Prakash Adhikari October 31, 2019

 

काठमाडौं, १४ कार्तिक । संसद सचिवालयकी कर्मचारीबाट जबरजस्ती करणी र कुटपीटमा आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले उनीमाथि सो उद्योगमा मुद्दा दर्ता गर्ने निर्णय भएको बताउनु भएको छ ।

सरकारी वकिलको कार्यालयले बिहिबार नै अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
सार्वजनिक पद धारण गरेको व्यक्ति भएकाले सरकारी वकिलले डेढी सजायको माग गर्ने भएको छ ।

करणी उद्योगमा साढे तीनदेखि साढे पाँच वर्ष हुन्छ। डेढी भएकाले साढे सात वर्ष हुन सक्छ।

यस अगाडि नेपाल प्रहरीले निवर्तमान सभामुख महरामाथि सम्बन्धित घट्नाका बारेमा अनुसन्धान गरी कैद तथा जरिवाना हुनुपर्ने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो।

गत शुक्रबार बुझाइएको सो प्रतिवेदन प्रहरीले २० दिन लामो अनुसन्धान पछि तयार गरेको थियो । महराले संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी उद्योग गरेको पुष्टि भएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।

प्रतिवेदनमा महरालाई मुलुकी फौजदारी संहिता २०७४ को बलात्कार प्रयाससम्बन्धी कसूरमा कैद तथा सजायको माग गरिएको छ । सार्वजनिक पदमा बहाल रहेको अवस्थामा गरिएको अपराध भएकोले यसमा पनि थप सजाँय माग गर्ने संभावना छ ।

मुलुकी अपराध संहितामा जबरजस्ती करणीमा पीडितको उमेर हेरेर सजाय तोक्ने प्रावधान छ। पीडित महिला १८ वर्ष वा सोभन्दा बढी उमेरके भएमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योग मात्र गरेको भए त्यसको आधा सजाय हुने व्यवस्था छ। महरालाई त्यसको आधा सजाय अर्थात् साढे तीनदेखि ५ वर्षसम्म सजाय मागदाबी गर्न सकिन्छ।

त्यस्तै प्रहरी प्रतिवेदनमा आफ्नो कार्यालयकी कर्मचारीलाई जबरजस्ती गर्न खोजेको भन्दै त्यसमा पनि कारबाही हुनुपर्ने उल्लेख थियो। मुलुकी अपराध संहितामा आफ्नै कार्यालयकी कर्मचारीमाथि जबरजस्ती करणी गरेमा ४ वर्षसम्म कैद सजाय र ४० हजार रूपैयासम्म जरिवाना हुने व्यवस्था छ। जबरजस्ती करणी उद्योगमा त्यसको आधा सजाय हुन्छ।

सरकारी वकिल कार्यालयले यी दुवै कसूर जोडेर कैद सजाय माग गर्दै मुद्दा लैजान सक्नेछ। त्यसो गर्दा महरालाई ५ देखि ७ वर्षसम्म कैद सजाय हुनुपर्ने मुद्दा अदालतमा जान सक्छ।

महरा असोज १२ गते बा २० च ५७११ नम्बरको सिल्भर कलरको गाडी चढेर रोशनीको कोठामा पुगेको प्रहरीले पत्ता लगाएको थियो। पीडित महिलाले तात्कालीन सभामुख महराले जबरजस्ती करणी प्रयास गरेको कुरा सञ्चारमाध्यमबाट सार्वजनिक गरेपछि सभामुख पदबाट महराले राजिनामा दिनुभएको थियो । विभिन्न दबाव र प्रभाव झेल्दै गरेको परिस्थितिमा शाहीले प्रहरीमा जाहेरी दिएपछि महरालाई असोज १९ गते पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । ४ दिन हिरासतमा बसेपछि बिरामीको बहानामा निवर्तमान सभामुख नर्भिक अस्पतालमा बसिरहनुभएको छ ।

Share Now

Leave a comment.