अंकरा(टर्की),१ कार्तिक(बीबीसी) । उत्तरी सिरियामा कुर्द नेतृत्वको फौजलाई पछाडि हट्न सहज हुनेगरी युद्धविराम गर्न टर्की सहमत भएको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बताएका छन्।
अङ्करामा उपराष्ट्रपति पेन्स र टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनबीच छलफल भएपछि यस्तो भनाइ बाहिर आएको हो।
सम्पूर्ण सैन्य कारबाही पाँच दिनको लागि रोकिएको छ र अमेरिले कुर्दहरूलाई व्यवस्थित ढङ्गबाट फिर्ता गर्न सघाउनेछ।
सीमा क्षेत्रमा टर्कीले आफ्नो ‘”सुरक्षित क्षेत्र” बनाउन चाहेको ठाउँबाट अमेरिकाले कुर्दहरूलाई हटाउनेछ।
ट्रम्पको ट्वीट
टर्कीले युद्धविराम गर्ने कुरा उपराष्ट्रपति पेन्सले भन्दा पहिले राष्ट्रपति डोनल्ड ट्रम्पले एउटा ट्वीटमार्फत् बताएका थिए।
Great news out of Turkey. News Conference shortly with @VP and @SecPompeo. Thank you to @RTErdogan. Millions of lives will be saved!
— Donald J. Trump (@realDonaldTrump) October 17, 2019
This deal could NEVER have been made 3 days ago. There needed to be some “tough” love in order to get it done. Great for everybody. Proud of all!
— Donald J. Trump (@realDonaldTrump) October 17, 2019
उनले दशौँ लाख मानिसको जीवनरक्षा हुने आशय व्यक्त गरेका थिए।
त्यसको केहीपछि उनले भने: “यस्तो सम्झौता तीन दिनअघि कसैगरी हुन सक्दैनथ्यो। यसो हुनका लागि केही ‘चर्को’ प्रेमको खाँचो पर्यो। सबैलाई राम्रो भयो। सबैप्रति गर्व गर्छु।”

यसअघि टर्कीले आक्रमण सुरु गरेकै दिन ट्रम्पले टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनलाई लेखिएको एउटा पत्र सार्वजनिक भएको थियो।
त्यसमा ट्रम्पले एर्दोआनलाई “कडा र मूर्ख व्यक्ति नहुन” सन्देश दिएका थिए।
पेन्सले आफ्नो घोषणाको बेला त्यसको श्रेय डोनल्ड ट्रम्पको “बलियो नेतृत्व”लाई दिँदै राष्ट्रपतिले “युद्धविराम चाहेको र हिंसा रोक्न चाहेको” बताएका थिए।
‘अन्त्य होइन’
टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोग्लुले पत्रकारहरूसँग कुरा गर्दै सिरियन डेमोक्र्याटिक फोर्सेस (एसडीएफ)ले सीमा क्षेत्र छाडेपछि मात्र सैन्य कारबाही स्थायी रूपमा रोकिने बताए।
“हामीले कारबाही रोकेका हौँ, अन्त्य गरेका होइनौँ,” उनले भने।
“त्यस क्षेत्रबाट (कुर्द फौज) पूर्ण रूपमा पछाडि हटेपछि मात्र हामी आक्रमण अन्त्य गर्छौँ।”
तस्वीर कपीराइटAFP/GETTY IMAGES
चाभुसोग्लुले कुर्द नेतृत्वका लडाकुका ठूला हतियार र तिनका आधार शिविर नष्ट पार्ने आफ्नो उद्देश्य सुरक्षित गरिएको बताए।
वाशिङ्टन र अङ्कराबीच भएको वार्तामा एसडीएफको प्रतिनिधित्व थिएन।
बीबीसीकी बार्बरा प्लेट असर भन्छिन्, “धेरै विश्लेषकहरूले यस सम्झौतालाई एर्दोआनको जितका रूपमा हेरेका छन्। किनकि यसले उनले खोजेका धेरैजसो कुरा पूरा गरिदिएको छ। खासगरी टर्कीको सेनाले कुर्दहरूलाई हटाउँदै सुरक्षित क्षेत्रमा नियन्त्रण राख्ने कुराको मान्यता यसले दिएको छ।”
प्रतिबन्ध फुकुवा
आक्रमण रोक्ने बताएसँगै राष्ट्रपति ट्रम्पले तीन दिनअघि टर्कीविरुद्ध लगाएका अमेरिकी प्रतिबन्धहरू हटाएका छन्।
तर दुई वरिष्ठ डेमोक्र्याट सांसदले एउटा विज्ञप्तिमार्फत् यसलाई ‘मिथ्या युद्धविराम’ भनेका छन्।
प्रतिबन्ध हटाउने कुराले अमेरिकी विदेशनीतिको विश्वसनीयतालाई कमजोर पारेको उनीहरूले बताएका छन्।
टर्कीद्वारा युद्धविराम प्रस्ताव अस्वीकार, रुसले सिरियाली सेनासँग ‘भिडन्त हुन नदिने’
टर्कीको प्रतिकार गर्न कुर्द लडाकु र सिरियाली सेना एकजुट
न्यान्सी पेलोसी र चक शुमरले टर्कीका राष्ट्रपति एर्दोआनले केही पनि नत्यागेको बताएका छन्।
यसअघि पेन्सले टर्कीमाथि लगाइएका आर्थिक प्रतिबन्धहरू आक्रमण पूरै रोकिएपछि फुकुवा गरिने र यसबीच थप प्रतिबन्धहरू नलगाउने बताएका थिए।
अमेरिकाले टर्कीको आक्रमणको सशक्त विरोध गर्दै दुईवटा मन्त्रालय र तीन वरिष्ठ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको थियो।
अमेरिकाले स्टीलमा कर बढाउने र व्यापार सम्झौतासम्बन्धी वार्ता पनि रोकेको थियो।
आक्रमण
टर्कीले गत साता उत्तरी सिरियामा आफ्नो सैन्य आक्रमण थालेको थियो।
गत आठ दिनमा ७२ सर्वसाधारण नागरिकको ज्यान गएको छ भने तीन लाख मानिस विस्थापित भएका छन्।

कुर्द नेतृत्वको एसडीएफको एउटा प्रमुख अङ्ग ‘कुर्द वाईपीजी’ले युद्धविरामलाई सदर गर्दै त्यसलाई सफल बनाउन सघाउने बताएको छ।
तर सबैतिर युद्ध नरोकिएकाले कुर्दहरूको पूर्ण प्रतिबद्धता भने स्पष्ट भएको छैन।
जिहादी समूह इस्लामिक स्टेट समूहविरुद्ध सङ्घर्षमा कुर्द नेतृत्वको एसडीएफले अमेरिकालाई सघाएको थियो।
आक्रमणको प्रतिकार गर्न सिरियाली कुर्दहरूलाई बशर अल-असदको सरकार सेना परिचालन गर्न सहमत भएको थियो।
उनीहरूबीच भएको सहमतिलाई सिरियाका राष्ट्रपतिको आत्मबल बढाउने अवसरको रूपमा हेरिएको छ।
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
ट्रम्पले के कारण टर्कीलाई दिए अर्थतन्त्र सखाप पारिदिने चेतावनी
कुर्द लडाकु र सिरियाबीच सहमति भएपछि उत्तरी सिरियामा सन् २०१२ यता पहिलोपटक सरकारी सेना फर्किएको छ।
बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेन भन्छन्: “टर्कीले आक्रमण थालेयता पछिल्लो एक सातामा सिरियाको रणनीतिक नक्सा भने फेरिएको छ।”
अङ्कराको इच्छा
टर्कीले कुर्द लडाकुहरूलाई टर्कीविरुद्ध विद्रोहको समर्थन गर्ने “आतङ्कवादी” मान्छ।
त्यसैले आफूले गरेको आक्रमण कुर्द लडाकुहरूलाई धपाएर “सुरक्षित क्षेत्र” निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको थियो।

कुर्द लडाकुहरूलाई धपाएर “सुरक्षित क्षेत्र” निर्माण गर्ने प्रयास भएको भन्दै टर्कीले सैन्य कारबाहीको प्रतिरक्षा गरेको थियो
अङ्करालेअहिले टर्कीमा रहेका ३० लाखभन्दा बढी सिरियाली शरणार्थीलाई पुनर्स्थापित गराउन चाहेको बताएको थियो। तीमध्ये धेरैजसो गैरकुर्द छन्।
कतिपय आलोचकहरूले टर्कीको कदमबाट स्थानीय कुर्द जनसङ्ख्याको जातीय नरसंहार हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए।
कुर्द नेताहरूले पनि आफ्नो नरसंहार हुनुभन्दा बशार अल असदसँग “पीडादायी सम्झौता” गर्नुपरेको बताएका छन्।
गत साता उक्त क्षेत्रबाट अमेरिकी सेना फिर्ता लैजानले निर्णयले टर्कीलाई उत्तरी सिरियामा आक्रमण गर्ने बाटो खोलिदिएको भन्दै अमेरिकाको देशभित्रै र अन्तर्राष्ट्रिय रूपमा तीव्र आलोचना भएको थियो।


















