काठमाडौं, ३ असोज । नेपालका पदयात्रा व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एसेसिएसन अफ नेपाल (टान) को नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ।
नवराज दाहाल नेतृत्वमा रहेको निवर्तमान कार्यसमितिले हालै नवनिर्वाचित खुमबहादुर सुबेदीको नेतृत्वमा रहेको कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो।
असोज २ गते बिहीबार ठमेलमा अवस्थित होटलमा आयोजित एक कार्यक्रमबीच पद हस्तान्तरण गरिएको हो।

पद हस्तान्तरण कार्यक्रममा टानका नवनिर्वाचित अध्यक्ष सुवेदीले आफ्नो कार्यसमितिले पदयात्रा व्यवसायीको सामूहिक हित, नेपाल आउने पदयात्रीको सुरक्षा र नेपालको पदयात्राको आकर्षण अभिबृद्धिलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
पदभार हस्तान्तरण कार्यक्रममा टानका पूर्व अध्यक्ष तथा पदाधिकारीहरुसहित पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
टानको नयाँ कार्य समितिले पदयात्रा ब्यवसायलाई नेपालको पर्यटनको आकषर्णको रुपमा विकास गर्दै यसलाई रोजगारी सिर्जनाको माध्यमको रुपमा विकसित गर्न नयाँ पर्यटकीय गन्तव्यको पनि खोजी गर्ने भएको छ।

केहि दिन पहिले राष्ट्रिय अनलाइन पत्रकार सङ्घ (नोजा) ले नवनिर्वाचित कार्यसमितिको सम्मानमा आयोजना गरेको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष खुमबहादुर सुवेदीले सो कुरा बताउनुभएको हो । “नेपाल भ्रमण वर्ष– २०२० लाई सफल बनाउन टान पर्यटन मन्त्रालय र पर्यटन बोर्डसँग सहकार्य गरेर अगाडि बढ्छ”, उहाँले भन्नुभयो।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य दीपक महतले टानलाई राजनीतिबाट मुक्त बनाएर अगाडि बढाउनुपर्ने बताउनुभयो। उहाँले टानलाई समस्त पदयात्रा व्यवसायीको हकहितका लागि लड्ने थलोको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं पर्यटन व्यवसायी रामशरण थपलियाले पर्वतीय पर्यटनको विकासका लागि नयाँ कार्यसमितिले काम गर्नुपर्ने बताउनुभएको थियो।
कार्यक्रममाटानका वरिष्ठ उपाध्यक्ष नवीन त्रिताल, महासचिव सरिता लामालगायतले पर्वतीय पर्यटनमा देखिएका समस्या समाधानका लागि नयाँ कार्यसमितिले काम गर्ने बताउनुभएको थियो।


















