Prakash Adhikari October 31, 2019

काठमाडौं, १४ कार्तिक । राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्लले खेलाडी, प्रशिक्षक र क्रिकेट संघ (क्यान) सबैले राष्ट्रिय टोलीलाई अघि बढाउन एकजुट भएर लाग्नु पर्ने बताएका छन्।

लामो समयदेखि राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका पारस खड्काले असोजको अन्तिम साता कप्तानको पदबाट राजीनामा दिएको सामाजिक सञ्जालमार्फत जनाएका थिए। त्यसयता उक्त पद रिक्त रहेको थियो।

खड्काको राजीनामा आधिकारीक रूपमा आएपछि क्यानले लामो समयदेखि उप–कप्तानको भूमिकामा रहेका ज्ञानेन्द्रलाई कार्यवाहक कप्तानको जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ।

उक्त निर्णयलाई क्रिकेटका जानकारहरूले स्वभाविक बताएका छन्।

“हामीले पारसको राजीनामा आधिकारिक रूपमा पाएपछि र अर्को निर्णय नभएसम्मका लागि ज्ञानेन्द्रलाई कार्यवाहक कप्तानको जिम्मेवारी दिने निर्णय गरेका छौं,” क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताए।

गौरवको कुरा

नवनियुक्त कप्तानले चाहिँ उक्त निर्णय सबैभन्दा पहिला सञ्चारमाध्यमबाट थाहा पाएको बताए।

उनले भने, “सुरूमा मिडियाबाट यो खबर पाएँ। भर्खरै क्यानका सचिव अशोकनाथ प्याकुरेलले पनि आधिकारी जानकारी दिनु भयो। राष्ट्रिय टोलीको नेतृत्व गर्नु मेरो लागि गौरवको कुरा हो।”

बीबीसीले उनको अबको योजनाबारे जिज्ञासा राख्दा २९ वर्षीय दायाँ हाते ब्याटस्म्यानले भने, “अब सबै जना मिलेर काम गर्नुपर्छ। त्यसका लागि खेलाडी, प्रशिक्षक र क्यान सबै बसेर राष्ट्रिय टोलीलाई कसरी अघि बढाउने भन्ने बारे छलफल गरेर सरोकारवाला सबैले एउटै सोच बनाएर अघि बढ्न जरुरी छ।”

लामो समयदेखि उपकप्तान
उनी सन् २००९ देखि राष्ट्रिय टोलीका उपकप्तान रहि आएका थिए।

यस्तै उनले सन् २०१७ मा भएको एसीसी इमर्जिङ्क टिम कप लगायतक केहि खेलाहरूमा कप्तानी गरिसकेका छन्।

यसैबीच पूर्व कप्तान पारसले ज्ञानेन्द्रलाई बधाई दिएका छन्।

पारसको बधाई
पारसले ज्ञानेन्द्रलाई सामाजिक सञ्जालमार्फत बधाई दिँदै लेखेका छन्, “सबैभन्दा योग्य व्यक्ति राष्ट्रिय क्रिकेट टोलीको कप्तान नियुक्त भएकोमा बधाई छ। उनको नेतृत्वमा हामीले नयाँ उचाई छुनेमा म विश्वस्त छु।”

क्यानका अध्यक्ष चन्दका अनुसार दीपेन्द्र सिंह ऐरी उप–कप्तान घोषित भएका छन्।

उनले सिंगापुर र जिम्बावेसँगको त्रिकोणात्मक सिरिज र ओमानसँगको टी-२० सिरिजमा उप–कप्तानको भूमिका निर्वाह गरिसकेका छन्।(बीबीसीबाट )

Share Now

Leave a comment.