Prakash Adhikari September 12, 2019

नेपालगञ्ज(बाँके),२६ भाद्र । नेपाली कांग्रेसले पार्टीका संस्थापक एवम् नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि आरम्भ गरेको हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा बाँकेको कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले आक्रमण गरेका छन् ।

जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुरस्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, निर्मल खत्री लगायतका १३÷१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेका थिए ।

सो आक्रमणमा परी नेपाली कांग्रेस बाँकेका जिल्ला सभापति किरण कोइरालाको हात फ्याक्चर हुनुका साथै दर्जनौ कार्यकर्ताहरु घाइते भएका छन् ।

नेकपाका ५०÷६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको बताउनुभएको छ ।

उहाँले एक विज्ञप्ति प्रकाशित गर्दै यसलाई नेपाली कांग्रेसले राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा लिएको उल्लेख गर्नुभएको छ ।

नेपाली कांग्रेसद्धारा प्रकाशित विज्ञप्तिमा भनिएको छ, बढ्दो महंगी, भ्रष्टाचार, महिला ंिहसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको जनजागरणको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।

नेपाली कांग्रेस सो घटनाको घोर निन्दा र भत्सर्ना गर्दै भविष्यमा यस्ता घटनाहरु पुनः नदोहो¥याउन नेपाल कम्युनिष्ट पार्टीलाई चेतावनी दिएको छ ।

कांग्रेसले नेकपाका कार्यकर्तालाई जिम्मेवार राजनीतिक दलको जिम्मेवार कार्यकर्ताको रुपमा प्रस्तुत हुन समेत आग्रह गर्दै आक्रमणकारीहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गरेको छ ।

नेपाली काँग्रेस बाँकेले बिहिवार आकस्मिक पत्रकार सम्मेलन गरि प्रहरीको सहयोगमा सत्तारुढ नेकपाका कार्यकर्ताबाट आफुहरुको कार्यक्रममा अवरोध सिर्जना भएको दावी गरेको छ । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाको हात भाच्चिएको छ । नेपाली काँग्रेसका केन्द्रीय प्रतिनिधी विद्याप्रसाद खनालले  आफुहरुमाथी सत्ताधारी पार्टीका कार्यकर्ताबाटै आक्रमण भएको टिप्पणी गर्नुभयो ।  काँग्रेस बाँकेका सभापति किरण कोइरालाले आफुहरुको शान्तिपूर्ण कार्यक्रममा नेकपा कार्यकर्ताले हस्तक्षेप गरि आक्रमण गरेको दावी गर्नुभयो ।

Share Now

Leave a comment.