काठमाडौं, १ भदौ । प्रजातान्त्रिक विचार समाजले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको घट्नालाई मर्यादित र निश्पक्ष तवरले छानवीन गर्न माग गरेको छ ।
समाजका अध्यक्ष डा. केदारनरसिंह के.सी.द्धारा जारी विज्ञप्तिमा यस प्रकरणमा पत्रकार रवि लामिछाने सहित तीन जनालाई छानबिन र अनुसन्धानका लागि पक्राउ गरिएको शैलीप्रति समाजको ध्यानकाषर्ण भएको जनाउदै सञ्चार गृहमा अनाधिकृत रुपमा प्रहरी प्रवेश गरी पक्राउ गर्नु सञ्चार गृहको स्वायत्त मर्यादामाथिको हस्तक्षेप हो भनिएको छ ।
समाजले कानुनी राज्य र विधिको शासनमा अटुट विश्वास राख्ने प्रतिबद्धता जनाउदै पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको विषयमा गम्भीर र निष्पक्ष अनुसन्धानको माग गरेको छ । सरकार र गृह प्रशासन वा राज्ययन्त्रप्रति जनतामा बढ्दो अविश्वासका कारण अनुसन्धानप्रति पीडित परिवार र सञ्चारकमीहरु विश्वस्त हुन नसकेकोले घट्नास्थल चितवनका स्थानीयहरु आन्दोलित भएको जनाउदै समाजले अनुसन्धानलाई भरपर्दो र विश्वसनीय एवं पारदर्शी बनाउन माग गरेको छ ।
कोही पनि निर्दोष व्यक्तिलाई फस्नु ,फसाइनु हुदैन भन्ने कानुनी मान्यताको सर्मथन गर्दै समाजले सरकारलाई न्यायपूर्ण समाजको स्थापनामा समर्पित हुन आग्रह गरेको छ ।


















