काठमाडौं, ३० आषाढ । नेपाली कांग्रेस र राजपाका सांसदहरुले देशभर विगत बिहिबारदेखि परेको अविरल बर्षाका कारण भएको पहिरो र बाढी तथा डुबानमा परी भएको धनजनको क्षति, उद्धार,राहत र पुनस्थार्पना कार्यमा सरकारको ध्यानाकृष्ट गराउन प्रतिनिधिसभा स्थगन प्रस्ताव दर्ता गर्नुभएको छ ।
प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ७८ को उपनियम (१) बमोजिम नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्रप्रसाद रिजाल, पुष्पा भूसाल र राजपाका सांसद राजकिशोर यादवले सो प्रस्ताव दर्ता गराउनुभएको हो ।

अत्यन्त जरुरी सार्वजनिक महत्वको विषय भन्दै उहाँहरुले आजको कार्यसूचिमा यो प्रस्तावबाहेका अन्य विषयमा छलफल र काम कारबाही नचलाउन अनुरोध गर्नुभएको छ ।
प्रस्तावमा भनिएको छ, ‘विगत पाँच दिन देखिको अविरल वर्षा र यसका कारण आएको बाढी, पहिरो र डुवानका कारण देश भरिका तीस भन्दा बढी जिल्लाहरुमा करिब पाँच दर्जन नागरिकले ज्यान गुमाउनु परेको, झण्डै त्यतिनै संख्यामा वेपत्ता भएको, सयौं नागरिक घाइते भएको, दशौं हजार नागरिक प्रत्यक्ष प्रभावित भएको, महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएको, विभिन्न स्थानमा विद्युत सेवा लगातार रुपमा अवरुद्ध भएको, कतिपय स्थानमा उद्दार कार्यमा संलग्न सुरक्षाकर्मी समेत सम्पर्क विहिन भएको, दशौं करोड मूल्य बराबरको घर, खेत, धनमाल, बालि नष्ट भएको वर्तमान अवस्थामा यस गम्भीर विषयमा हालसम्म नेपाल सरकारद्वारा संचालित उद्धार, राहत कार्यको प्रगति तथा प्रभावित क्षेत्रहरुको विद्यमान अवस्थाबारे प्रतिनिधि सभामा जानकारी लिने, प्रतिनिधि सभाका माननीय सदस्यहरुबाट प्रभावित क्षेत्रबारे सरकारलाई सूचना उपलब्ध गराउने, तीनै तह केन्द्र, प्रदेश र स्थानीय सरकारद्वारा संचालित उद्धार, राहत र त्यसपछिको पुनस्र्थापनाको एकीकृत कार्यक्रम निर्माण गर्न नेपाल सरकारलाई नीतिगत निर्देशन तथा आवश्यक सहयोग पु¥याउने तथा प्रतिनिधि सभाका माननीय सदस्यहरुलाई उद्धार, राहत र पुनस्र्थापनाको कार्यमा संलग्न गराउने व्यवस्था गर्ने उद्देश्यले यस अत्यन्त जरुरी सार्वजनकि महत्वको विषयमा आज मिति २०७६ आषाढ ३० गतेको बैठकमा छलफल गर्नका लागि प्रतिनिधि सभामा आज २०७६ आषाढ ३० गतेको लागि निर्धारित सबै कार्यक्रम स्थगित गरियोस् भनि प्रतिनिधि सभा नियमावलीको नियम ७८ को उपनियम (१) को व्यवस्था बमोजिम स्थगन प्रस्तावको सूचना पेश गर्दछौं ।’
सभापति देउवाद्धारा उद्धार र राहतमा सक्रिय हुन अपिल
यसै बीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले बैठक स्थगन गरेर सिंगो पार्टी पडि.तलाई उद्धार र राहतमा सक्रिय हुन निर्देशन गरेको उल्लेख गर्दै विपत्तिको यस समयमा आन्तरिक राजनीति र अन्य मुद्दामा विषय छोडेर सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पिडामा परेका नेपाली दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको कर्तव्य भएको बताउनुभएको छ ।
उहाँले नेपाली कांग्रेसका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सक्रिय हुन अपिल गर्दैनेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले उद्धार,राहत,पुनस्थापन र पुनर्निर्माण्का कार्यक्रम सञ्चालन गर्न आग्रह समेत गर्नुभएको छ ।
उहाँले बाढी र पहिरोमा परेर अमूल्य जीवन गुमाएका पाँच दर्जन भन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गर्नुभएको छ ।
केही दिन यता मुलुकको विभिन्न भागमा अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकले असार २७ गते गहिरो दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चिर शान्तिको कामना गरेको छ । प्राकृतिक विपत्तिको यो घडी जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्ण रुपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौँं । विपत्तिको समय आन्तरिक राजनैतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबै खाले राजनैतिक आग्रह–पूर्वाग्रह भन्दा माथि उठेर पिडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु हामी सबैको परम कर्तव्य हो ।
म नेपाली कांग्रेस पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन अपिल गर्दै नेपाल सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न आग्रह गर्दछु । प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले कति व्यवस्थित ढंगले गरिरहेको छ त्यसको अनुगमन समेत प्रमुख प्रतिपक्षी दलका नाताले नेपाली कांग्रेसले गर्ने जानकारी पनि गराउँदछु ।
वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने पाँच दर्जन भन्दा बढी नागरिकको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतकको आत्माको चिरशान्तिको कामना गर्दछु ।




















