Prakash Adhikari October 18, 2019

भक्तपुर(थिमी), १ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा निर्वाचित भएरकाम गरिराखेका प्रमुख र उपप्रमुखलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

पार्टीको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै सभापति देउवाले भन्नुभयो, ‘हामीले चुनाव जितेका ठाउँमा कम्युनिष्टले भन्दा राम्रो काम गरेर देखाउनुपर्छ। कामबाट नै कम्युनिष्टभन्दा हामी फरक हो भन्ने देखाउनुपर्‍यो।’

उहाँले नेपाली कांग्रेसले जनताको मन जित्ने गरी काम गर्न पनि निर्देशन दिनुभयो। ‘जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी राम्रो काम गरेर देखाउनुपर्छ,’ देउवाले भन्नुभयो।

उहाँले कर्मचारीहरूले असहयोग गरेको गुनासो आएको बताउदै भन्नुभयो, ‘जनताको करबाट तलब खाने कर्मचारीहरू यो वा त्यो कुनै पार्टीमा लागेर काम गर्न हुन्न । कर्मचारीले असहयोग गरे भने हामी पनि हिसाब राख्छौं।’

देशभरका ३ सय भन्दा बढी स्थानीय तहबाट प्रशिक्षणमा प्रतिनिधि सहभागी भएको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ ।

जनताका आवश्यकतालाई पार्टीको नीति,कार्यक्रमसंग तादात्म्य राख्दै पार्टीसंगको समन्वयमा पूरा गर्ने मनशायले कांग्रेसले स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुलाई प्रशिक्षण राखेको हो।

Share Now

Leave a comment.