काठमाडौं, १० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अखण्डताको विषयमा जनमत संग्रह कहिल्यै पनि नहुने बताउनुभएको छ।
संघीय संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सिके राउतसँगको सम्झौताले देशमा विखण्डनवादको नारा हराएको दावी गर्नुभयो।
‘ऐतिहासिक उपलब्धि प्राप्त भएको छ। देशमा रहेको पृथकतावादी र विखण्डनवादी विचार र संगठनको गतिविधि अन्त्य भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अब विखण्डनवादी संगठन छैन। पहिला आफ्नै राष्ट्रिय गानबाट कार्यक्रम गर्नेले अब सैयौं थुंगा फूल गाएर कार्यक्रम सुरू गर्छ।’
उनले राउतसँगको ११ बुँदे सम्झौतामा भएको जनअभिमतलाई जबरजस्ति जनमत संग्रह भनी व्याख्या गरेर विवाद सिर्जना गर्ने असफल प्रयास भएको पनि उल्लेख गर्नुभयो।
‘सार्वभौमसत्ता, राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा कुनै राष्ट्रले जनमत संग्रहको कल्पना पनि गर्न सक्दैन। त्यस्ता विषयमा जनमत संग्रह किमार्थ सम्भव छैन,’ प्रधानमन्त्रीले भन्नुभयो,‘ सहमतिमा जनमत संग्रह भनिएको छैन। पहिले उहाँहरूको माग थियो। अहिले जनताको अभिमत जे हुन्छ त्यसअनुसार चल्ने भन्नुभएको छ।’
अहिलेको लोकतान्त्रिक प्रक्रिया नै जनअभिमत भएको ब्याख्या गर्दै उहाँले संघीय ,प्रदेश र स्थायीय गरि ७ सय ६१ वटा सरकार, संविधानसभाले बनाएको संविधान, चुनावबाट आएको सरकार र अहिलेको प्रणाली नै जनमत अनुरुप भएको बताउनुभयो।
‘केही मान्छेले खुसी हुनु पर्ने ठाउँमा आत्तिएर राष्ट्र घात हो भने। राष्ट्रघातको विषय र विचार समाप्त भयो। विखण्डनको अजेण्डा समाप्त भयो। उनीहरू राष्ट्रिय राजनीतिमा आए,’ प्रधानमन्त्रीले भन्नुभयो,‘ कुनै आग्रहको आँखाले नहेरेर सम्झौता पढ्नु भए हुन्छ। अस्ति भ्याइएन भने आज दीपावली गरे हुन्छ।’
सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भन्ने मित्रबाट जनमतसंग्रहको कुरा सुनियो भन्दै विनोदी शैलीमा भन्नुभयो, अचम्म लाग्छ। कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमतसंग्रहको कुरा गर्छ। नागरिक भएको गर्व गर्न नसक्ने रैती हुन पाउँ हजुर भन्छ । ‘नेपाली जनता प्रतिगमन सुन्न पनि तयार छैनन्। यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो। भिक्षामा पाएको होइन। नेपालीले रक्षा गर्छ।’
प्रधानमन्त्री ओलीले हिन्दु राष्ट्र र राजतन्त्र जस्ता संविधानसभाले टुंग्याएका विषयमा किचलो निकाल्नुको पनि कुनै अर्थ नरहेको स्पष्ट पार्नुभयो ।
विप्लव माओवादीलाई चेतावनी
प्रतिनिधि सभाको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लुरूलुरू हतियार नबुझाए कारबाही भोग्नु पर्ने चेतावनी पनि दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले कहिँकतै दर्ता नभएको र कुनै ठेगाना नभएको विप्लव समूहका विध्वंशात्मक गतिविधि रोक्न प्रतिबन्ध लगाएकाले यसमा सरकार पछि नहट्ने बताउनुभयो ।
‘लुरूलुरू हतियार बुझाउन आए हुन्छ’, ओलीले भन्नुभयो, ‘बुझाउँदैन भने कसरी लिनुपर्छ सरकारलाई थाहा छ।
उहाँले केहीले विप्लवलाई वार्ताको ढोका बन्द गरेर प्रतिबन्ध लगाउनु उचित नभएको तर्क दिनेप्रति लक्षित गर्दै भन्नुभयो, लोकतन्त्रमा जन्ती बस जलाइ दिने हुन्छ ?चन्दाका नाममा लुट्ने हुन्छ ?’, ‘त्यो गर्न पाँइदैन भन्दा लोकतन्त्र धरापमा पर्यो। सम्झाउनुपर्थ्यो भनियो।’
उहाँले विप्लव समूहलाई धेरैपटक यस्ता गतिविधि नगर्न आग्रह गरिएको बताउदै त्यसपछि मात्र यस्तो कदम चालिएको बताउनुभयो ।
‘सम्झाउँदा हुँदैन भने राज्यले नियन्त्रण गर्छ’, ओलीले भन्नुभयो, ‘यो दुई तिहाइको सरकार हो। आतंक, विध्वंस र गैरकानुननी क्रियाकलाप नियन्त्रण गर्छ गर्छ। सरकारको ब्याक गियर छैन।’
महाभारतमा कृष्णले अर्जुनलाई सम्झाएको प्रसंग संझाउनै ओलीले भन्नुभयो, सम्झाउँदा नमानेपछि कृष्णले अर्जुनलाई आफ्नो चक्र देखाउन परेको थियो ।
‘श्रीकृष्णले अर्जुनलाई सम्झाउँदा गीता बन्यो। तर पनि अर्जुनले विश्वास नगरेपछि उनले चक्र देखाउनु पर्यो। त्यति सम्झाउन आउने र त्यति ज्ञानको भण्डार भएका कृष्णले देखिने गरी चक्र बोक्थे’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सम्झाउँदा मात्र पार लाग्ने भए चक्र किन बोक्थे?’
उहाँले भगवान् रामले ‘धनु र वाण’ देखिने गरी बोकेको उल्लेख गर्नुभयो।


















