
कोलम्बो (श्रीलंका),१२ बैशाख(बीबीसी) ।श्रीलङ्काको सरकारले गत आइतवार साढे तीन सयभन्दा बढी व्यक्तिको ज्यान जानेगरी र पाँचभन्दा बढी घाइते हुनेगरी भएका आत्मघाती बम विस्फोटनका घटनाहरू रोक्न नसक्नुमा आफ्नो गुप्तचर संयन्त्रमा “गम्भीर त्रुटि’ भएको स्वीकारेको छ।
यसै महिनाको पहिलो हप्ता एउटा योजनाबद्ध आक्रमण हुनसक्ने भनी भारतले दिएको सूचनाबारे सम्बन्धित अधिकारीहरूले उचित तरिकाले जानकारी नदिएको संसद्लाई बताइएको छ।
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै त्यहाँका रक्षासचिव र प्रहरीप्रमुखलाई पदमुक्त गरिदिएका छन्।
सिरिसेनाले एउटा टेलिभिजन सम्बोधनमा त्यहाँका विभिन्न सुरक्षानिकायमा व्यापक परिवर्तन गर्ने बताएको एक दिनपछि उनीहरूलाई पदबाट हटाइएको हो।
सन्दिग्ध व्यक्तिकी बहिनी के भन्छिन्?
आक्रमणकारीहरूको नाइके भएको शङ्का गरिएका एक व्यक्तिकी बहिनीले भने आफ्नो दाजुको निन्दा गरेकी छन्।
प्रहरीले देशका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोटन गराउने योजनाको नेतृत्व कट्टरपन्थी इस्लामिक प्रवचक जहरान हासिमले गरेको शङ्का गरेको छ।
उनकी बहिनीले बीबीसीसँग कुराकानी गर्दै आफ्ना दाजुका गतिविधिबारे कुनै पनि जानकारी आफूलाई नभएको बताएकी हुन्।
हासिम कहाँ छन् भन्ने स्पष्ट छैन।
गत मङ्गलवार कट्टरपन्थी इस्लामिक समूहले सार्वजनिक गरिएको भिडिओमा उनी देखिएका थिए।
तर उनले एउटा मात्र आत्मघाती घटना गराए वा उनी ठूलो योजनामा संलग्न थिए भन्ने पत्ता लगाउन सकेको छैन।
बीबीसीसँग उनकी बहिनी हसिम मदानियाले भनेकी छन्, “मैले सञ्चारमाध्यमबाट यो गतिविधिबारे थाहा पाएँ। मैले कहिल्यै पनि उनले यस्तो गर्लान् भनेर सोचेकी थिइँ। उनी मेरा दाजु भए पनि उनले गरेको यो कार्यको म निन्दा गर्छु। म यस्तो कुरालाई कुनै पनि हालतमा स्वीकार्न सक्दिनँ र उनी अहिले जहाँसुकै हुन् मलाई मतलब छैन।”
के भन्छ मुस्लिम समुदाय?
श्रीलङ्काको सबैभन्दा ठूलो इस्लामिक सङ्गठनका अर्कम नूरमिथले बीबीसीसँग कट्टरपन्थी व्यक्तिहरू यो तहको आत्मघाती घटनामा संलग्न भएकोमा आफू अझै विश्वस्त हुन नसकेको बताएका छन्।
यो घटनाबाट आफूहरूलाई एकदमै चिन्तित बनाएको उनले बताए।
उनले भने, “समुदायका रूपमा हामीले वास्तवमै त्यसलाई पहिचान गर्न सकेका थिएनौँ। तर हाम्रो समुदायले कम्तीमा १० वर्षदेखि यस्ता घटनाबारे सकेसम्म सचेत गराइरहेको थियो। समुदायका नेताहरूले केही कट्टर युवाहरूले अन्तर्राष्ट्रिय सञ्जालसँग सम्बन्ध राख्न थालेको भनेर बताउने गरेका थिए।”
अधिकारीहरूका अनुसार नौ आक्रमणकारीमध्ये आठ जना श्रीलङ्काका नागरिक भएको स्पष्ट भएको छ।
गिर्जाघर र होटलहरूमा भएका शृङ्खलाबद्ध आत्मघाती आक्रमणहरूमा अतिवादी इस्लामिक समूह इस्लामिक स्टेटको संलग्नता रहेको वा नरहेकोबारे सरकारले अनुसन्धान गरिरहेको जनाएको छ।
श्रीलङ्का फर्कनुअघि आक्रमणकारीमध्ये एक जनाले यूके र अस्ट्रेलियामा अध्ययन गरेको खुल्न आएको छ।
कसको उत्तरदायित्व?
देशमा गृहयुद्ध समाप्त भएपछि यो नै सबैभन्दा ठूलो आक्रमणको घटना थियो।
घटना भएपछि देश हाँक्ने नेताहरूबीच विवाद रहेको र सरकारी निकायमै समन्वय नभएको देखिएको छ।
सहायक रक्षामन्त्री रुवान विजेवार्देनेले रुवान विजेवर्दनेले भने, “यदि जासुसी सूचना उपयुक्त स्थानमा पुर्याइएको भए यो आक्रमण टर्न सक्थ्यो वा क्षति कम गर्न सकिन्थ्यो। दुर्भाग्यवश त्यसो हुन सकेन हामीले उत्तरदायित्व लिनुपर्छ।”
संसद्का नेता लक्ष्मण किरिएलाले अधिकारीहरूले नियतवश सूचना नदिएको बताए।
“कुनै निश्चित उद्देश्यका साथ उच्च अधिकारीहरूले जासुसी सूचना लुकाएका हुन्,” उनले भनेका छन्, “सूचना थियो तर शीर्ष सुरक्षा अधिकारीहरूले कारबाही गरेनन्।”
उनले भारतीय सङ्केत एप्रिल ४ मा नै पाइएको रोएटर्स समाचार संस्थालाई बताएका छन्।
राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमसिङ्घले उक्त सूचना नपाएको बताएका छन्।
राष्ट्रपति सिरिसेनाले रक्षासचिव हेमसिरी फर्नान्डो र प्रहरी प्रमुख पुजिथ जयसुन्दरालाई हटाएका छन्।
कसले गर्यो आक्रमणको दाबी?
श्रीलङ्का सरकारले स्थानीय इस्लामिक समूह न्याश्नल तौहिद जमातले आक्रमण गराएको आरोप लगाएको
छ।

प्रधानमन्त्री विक्रमसिङ्घले “घटना स्थानीय स्तरबाट मात्र गराइएको हुन नसक्ने” बताएका छन्।
यसअघि न्याश्नल तौहिद जमात ठूला घटनामा सहभागी भएको थाहा थिएन।
तर गत वर्ष बुद्धका केही मूर्ति भत्काएपछि यो समूह चर्चामा आएको थियो।
उक्त समूहले आइतवारको घटनाबारे केही बोलेको छैन।
आईएसविरुद अमेरिकी नेतृत्वमा आक्रमण गर्ने देशका नागरिक र श्रीलङ्काका इसाईलाई लक्षित गरिएको आईएसले दाबी गरेको छ।
तर सामाजिक सञ्जालमा केही सन्दिग्ध आक्रमणकारीका तस्बिर राख्नुबाहेक उसले घटनामा संलग्न भएको पुष्टि हुने कुनै पनि प्रमाण दिएको छैन।
को पक्राउ परे?
प्रहरीले अहिलेसम्म ६० जनालाई पक्राउ गरेको छ।
घटनापछि देश राष्ट्रिय सङ्कटकाल लगाइएको छ। तर त्यहाँ फेरि आक्रमण होला भन्ने डर व्याप्त छ।
प्रहरीले अझै पनि कतिपय शङ्कास्पद व्यक्तिहरूको खोजी गरिरहेको छ।
“देशभित्र भइरहेका आतङ्कवादी गोप्य योजना”प्रति सावधान हुनुपर्ने बताउँदै श्रीलङ्काका लागि अमेरिकी राजदूत एलिना टेप्लिजले सञ्चारकर्मीहरूलाई आतङ्कवादी आक्रमण बिनाचेतावनी हुन सक्ने बताइन्।
उक्त घटनापछि श्रीलङ्काले मङ्गलवार राष्ट्रिय शोक घोषणा गरेको थियो र त्यस धेरै मृतकहरूको सामूहिक अन्तिम संस्कार गरिएको थियो।
मृत्यु हुने को हुन्?
शृङ्खलाबद्ध विस्फोटनमा परेर श्रीलङ्काका नागरिक र विदेशीहरू पनि छन्।
श्रीलङ्कालीमध्ये अधिकांश इस्टरको प्रार्थना गर्न गिर्जाघरमा भेला भएका इसाई धर्मावलम्बीहरू छन्।
श्रीलङ्का गिर्जाघर विस्फोटन: मृतकहरू कुन देशका हुन्
१० मध्ये नौ जना श्रीलङ्काका नागरिक
Source: BBC research (एप्रिल २४ सम्म प्राप्त विवरणमा आधारित)
घटनामा ३८ जना विदेशीको पनि ज्यान गयो।
तीमध्ये आठ ब्रिटिश र ११ भारतीय नागरिक हुन्।
श्रीलङ्काको वर्तमान इतिहास
सन् २००९ मा गृहयुद्ध समाप्त भएपछि श्रीलङ्कामा केही छिटपुट हिंसाका घटनाहरू हुने गरेका थिए।
अल्पसङ्ख्यक तमिलहरूका लागि छुट्टै राज्य माग गर्दै २६ वर्ष युद्ध गरेको तमिल टाइगर्सलाई सरकारी फौजले हराएपछि त्यहाँको गृहयुद्ध सकिएको थियो।
उक्त गृहयुद्धमा ७० देखि ८० हजार मानिसहरू मारिएको ठानिन्छ।
त्यो गृहयुद्धको अन्यपछि त्यहाँको बहुसङ्ख्यक बौद्ध सिन्हला समुदायका मानिसहरूले मस्जिदहरू र मुस्लिमहरूको स्वामित्व रहेका सम्पत्तिमा आक्रमण गर्ने गरेका खबरहरू आउने गरेका थिए।
बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा गत वर्ष मार्चमा पनि त्यहाँ राष्ट्रिय सङ्कटकाल घोषणा भएको थियो।