Prakash Adhikari May 31, 2019

काठमाडौं,१६ जेठ। भारतमा १७ औं लोकसभाको नतिजा आउने वित्तिकै नेपालको राजनीति एकाएक गर्माएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीको नेतृत्वको भविष्य भारतको नयाँ सरकारको रवैयामा निर्भर रहन्छ भन्नेहरुले बिहिबार दिल्लीमा बनेको नयाँ सरकारको सपथ ग्रहणसंगै नेपालमा सरकार बदलिने ठोकुवा गरेका छन् । उनीहरुको दाबीलाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयुक्त अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विहिबार सार्वजनिक भएको अभिव्यक्तिले साथ दिएको छ ।

नेकपा अध्यक्ष दाहालले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने कुरा निकालेर ओली सरकारको दिनगन्तीको थालनी गर्नभएको छ । केही दिन अगाडिसम्म यो सरकार ५ बर्ष पुरै टिक्छ भन्ने दावी गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री दाहालले पार्टी एकता हुँदाखेरि नै आलोपालो प्रधानमन्त्री हुने लिखित सहमति भएको र त्यसलाई वर्तमान प्रधानमन्त्री केपी ओलीले पालना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रचण्डले त चेतावनीको शैलीमा नै भन्नुभएको छ, ‘पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि टिक्दैन ।’

तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता घोषणा हुनुभन्दा एक दिनअघि ०७४ साल जेठ २ गते प्रचण्ड र केपी ओलीवीच सम्पन्न गोप्य सम्झौताको चौथो बुँदामा आलो–पालो अढाई बर्ष सरकारको नेतृत्व गर्ने भनिएको थियो ।

गोप्य सहमितमा प्रचण्ड र ओलीको हस्ताक्षर  छ भने साक्षीका रुपमा विष्णु पौडेल र जनार्दन शर्माको समेत हस्ताक्षर छ ।

समानताका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने भनिएकोमा केपी शर्मा ओलीले १५ महिना सरकारको नेतृत्व गरिसक्नुभएको छ र अढाइ वर्षे कार्यकाल पूरा हुन १५ महिना बाँकी छ ।

सत्तारुढ नेकपाका संयुक्त अध्यक्ष प्रचण्डले सरकारले सुशासन र जनताको विकास र समृद्धिको आकांक्षालाई सम्वोधन गर्ने गर्न नसकेको पनि बताउनुभएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएका बेलामा सुशासनको अनुभूति भएन, देशमा विकास भएको र भ्रष्टाचारमुक्त समाजतिर गएको पनि नपाए चिज एक ढंगले जान्छ भनेर ओली सरकारको अकर्मण्यताप्रति पनि संकेत गर्नुभएको छ । उहाँले चेतावनीकै शैलीमा भन्नुभएको छ, जनताले होइन, भ्रष्टाचार त उस्तै छ, झन बढी बढेको पो छ, विकास पनि भन्याजस्तो गरी अगाडि आइराख्या छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नु भो त ?

 

उहाँले थप चेतावनी दिंदै भन्नुभएको छ, पार्टीभित्र सबै कुरा छलफलले, हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले जान्छ ।
आफू सहमतिको हस्ताक्षरकर्ताको हैसियतले त्यसमा प्रतिबद्ध रहेको बताउदै पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ, त्योबाट दायाँवायाँ भयो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । दायाँ वायाँ कोही गर्न खोज्यो भने त्यो टिक्नेवाला छैन भन्ने छ मेरो । मैले गर्न खोजें भने म टिक्दिनँ । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।

केहीदिन पूर्व पनि नेकपा अध्यक्ष प्रचण्डले चुनावका बेलामा र चुनावपछि पार्टी एकता गर्ने बेलामा गरिएको समझदारीअनुसार नै सबै चिज अगाडि बढ्छ र हाम्रै पार्टीको नेतृत्वमा ५ वर्ष सरकार चल्ने बताएर प्रधानमन्त्री ओलीको दिनगन्ती सुरु भएको संकेत दिनुभएको थियो ।

भारतमा एस जयशंकर मन्त्री,कस्तो होला व्यवहार

Image result for S jayashankar

प्रधानमन्त्री के.पी. शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण कार्यक्रममा सहभागी हुन बिहिबार दिल्ली पुग्नुभएको छ । उहाँ समारोहमा सरिक भैरहदा उहाँसहित सबैको मनमा चसक्क बिझ्ने दृश्य देखियो । दोश्रो पटक प्रचण्ड बहुमतले निर्वाचन जितेर सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो टीमको पहिलो रोजाईमा भारतका पूर्व विदेश सचिव एस जयशंकरलाई चयन गर्नुभएको छ । नेपाललाई संविधान जारी गर्न केही समय पर्खिन आग्रह गर्न काठमाडौं आउनुभएको उहाँको अनुरोध विपरित संविधान जारी भएपछि नेपालले नाकाबन्दीका समस्या समेत भोग्नु परेको घट्नाले ओलीसरकारप्रति अबको भारत सरकार कठोर हुने देखिन्छ । ओली सरकारको समयमा नेपाल चीनतिर बढी झुक्यो भन्ने भारतको आरोप रहिआएको छ ।

यसैबीच नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुरको स्वास्थ्योपचारको लागि अघिल्लो हप्ता भएको सिंगापुर भ्रमणलाई पनि निकै अर्थपूर्ण रुपमा लिइएको छ । पछिल्लो समय नेपालका राजनीतिक नेताहरुको विदेशीसंग भेटघाट गर्ने थलो सिंगापुर बन्दै आएको छ ।

Share Now

Leave a comment.