काठमाडौं, ६ बैशाख । जनताको जलविद्युत् कार्यक्रममा परेको रसुवागढी र जलविद्युत् कम्पनीले आज शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् ।
ती आयोजनाले कुल १ अर्ब ५६ करोड मूल्य बराबरको सेयर बिक्री गर्न लागिएको हो
जनताको जलविद्युत कार्यक्रम अन्तरगत राखिएका यी दुबै आयोजनाको सार्वजनिक सेयर निष्काशन शुक्रबार बिहान ९ बजे ऊर्जा मन्त्रायबाट हुने भएको छ ।
दुवै आयोजनाका लागि सभामुख कृष्णबहादुर महरा र ऊर्जा मन्त्री वर्षामान पुनले औपचारिक रुपमा आवेदन दिएर यसको शुभारम्भ गर्दै हुनुहुन्छ । यी दुबै आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनको रुपमा रहेको चिलिमे जलविद्युत कम्पनीले सहायक कम्पनी बनाएर निर्माण गरिरहेको छ ।
दुबै आयोजनाले बैशाख ६ गतेदेखि खुला गरेको सार्वजनिक निष्काशनका सेयरहरु पर्याप्त आवेदन परेमा छिटोमा बैशाख १० गते र ढिलोमा जेठ ५ गतेसम्मलाई बिक्रीका लागि खुल्ला हुने जनाएका छन् ।

साञ्जेन जलविद्युत कम्पनीले दुईवटा आयोजना एकसाथ निर्माण गरिरहेको छ । यसमध्ये माथिल्लो साञ्जेन १४.८ मेगावाट र साञ्जेन जलविद्युत् आयोजना ४२.५ मेगावाट क्षमताको रहेका छन् ।
साञ्जेन आयोजनाको लागि न्युनतम १० कित्ता र अधिकतम २ हजार कित्ता शेयर खरिदको लागि आवेदन दिन पाइन्छ । आवेदकले दरखास्तसंगै प्रति सेयर १ सय रुपैयाँका दरले पैसा बुझाउनुपर्ने छ ।
साञ्जेन जलविद्युत कम्पनीले आफ्नो जारी पूँजी रु.३ अर्ब ६५ करोडको १५ प्रतिशत अर्थात रु. ५४ करोड ७५ लाख रकम बराबर प्रति शेयर रु.१०० । अंकित मूल्यको ५४ लाख ७५ हजार कित्ता साधारण सेयर जारी गर्दैछ ।
त्यसमध्ये ५ प्रतिशत अर्थात २ लाख ७३ हजार ७ सय ५० कित्ता शेयर सामुहिक लगानी कर्ता (मुचुअल फण्ड)हरुलाई संरक्षण गरिएको, ४ प्रतिशत अर्थात २ लाख १९ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई संरक्षण गरिएको छ ।
बाँकी ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरिएको कम्पनीले जनाएको छ ।
यसको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष हो भने सहायकमा सनराइज क्यापिटल लिमिटेड र एनएमबी क्यापिटल लिमिटेड हो ।
रसुवागढी पनि एक सय रुपैयाँकै शेयरलाई न्युनतम १० देखि अधिकतम ५ हजार कित्तासम्मको निम्ति आवेदन मागेको छ ।

रसुवागढी जलविद्युत कम्पनीले आफ्नो जारी पूँजी रु.६ अर्ब ८४ करोड २१ लाखको १५ प्रतिशत अर्थात रु.१ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको रु.१००। अंकित दरका १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयर जारी गर्दै छ ।
दुवै कम्पनीका सेयरमा आवश्यक आवेदन परेमा छिटोमा आगामी वैशाख १० गते सेयर बिक्री बन्द हुनेछ भने आवश्यक आवेदन नपरे जेठ ५ गतेसम्म बिक्री खुल्ला रहनेछ ।
सर्वसाधारण शेयरधनीले दुबै आयोजनामा न्यनतम ५० कित्ताको लागि आवेदन दिन सक्नेछन्।
त्यस्तै रसुवागढी जलविद्युतको आइपिओमा अधिकतम ५ हजार कित्ता र साञ्जेन जलविद्युतको आइपिओमा अधिकतम २ हजार कित्तासम्मको लागि आवेदन दिन पाइने व्यवस्था गरिएको छ ।
प्राथमिक शेयरमा आवदेन दिनका लागि नेपाल धितोपत्र बोर्डले आस्वा सुविधा प्रदान गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरमा खाता हुनेले अनलाइनमार्फत आवदेन दिन सक्ने व्यवस्था छ ।
आयोजनाको संस्थापक सेयरधनीमा चिलिमे जलविद्युत कम्पनी, नेपाल विद्युत प्राधिकरण लगायत रहेका छन् । संस्थापक तर्फको सेयर पूँजी ५१ प्रतिशत र सर्वसाधारण तर्फको सेयर पूँजी ४९ प्रतिशत रहेको छ ।
पछिल्लो पटक सरकारले ती आयोजनालाई समेत जनताको जलविद्युत समावेश गरी निर्माण, विकास र सञ्चालन प्रक्रिया अगाडि बढाएको छ ।








