Prakash Adhikari October 31, 2019

काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री के.पी. शर्मा ओलीको मृगौलाको डाइलासिस गरिएको छ । उहाँलाई बुधबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पतालमा लगिएको थियो ।

मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि बुधबार बिहान सरकारी निवास बालुवाटारबाट चेकजाँचका लागि ग्रान्डी लगिएको थियो। ग्राण्डी अस्पताल स्रोतका अनुसार बुधबार दिनभर गरिएको चेकजाँचका क्रममा प्रधानमन्त्रीको रगतमा क्रेटिनाइन र प्रोटिन अत्यधिक बढेको पाइएको छ। यी दुई तत्व ओलीको रगतमा अत्यधिक देखिएपछि चिकित्सकहरुले मिर्गौलाले काम गर्न छाडेको ठहरसहित डाइलासिस प्रक्रियामा जाने निर्णय लिएका थिए। चिकित्सकले प्रधानमन्त्रीसँग पनि परामर्श गरेपछि तत्कालै डाइलाइसिस प्रक्रिया थालेका थिए।

चिकित्सकहरुले उहाँको मिर्गौलाले काम गर्न छाडेकोले अपर्झट डाइलाइसिस गर्नुपरेको बताएका छन् ।

अस्पताल प्रशासन र उपचाररत चिकित्सकहरूले प्रमको स्वास्थ्य वास्तविक अवस्था सार्वजनिक गरेका छैनन् । स्वास्थ्य प्रतिवेदन अत्यन्त गोप्य राखिएको छ।

मिर्गौलाको डाइलाइसिसलाई जटिल र गम्भीर उपचार विधि मानिन्छ। उहाँको मिर्गौलालाई नियमित काम गर्न कठिनाई देखिएपछि उहाँलाई साउनमा सिंगापुर लगिएको थियो । सिंगापुरको पहिलो उपचारमा कि मृगौला फेर्नुपर्ने नभए प्लाज्मा फेर्नुपर्ने अवस्था देखिएपछि उहाँलाई नेपाल फर्काएर तुरुन्तै भदौमा सिंगापुर लगेर प्रधानमन्त्रीको प्लाज्मा फेरोसिस विधिबाट उपचार गरिएको थियो ।

स्रोतका अनुसार मिर्गौलामा गम्भीर समस्यासँगै प्रधानमन्त्रीको फोक्सोमा पनि संक्रमण भएको पाइएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रमको फोक्सोमा पानी जमेको छ। तर बुधबार साँझ ग्राण्डी अस्पतालका विभागीय चिकित्सकहरुले निकालेको प्रेस नोटमा प्रमको स्वास्थ्य सामान्य रहेको उल्लेख छ। छातीमा पनि संक्रमणमा देखिएपछि प्रधामन्त्रीले स्वासप्रश्वास प्रक्रियामा अप्ठ्यारो महसुस गर्नुभएको थियो । स्रोतका फोक्सो पनि परीक्षण भइरहेको छ। चिकित्सकहरूले प्रमको छातीमा पनि संक्रमण देखिएकाले नियमित निगरानीमा राखेर उपचार गर्नुपर्ने ठहर गरेका थिए।

यसअघि सिङ्गापुरको नेशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरेर प्रम ओली गत भदौ २० भदौ फर्कनुभएको थियो। सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा दुई पटक स्वास्थ्य परीक्षण भएको थियो। यसबीचमा छाउनीस्थित सैनिक अस्पतालमा उनको मिर्गौलाको बायोस्पी पनि गरिएको थियो। यसअघि पनि ओली स्वास्थ्य परीक्षणका लागि दुई पटक ग्राण्डी पुर्याइएको थियो। तर प्रधानमन्त्रीको सचिवालयले यो कुरा बाहिर ल्याएको थिएन।

धपेडी र जलन

शरीरको महत्वपूर्ण अंग मानिएको दुवै मृगौला क्षीण भएर प्रत्यारोपण गरिएको १२ बर्ष भएपछि सिंगापुरमा प्लाज्मा फेरोसिस विधिबाट उपचार गरेर फर्केपछि पनि प्रधानमन्त्रीले आराम गर्न पाउनु भएको छैन् ।

राज्य सञ्चालनको नियमित काम बाहेक उहाँ चिनिया राष्ट्पति सी जिनपिड.को भ्रमण, दशै तिहार शुभकामना, उद्घाटन, शिलान्यास, असंलग्न शिखर सम्मेलनको सहभागिता जस्ता कार्यक्रमले उहाँमा जीर्ण शरीरमा धपेडी बढेको बतान्छ ।

प्रधानमन्त्री ओली बोली र ब्यबहारमा छुच्चो र ईष्र्यालु व्यक्तिमा गनिनुहुन्छ । जीर्ण शरीरलाई औषधीको भरमा टेकाइरहनुभएका उहाँ देश विकासको नारा त दिइरहनुभएको छ, तर उहाँको ध्यान राज्यको सिंगो शक्ति एकीकृत गर्नेमा केन्द्रीत देखिन्छ । यसका लागि उहाँले पार्टीभित्रका समकालिन नेताहरु अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल मात्र होइन दोस्रो तहका भीम रावल,विष्णु पौडेल,सुरेन्द्र पाण्डे लगायतका नेताहरुलाई पनि साइजमा ल्याउन विभिन्न हतियार तयार पार्नुभएको छ । प्रतिपक्षी दल र आफ्ने पार्टीका प्रतिस्पर्धीलाई तह लगाउन राज्ययन्त्रलाई विभिन्न कृतिम आरोपमा छानवीन गरी साइजमा राख्ने तयारी गरिरहनुभएको छ ।

जीर्ण शरीर, अनावश्यक धपेडी, औषधीको असर र अन्य सहकर्मी तथा सहयात्री राजनीतिक दलका नेताहरुलाई कमजोर पार्ने असंभव र प्रत्युत्पादक ईष्र्याको कारण प्रधानमन्त्रीको स्वास्थ्यस्थिति सोचे भन्दा जटिल बन्दै गएको छ ।

 

Share Now

Leave a comment.