कीर्तिपुर(काठमाडौं), ९ कार्तिक । नेपाल प्रिमियर लिगको समुद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स उत्कृष्ट लयमा देखिएको छ ।
अहिले भइरहेको खेलमा नेपालका बलर किशोर महतो र शेर मल्ल चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्स धराशायी बनेको छ ।
साविक विजेता लुम्बिनीले उपविजेता सुदूरपश्चिमलाई ८७ रनमा अलआउट गर्यो ।
आजको दिन लुम्बिनी लायन्सका लागि अनुकूल देखिएको छ ।
पहिले टस जितेर फिल्डिड. रोजेको लुम्बिनीले पहिलो सफलता चौथो ओभरको पहिलो बलमा पायो । लुम्बिनीका शेर मल्लले विनोद भण्डारीलाई ९ रन जोडेको अवस्थामा एलबीडब्ल्यू धरापमा पारे ।
पाचौं ओभरको दोस्रो बलमा लुम्बिनीका किशोर महतोले दोस्रो विकेट लिए । उनले आरिफ शेखलाई शून्य रनमा आउट गरे ।
तेस्रो विकेट पनि महतोले नै लिए । उनले यसपटक विदेशी खेलाडी ब्राडन म्याकमिलनलाई २ रनमा आउट गरे ।
छैठौं ओभरको चौथो बलमा लुम्बिनीका भान स्चिलवीक सुदूरपश्चिमका शैफ जायबलाई १३ रनमा आउट गरे ।
नवौं ओभरको दोस्रो बलमा लुम्बिनीका तिलक भण्डारीले सुदूरका इशान पाण्डेलाई ७ रन बनाएको बेलामा आउट गरे ।
१० ओभरको दोस्रो बलमा शेर मल्लले विदेशी खेलाडी शरफेन रदरफोर्डलाई १ रनमा आउट गरे । शेर मल्ल यतिमा रोकिएनन् । उनले सोही ओभरको चौथो बलमा विदेशी खेलाडी स्कट कुग्गेलिजनलाई शून्य रनमा आउट गरे ।
लुम्बिनीको घातक बलिड. यतिमा रोकिएन । १३ औं ओभरको तेस्रो र चौथो बलमा किशोरी महतोले सुदूरका कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीको विकेट लिए ।
खेलको १८औं ओभरको दोस्रो बलमा लुम्बिनीका कप्तान रोहित पौडेलले सुदूरपश्चिमका अभिनास बोहोराको विकेट लिएपछि सुदूरपश्चिम ८७ रनमा नै अलआउट भयो ।







