काठामाडौं, ३० आषाढ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक बर्षभित्रै सार्वजनिक निष्कासनमा बुक विल्डिड. पद्धति लागू गर्ने भएको छ भने हकप्रद शेयरमा आफ्नो हकभन्दा बढी कित्ताको लागि पनि आवेदन गर्न पाउने व्यवस्था गर्ने भएको छ ।
सोमबार राजधानीमा आगामी आर्थिक वर्ष २०७६ । ७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले आगामी आर्थिक बर्षमा यी व्यवस्था आरम्भ हुने बताएको छ।
बुक विल्डिड. भनेको खास प्रक्रियाद्धारा निर्धारित कम्पनीको प्रतिशेयर मूल्यमा लगानीकर्ता वा इच्छुक आवेदकहरुले प्रतिस्पर्धात्मक मूल्य तय गरी आवेदन दिने प्रक्रिया हो । यसमा बढी मूल्य राख्ने आवेदकहरुबाट क्रमश शेयर वितरण गरिन्छ । हाल बोर्डले पूँजी बजारको आधार विस्तार गराई यसलाई समावेशी बनाउन समानताका आधारमा शेयर वितरण गर्ने नीति लागू गरेको छ ।
बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर सो प्रावधान नीति तथा कार्यक्रममा राखिएको बताउनु भएको छ । उहाँले प्रस्तावित व्यवस्थाले ५० करोड वा सोभन्दा माथिका र एक अर्व वा सोभन्दा बढिको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने बताउनु भयो ।
हाल निजी क्षेत्रका उद्यमीहरु आफ्नो कम्पनीको शेयरको मूल्यांकन विधि न्यायोचित नभएको कारण देखाउदै नेपाल स्टकमा सूचीकृत हुन अन्कनाएका छन् । यसले वास्तविक क्षेत्रलाई पूँजी बजारमा ल्याउन सघाउने बताइएको छ ।
यस्तै हकप्रद शेयर नबिक्ने समस्यालाई सम्बोधन गर्न हकप्रदका लागि योग्य शेयरधनीले आफ्नो हकभन्दा बढीकोलागि पनि आवेदन दिन पाउने व्यवस्था गरिने भएको छ ।
आगामी बर्षबाट वस्तु विनिमय बजार पनि व्यवस्थित रुपमा सञ्चालन हुने विश्वास गर्ने अवस्था सिर्जना भएको छ । बोर्डले लगानीकर्ताको हकहितलाई ध्यानमा राखी दुई वटा मात्र बस्तु विनिमय बजार सञ्चालन अनुमति दिने नीतिगत व्यवस्था गरि निर्धारित मापदण्ड अनुसार अनुमति दिने योजना अघि बढिरहेको पनि बताएको छ ।
बोर्डले चालु आर्थिक वर्षको प्रमुख प्राथमिकतामा परेको एक नेपाली एक डिम्याट खातासम्बन्धी नीतिलाई थप प्रभावकारी बनाउन प्रोत्साहन गर्ने लक्ष्य समेत बोर्डको छ ।
बोर्डले हाल कायम शेयर राफसाफ चक्र टी प्लस थ्रीलाई बजार सहभागीको क्षमताको आधारमा घटाउँदै लगी धितोपत्रको दोस्रो बजारलाई सुदृढ बनाउर्दै लैजाने नीति पनि लिएको छ । यस विषयमा सरकारद्धारा गठित उच्चस्तरिय समितिले टी प्लस वानमा राफसाफ चक्र झार्न व्यवस्था गर्ने भएको छ ।
बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तर्गत धितोपत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने पनि जनाएको छ।
पूँजी बजारको गतिशील विकासमा सहयोग पु¥याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्धारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने नीतिगत व्यवस्था गरिने पनि बोर्डले जनाएको छ ।
त्यस्तै केन्द्रीय निक्षेप कम्पनीमा अभौतिकृत रुपमा रहेका निश्चित सीमासम्मको शेयरहरुको बीमा गर्न र राम्रो रेटिङ पाएका सूचीकृत कम्पनीहरुलाई मुद्रा बजारमार्फत ऋण प्रवाहमा सहुलियत प्रदान गर्न बोर्डले सहजीकरण गर्ने भएको छ ।
ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रुपमा शीघ्र संचालन गर्न सहजीकरण गर्ने, ओटिसी कारोबारलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन स्वचालित कारोबार प्रणालीको शीघ्र सुरुआत गराउन बोर्डले सहजीकरण गर्ने बताएको छ ।
बोर्डले बजार सहभागीहरुको क्षमता अभिबृद्धि तथा कार्यक्षेत्र बृद्धिका लागि मर्चेण्ट बैंकर र धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने र धितोपत्र दलाल व्यवसायीहरुलाई ब्रोकर डिलरसिप र एडभाइजरी सर्भिसको कार्य गर्न दिने व्यवस्था गरिने बताएको छ ।


















