Prakash Adhikari July 1, 2019

 

काठमाडौं, १६ आषाढ । नेपाल वायुसेवा निगमको व्यवस्थापनलाई प्रधानमन्त्री के पी ओलीले सार्वजनिक रुपमा
निगमका सबै कर्मचारीहरुको सामु नालायकको पगरी गुताउनुभएको छ ।

निगमले नेपाली सेनाको मुख्यालयमा आयोजना गरेको ६१ औं वाषिर्कोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै निगमको व्यवस्थापनको चरम लापरवाही,असक्षमता,आर्थिक अनियमितताजन्य क्रियाकलापप्रति चरम असन्तुष्टि प्रकट गर्नुभएको हो ।

तात्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारी ताप्लेजुड.मा भएको हेलिकोप्टर दुर्घटनामा परेर दिवंगत भएपछि पर्यटन मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री स्वयंले सम्हाल्दै आउनुभएको छ ।

प्रधानमन्त्री ओलीले वर्तमान व्यवस्थापनको कार्यशैलीमा आफूलाई विश्वास नभएको भन्दै संस्था सुधार भएका जहाजहरुको सञ्चालनको स्पष्ट कार्ययोजना ल्याउन सार्वजनिक रुपमा नै निर्देशन दिनुभएको छ । निगमको व्यवस्थापनको जिम्मा उहाँकै जिल्लाबासी मदन खरेलले सम्हाल्दै आउनुभएको छ । आफैले झण्डै एकबर्ष अगाडि ल्याउन लगाएका कार्यकारी अध्यक्ष खरेलको कार्यशैली र उहाँका कार्यसम्पादनले संसदका दुई समितिमा उठाएका प्रश्नहरुबाट आजित बन्नुभएका प्रधानमन्त्रीले व्यवस्थापन नसुध्रेमा कुनै पनि बेला सरकारले हस्तक्षेप गर्न सक्ने भन्दै त्यसका लागि तयार रहन व्यवस्थापनका नाइके र बाँकी कर्मचारीहरुलाई चेतावनी पनि दिनुभएको छ ।

निगममा भएको भ्रष्टाचार,अनियमितता र लापरवाही तथा कुव्यवस्थापनलाई प्रधानमन्त्रीले बडो व्यंग्यको शैलीमा प्रश्न गर्नुभयो, ‘निगमका पाइलट, व्यवस्थापक र कर्मचारी कोही घाटामा भएको देखिदैन, सुविधा बढाएकै देखिन्छ, सबैले कमाएकै देखिन्छ र तर निगम मात्र कसरी घाटामा गइरहेको छ ?

प्रधानमन्त्रीलाई मञ्चमा राखेर सरकारी जमानीमा ऋण लिने वा सरकारबाट २० अर्ब ल्याएर उपरखुट्टी लगाएर त्यसमा पनि १० तर काढ्न उद्यत रहेको निगम व्यवस्थापनलाई प्रधानमन्त्री ओली सार्वजनिक स्थानमा नै कडा रुपले फट्कार्नु भएको छ , उहाँले यथावस्थामा निगमलाई एक पैसा दिन सरकार तयार नरहेको र निगमले सरकारसित पैसा मागेर नभई उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी व्यापारमार्फत पैसा कमाउनु पर्ने उपदेश दिनुभयो ।

प्रधानमन्त्रीको काखमा बसेर कमीकमजोरी ढाक्ने असफल प्रयासमा लागेका निगमका हर्ताकर्ताहरुलाई प्रधानमन्त्री ओलीले राम्रैसंग दनक दिनुभएको छ । उहाँले भन्नुभयो, निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो ? वायु सेवा निगम ६१ बर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?

प्रधानमन्त्री ओलीले यात्रहरुलाई आकाशमार्गमा उडाएर सुरक्षित रुपमा गन्तव्यमा पुर्याउदै नाफा आर्जन गर्नुपर्ने निगमका जहाजहरु सधैं विमानस्थलमा घाम तापेर बस्नुपर्ने नियतिले निगमको व्यवस्थापनको हैसियत सार्वजनिक गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो , “एकपटक एयरर्पोटमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें,नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि । तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन् । उडेका भए सबै जहाज आकाशमा हुन्थे । निगम पनि नाफामा जान्थ्यो । ”

निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको आरोप प्रधानमन्त्रीले लगाउनुभएको छ । उहाँले भन्नुभयो,“गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ । यस प्रकारका निर्णयले निगम धरासायी हुदै गएको हो । ”

बार्षिकोत्सवमा बोल्नुभएका कर्मचारी युनियनका अध्यक्ष तारणीप्रसाद दाहालले चिनियाँ विमान नेपाली सेनालाई चलाउन दिने प्रस्ताव राखेपछि त्यसले प्रधानमन्त्रीलाई झन आक्रोशित बनाएको थियो । उहाँले प्रश्न गर्नुभयो, जहाज प्राविधिक रुपमा ठीक छन भने निगमले किन व्यवसायिक रुपमा चलाउन सक्दैन, ठीक छैनन् भने सेनालाई दिन के सेना कबाडीखाना हो ?एकथरी कर्मचारीहरुले चीनबाट ल्याइएका जहाजहरु निजी वायुसेवा कम्पनीले खरिद गरेर सञ्चालन गर्न चासो दिएको पनि बताएका छन् । नेपाली आकाशमा निजी क्षेत्रले चलाउन सक्ने र नाफा पनि गर्न सक्ने तर निगमले एअरपोर्टको शोभामात्र बनाएर राख्नुलाई पनि निगम व्यवस्थापनको नालायकी पनको नमूना भन्न थालेका छन् ।

निगमको नेतृत्व सम्हाल्न गतबर्ष भाद्रमा कार्यकारी अध्यक्ष बनेर आउनुभएका मदन खरेलले सार्वजनिक गर्नुभएको श्वेतपत्रमा २०७५ भाद्र मसान्तसम्म निगमको सम्पत्ति ४८ अर्ब ९३ करोड र दायित्व ४१ अर्ब ७१ करोड रहेको विवरण सार्वजनिक गर्नुभएको थियो ।

निगमको आर्थिक अवस्था अहिले यति जर्जर छ कि निगमले सञ्चय कोष र नागरिक लगानी कोषसंग २ थान वाईड बडीका जहाज खरिद गर्दा लिएको २४ अर्ब कर्जा र सञ्चय कोषसंग २ थान न्यारोबडीका जहाज किन्दा लिएको १० अर्ब कर्जाको सावा र ब्याज तिर्ने हैसियत पनि छैन । गत पुस महिनाको किस्ता रकम तिर्न नसकेर सरकारले तिरिदिएको किस्ता त्यसपछि पनि बुझाउन सकिरहेको छैन् ।

निगमले प्रत्येक तीन महिनामा वाइडबडी र न्यारोबडीका जहाज किन्दा लिएको कर्जाका साँवा र व्याजबापत १ अर्ब १३ करोडभन्दा बढी रकम बुझाउनु पर्दछ ।

निगमका उच्च पदाधिकारीहरु यसले वाइड बडीका दुई थान जहाज खरिद गर्दा निगमको आर्थिक विनियमावली र सार्वजनिक खरिद ऐन तथा नियमको उल्लंघन गरी ६ अर्ब ५९ करोड रुपैया भ्रष्टाचार गरेको आरोपमा अख्तियारको छानवीनम परेका छन भने नयाँ व्यवस्थापन न्यारो बडीका इन्जिन मर्मत संभार र वाईडबडीका पार्टपूर्जा फेर्नका लागि पावर वाई आवर वेसिसमा सो कामको जिम्मा दिन गरिएको टेण्डर प्रक्रियामा मिलेमतो गरेको आरोपमा संसदको सार्वजनिक लेखा समितिको छानवीनको राडारमा परिसकेको छ ।

वाइडबडी खरिदमा पनि आफ्ना अभिव्यक्तिका कारण सन्देहको घेरामा पर्दै आउनुभएका प्रधानमन्त्री ओलीलाई लेखासमितिले एक खालको निर्णय गर्दा गर्दै त्यसलाई निस्तेज पारी भ्रष्टाचार र अनियमितता जनित कार्यलाई निरन्तरता दिन निगम व्यवस्थापनले गरेको अर्को निर्णय प्रधानमन्त्री ओलीको सरकार ढल्ने र इतिहास कलंकित गर्ने कारण पनि बन्न सक्छ । नेपाली कांग्रेसका तात्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई यूरोपमा एक एजेण्ट नियुक्त गर्ने कार्यमा मौखिक आदेश दिएको भन्ने आधारमा सार्वजनिक लेखा समितिमा एमाले र राष्टिय प्रजातन्त्र पार्टीका सांसदहरुले छानवीन समिति नै बनाएर उहाँलाई दोषी देखाउदै इतिहासमा बद्नाम गराउने दुस्प्रयास गरेका थिए । लाउडा विमान भाडाको विषयमा पनि उहाँलाई मुछ्ने कोशिस गरियो जबकी उहाँले त्यसबेला पर्यटन मन्त्रालय सम्हाल्नुभएको थिएन ।

अहिले वर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीले प्रत्यक्ष मन्त्रालय आफैले सम्हालेको हुनाले निगमको नेतृत्वले गरेका गलत कामको जिम्मा उहाँले लिनुपर्ने अवस्था हुन्छ ।

Share Now

Leave a comment.