हनोई(भियतनाम),२८ बैशाख । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामका प्रधानमन्त्री न्गुऐन जुवान फुकद्वारा उहाँको सम्मानमा आयोजित रात्रिभोजमा सरिक हुनुभएको छ । प्रधानमन्त्री ओली यही वैशाख २६ गतेदेखि भियतनामको चारदिने औपचारिक भ्रमणमा रहनुभएको छ ।
सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित हुनुहुन्थ्यो । साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सांसद र उच्चपदस्थ सरकारी कर्मचारीको पनि रात्रिभोजमा सहभागिता थियो ।
हो ची मिन्ह हाउसको अवलोकन
यस अगाडि शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले आज हो ची मिन्ह हाउसको अवलोकन गर्नुभएको छ । सन् १९५८ देखि १९६९ सम्म भियतनामका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री हो चि मिन्ह उक्त हाउसमा बस्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा नेता होको शयन, अध्ययन र वैठक कक्ष अबलोकन गर्नुभयो । प्रधानमन्त्री ओलीले अतिथि पुस्तिकामा ‘कमरेड हो ची मिन्ह अमर रहुन्’ भनी उहाँको स्मरण गर्नुभएको थियो । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायतको सहभागिता रहेको थियो ।
राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनसंग भेटघाट
प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामको राष्ट्रियसभाका अध्यक्ष न्गुऐन थि किम नागनबीच आज संसद् भवनमा भेटघाट भएको छ । उहाँहरुबीच समसामयीक राजनीतिक, सामाजिक, आर्थिक र दुवै देशको संसदीय मामिला विषयमा छलफल भएको थियो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अध्यक्ष नागानलाई गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा भ्रमणका लागि अनुरोध गर्नुभयो ।