपालको इनिंगलाई अप्सरी बेगम र सरिता मगरले सम्हालिएर ब्याटिंग गर्दै अघि बढाए। अप्सरीले नेपालका लागि सर्वाधिक २४ रन तथा सरिताले अविजित १६ रन जोडिन्।
अप्सरीको विकेट पश्चात लगत्तै नेपालले रोमा थापालाई २ रनमा गुमायो। सो विकेट पश्चात नेरी थापा १ र सरिता मगरले १६रन जोड्दै नेपाललाई जितसम्म पुर्याए।
हंगकंगको बलिङ्गमा जस्मिन तित्मुसले सर्वाधिक ३ विकेट हात पारिन भने क्यारी चन, यी शन् तो र मरिको हिलले समान १ ।१ विकेट हात पारे।
नेरीको कीर्तिमानी बलिङ्ग
टस जितेर ब्याटिंग गर्न उत्रिएको हंगकंगलाई नेपालकी नेरी थापाले धराशायी पारिन । पहिलो विकेटका लागि २३ रन जोडेको जोडी बेल्ला पुन र यस्मीन दस्वानी दुवैलाई नेरी थापाले क्रमश ११ र १६ रनको स्कोरमा सातौँ र एघारौं ओभरमा पभेलियन फर्काउँदै नेपाललाई सफलता दिलाएकी थिइन्।
Player of the match Nairry Thapa . @CricketHK vs @NepalCricket in ICC Women's Asia Qualifier 2019@ICCAsia1 @ICCMediaComms pic.twitter.com/iCCC5oc3Jy
— Cricket Thailand (@ThailandCricket) February 24, 2019
पहिलो विकेटको साझेदारी पश्चात भने नेरी थापाको धारिलो बलिङ्गमा हंगकंग जवाफ बिहिन बन्यो। लगातार अन्तरालमा विकेट गुमाएको टोलीले पुरै २० ओभर ब्याटिंग गरेपनि ६२ रन मात्र जोड्न सक्यो। उसका लागि मरिना लाम्प्लोले सर्वाधिक १९ रन, यस्मीन दस्वानीले १६ र बेल्ला पुनले ११ रन जोड्न बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि बलिङ्गतर्फ नेरी थापाले सर्वाधिक ६ विकेट तथा सिता राना मगरले २ विकेट हात पारिन्। आफ्नो ४ ओभरको स्पेलमा नेरीले मात्र ८ रन खर्चेर ६ विकेट हात पारिन्। यस्तै सिताले भने ४ ओभरमा १ मेडन सहित मात्र ७ रन खर्चेर २ विकेट हात पारिन्।
नेरीको बलिङ्ग प्रदर्शन महिला अन्तर्राष्ट्रिय टि-२० क्रिकेटको एकै इनिंगको तेस्रो उत्कृष्ट प्रदर्शन हो। महिला अन्तर्राष्ट्रिय टि(२० मा नेरी अघि ४ बलरले मात्र एकै इनिंगमा ६ विकेट हात पार्न सफल बनेका थिए।
प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा मलेसियालाई ३४ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा थाईल्याण्डसंग ५७ रनले पराजित हुन पुगेको थियो। यस्तै तेस्रो खेलमा नेपालले युएईलाई ७ विकेटले पाखा लगाएको थियो।
2019 ICC Women’s T20 World Cup Asia Region Qualifier
| TEAM | M | W | L | T | P | NRR |
|---|---|---|---|---|---|---|
| THI-W | 4 | 4 | 0 | 0 | 8 | 3.176 |
| UAE-W | 5 | 4 | 1 | 0 | 8 | 1.843 |
| CHN-W | 5 | 3 | 2 | 0 | 6 | 0.501 |
| NEP-W | 4 | 3 | 1 | 0 | 6 | 0.385 |
| MAL-W | 4 | 1 | 3 | 0 | 2 | -1.256 |
| HKG-W | 4 | 0 | 4 | 0 | 0 | -1.409 |
| KUW-W | 4 | 0 | 4 | 0 | 0 | -3.644 |
यो खेलको जितसंगै ७ समूह सम्मिलित खेलमा नेपालले ४ खेल खेल्दा ३ जित र १ हारसहित ६ अंक जोडेर चौथो स्थानमा रहेको छ । अंक तालिकामा चारवटै खेल जित्दै आयोजक थाईलैण्ड ८ अंकसहित शीर्षस्थानमा रहेको छ । ५ खेलमा ४ खेल जित्दै यूएई ८ दोस्रो र ५ खेलमा ३ खेल जित्दै चीन तेस्रो स्थानमा छ ।
नेपालले अब तुलनात्मक रुपमा कमजोर मानिएका चीन र कुवेतसंग दुई खेल खेल्न बाँकी छ । आयोजक थाईल्याण्डले मलेशिया र यूएईसंग खेल्न बाँकी छ । यूएई तुलनात्मक रुपमा अरुभन्दा बलियो मानिन्छ । चीनले नेपालसंग एक खेल खेल्न बाँकी छ ।
यूएईले आयोजक थाईल्याण्डलाई हराएमा नेपाल यो छनोट चरणको शीर्षमा उक्लिने संभावना रहन्छ ।
यो चरणको शीर्षमा रहने टिमले आईसीसी टि २० बिश्व कप छनौट प्रतियोगिता २०१९ र आईसीसी महिला बिश्व कप २०२० (एकदिवसीय) छनौट प्रतियोगिता खेल्न छनौट हुनेछ।


















