काठमाडौं,२२ साउन। नवनियुक्त संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले एक महिनामा एक्सनमा उत्रिने उद्घोष सहित पर्यटन क्षेत्रको सुधारमा काम गर्ने योजना सार्वजनिक गरेपछि नेपालको पर्यटन क्षेत्रमा रजगज गर्दै आएका माफिया,भ्रष्ट र कमिशन खोर प्रशासकहरुको निद हराम भएको छ ।
पर्यटनमन्त्रीको एक हप्तापछि बुधबार पहिलो पटक पत्रकार सम्मेलन गर्दै उहाँले आफ्ना योजनाको फेहरिस्त सार्वजनिक गर्नुभएको हो ।
पदभार ग्रहण गरेको एक साताको अवधिमा मन्त्रालय मातहत रहेका नेपाल वायुसेवा निगम,नेपाल नागरिक उड्डयन प्राधिकरण,नेपाल पर्यटन बोर्ड,नेपाल पर्यटन विभाग,राष्ट्रिय अभिलेखालय लगायतका संस्थासँग विफ्रिङ लिएपछि उहाँले आफ्नो सुधार र अग्रगामी योजना सार्वजनिक गर्नुभएको हो।
मन्त्री भट्टराईले सबैभन्दा पहिला राष्टिय ध्वजाबाहकको रुपमा रहेको नेपाल वायुसेवा निगमलाई पुर्नसंरचना गर्ने बताउनुभएको छ । यसको तयारी स्वरुप उहाँले पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय सुधार अध्ययन कार्यदल गठन गर्नुभएको छ ।कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा सुवोधकुमार कर्ण, व्यवस्थापन विज्ञ डिमप्रसाद पौडेल र क्याप्टेन सुधीर शम्शेर राई हुुनुहुन्छ ।
पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव तोकिएको कार्यदलले एक महिनाभित्र ठोस सुझाव सहितको प्रतिवेदन तथा उक्त सुझावहरुको कार्यान्वयन गर्ने कार्ययोजना समेत पेश गर्नेछ ।’मैले साउन १५ गते नेपाल वायुसेवा निगमलाई वाह ११ नेपाल वायुसेवा निगम बनाउँछु भनेको थिए।त्यसैले मैले धेरै बैठक निगमकै पदाधिकारीसँग गरे। समाधान खोज्नका लागि कार्यदल पनि बनाएको छु’ उहाँले भन्नुभयो।
‘गाउँतिर कालिज मार्न भरुवा बन्दुक लिएर जान्छन्। अब भरुवा बन्दुक लिएर जाने होइन।एक महिनाभित्र निशाना जहाँ लगाउने हो त्यहीँ लगाउने गरी काम गर्न निर्देशन दिएको छु,’ भट्टराईलेभन्नुभयो,’अर्को महिना हामी एक्सनमा उत्रन्छौँ। त्यो समयसम्म निगमको कार्यकारी अध्यक्ष लगायत कर्मचारीलाई विजनेश प्लान, आन्तरिक उडानका लागि ल्याइएका ग्राउण्डेड जहाज उडान गर्न निर्देशन दिएको छु।’ उहाँले विमानस्थलमा सुविधायुक्त अत्याधुनिक बस संचालनमा ल्याउने बताउनुभयो।
नेपाली उड्डयन क्षेत्रलाई यूरोपियन यूनियनको सुरक्षा सुचीबाट हटाउन प्राथमिकता दिने बताउदै भट्टराईले भन्नुभयो,’यो विषयमा प्रधानमन्त्री ज्यूले भ्रमणका समयमा पहल गर्दै आउनुभएको छ। परराष्ट्र र पर्यटन मन्त्रालयले पनि आफ्नो भूमिका अनुसार काम गरिरहेका छन्।उनीहरुका केही शर्त छन् हामी संबोधन गर्दैछौं,’ । उहाँले इयुको प्रतिवन्धलाई हटाएर नेपाली ध्वजावाहक जहाजले युरोपको आकाशमा उडान गर्ने दिन टाढा नरहेको दाबी गर्नुभयो।
मन्त्री भट्टराईले नयाँ ऐन ल्याएर नेपाल नागरिक उड्डयन प्राधिकरणको नियामक निकाय र सेवा प्रदायक विभाजन गर्न प्रक्रिया अगाडी बढाउने बताउनुभयो।मन्त्री भट्टराईले स्वदेशमै पाइलट उत्पादनका लागि फ्लाइङ स्कुल निर्माण गर्ने बताउँदै विदेशमा ५० लाख भन्दा बढी खर्च हुने पढाइलाई कम खर्चमा पढ्न सकिने व्यवस्था गरिने बताउनुभयो । उहाँले फ्लाइङ स्कुल सञ्चालनका लागि नेपाल सरकार र वायुसेवा कम्पनीको लगानी हुने बताउनुभयो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलमा रुपान्तरण गर्ने कामलाई गति दिइने बताउदै उहाँले भन्नुभयो,’हाल परम्परागत र संस्कृति झल्काउने कला राखिएका छन्। जुनसुकै मुलुकबाट आउने पर्यटकले नेपालको प्रकृति र संस्कृतिको झलक त्यहाँ पाउनसक्ने किसिमले परिमार्जन गरिनेछ।’

उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ७३ प्रतिशत काम सकिएको बताउँदै विमानस्थल व्यवस्थापनका लागि चासो देखाएका कम्पनीसँग छलफल गरिने संचालन मोडालिटी स्पस्ट पारिने बताउनुभयो। भट्टराईले डिसेम्बरमै विमानस्थल संचालनमा ल्याउन ग्राउण्ड लाइटिङ र विमानस्थल व्यवस्थापनको काम छिटोसक्न निर्देशन दिएको बताउनुभयो।
मन्त्री भट्टराईले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सन्तोषजनक रहेको बताउँदै भन्नुभयो,’हाल सम्म ४५ प्रतिशत काम सम्पन्न भएको छ। सन् २०२१ जुन सम्म यो विमानस्थल संचालनमा ल्याउने भनेपनि कामको ग्राफ र प्रगति हेर्दा तोकिएको समय भन्दा अगाडी नै यो विमानस्थल संचालनमा आउनेछ।’

वहुप्रतिक्षित विमानस्थल निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलन्यास यही वर्ष भित्र गरिने मन्त्री भट्टराईले दाबी गर्नुभयो। ‘२४ वर्ष अगाडिदेखि यो विमानस्थलको चर्चा चलिरहेको छ। कामको प्रगति कम। बाहिर जति पनि टिकाटिप्पणी चलेपनि निजगढ विमानस्थलको अर्को विकल्प खोज्ने छैनौँ। निजगढ विमानस्थलनै काठमाडौं विमानस्थल हो। फास्ट ट्र्याक जोडिएपछि एक घण्टामै आवतजावत गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।
मन्त्री भट्टराईले वन विनाश गर्न नआएको तर विमानस्थल बन्नुपर्ने जिकिर गर्दै भन्नुभयो,’म वातावरण विनाश र विध्वंश गर्न आएको होइन। म निजगढमा नेपालको मात्र होइन विश्वको सानदार एयरपोर्ट बनाउन आएको हो। रुख व्यवस्थापनको पनि वैकल्पिक व्यवस्थापन गरिनेछ । ’
निजगढ विमानस्थललाई अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सर्वदलीय राजनीतिक सहमति निर्माण गर्ने उनले बताए। ‘अब धेरै समय लगाउँदैनौँ। यसको ठूलो अध्ययन गर्नेपर्ने विषय छैन। अब एउटा लजिकल कन्क्लुजनमा पुर्याउने छौ’, उहाँले भन्नुभयो।
निजगढ विमानस्थल आयोजनाको लगानीको ग्यारेण्टी मूख्य चासोको विषय रहेको उनले बताए। लगानी बोर्डसँग लगानी मोडालीटी निश्चित गरी २०१९ भित्रै शिलान्यास गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो।
उहाँले मुलुकभित्र रहेका राजविराज, भरतपुर, सुरखेत लगायत थप तीनवटा विमानस्थलमा रात्रीकालिन उडान योग्य बनाउने र अन्तर प्रदेशीय उडानका लागि छिट्टै वायुसेवा कम्पनीसँग बैठक बस्ने योजना सुनाउनुभयो।यसैगरी उहाँले भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण कार्यलाई अगाडी बढाउने, भ्रमण वर्ष २०२० लक्षित बुद्धिस्ट सर्किटको डिपिआर बनाउने र पशुपति क्षेत्र विकास कोष अन्तर्गत सम्पदा पुर्नर्निर्माणको काम अघि बढाउने बताउनुभयो।





















