Prakash Adhikari September 21, 2019

काठमाडौं,४ असोज । मित्र राष्ट्र चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तय भएको छ ।

शक्ति राष्ट्र चीनका महामहिम राष्ट्रपति सी जिनपिङ असोज २७ गते नेपाल आएर २८ गते फर्कने कार्यक्रम रहेको परराष्ट्र स्रोतले बताएको छ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि शनिवार बसेको पार्टीको सचिवालय बैठकमा चीनका राष्ट्रपतिको नेपाल भ्रमण पक्का भएको कुरा सहभागीहरुलाई बताउनुभएको थियो ।

राष्ट्रपति सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन दिन अनौपचारिक छलफल गरेर अति विशिष्ट पाहुनाको रुपमा उहाँ नेपाल आउनुहुनेछ ।

राष्ट्रपति सीको भ्रमणको पूर्वसध्यामा चिनिया कम्युनिस्ट पार्टीको विदेश विभागको एक उच्चस्तरीय प्रतिनिधि मण्डल सोमबार नेपाल आउँदैछ ।
सो प्रतिनिधि मण्डलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग भ्रमणको एजेण्डा र आपसी सहयोगको सम्बन्धमा गरिने सहमतिका विषयमा गृहकार्य गरी अन्तिम रुप दिन दुवैतिरका परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने बताइएको छ ।

केही हप्ता पहिले चीनका विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएका सहयोगका सहमति लिने र दिने दुुवै मुलुकको इज्ज्यत सुहाउँदो नभएको टिप्पणी कुटनीतिक क्षेत्रमा व्याप्त भएकोले राष्ट्रपति सीको भ्रमणलाई सार्थक बनाउन दुवै देशका सम्बन्धित मन्त्रालयहरु र सरकार गम्भीर हुने अनुमान गरिएको छ ।

भारत र अमेरिकाको त्रासमा पर्ने गरेको नेपालको राज्ययन्त्र चीनसंग कुन स्तरको सम्बन्ध विकसित गर्ने भन्नेमा सधै अन्योलग्रस्त नै देखिन्छ ।

सीको भ्रमणका क्रममा केरुड. काठमाडौं रेलको डीपीआर गर्ने र बुढीगण्डकी निर्माणको सम्झौता हुनसक्छ । तर एकिन भन्न सकिने अवस्था चै छैन ।

Share Now

Leave a comment.