Prakash Adhikari October 31, 2019

काठमाडौं,१४ कार्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीको २४ घण्टाभित्र दुईपटक डायलासिस सम्पन्न भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पतालमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको सामान्य स्वास्थ्य परीक्षण गरी विशेष परीक्षणको लागि भर्ना गरिएको थियो । विशेष स्वास्थ्य परीक्षणमा तुरुन्तै डायलासिस गर्नुपर्ने देखिएपछि हिजो बुधबार दिउसो उहाँको पहिलो डायलासिस गर्रिएको थियो ।

प्रधानमन्त्रीका सहयोगीहरुले सामान्य ज्वरो र स्वास प्रश्वासमा असहज भएपछि प्रधानमन्त्री उपचारको लागि ग्राण्डी अस्पताल जानुभएको र केही घण्टामा फर्कनुहुने जानकारी दिएको भएतापनि भर्ना गरेर डायलासिस गरेपछि स्वास्थ्य अवस्थालाई विचार गरी अर्कोपटक पनि डायलासिस गर्नुपर्ने निर्णयमा चिकित्सकहरु पुगेका थिए । डाक्टरहरुको राय अनुसार नै उहाँलाई अस्पतालमै राखेर २४ घण्टाभित्रै बिहीबार दिउसो दोस्रो डायलासिस गरिएको हो हो ।

प्रधानमन्त्री ओलीको २०६४ सालमा दुवै मृगौला काम नलाग्ने भएपछि भारतमा लगेर मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
त्यसपछि नियमित स्वास्थ्य अनुगमन र परीक्षण भने सिंगापुरमा हुँदै आएको छ । गत भाद्र महिनामा उहाँलाई सिंगापुर नेशनल हस्पिटलमा भर्ना गरी प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरमा विकसित भएको एण्टिबडीको उपचार गरिएको थियो ।

स्थिति सामान्यतिर : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस पछि स्वास्थ्य अवस्था सामान्य हुँदै गएको बताउनुभएको छ ।

बिहीबार अपरान्ह प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुग्नुभएका दाहालले भर्खर डायलासिस सकिएर प्रधानमन्त्री रेष्टमा रहनु भएको र त्यसपछि डिस्चार्ज हुने बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीसँग सामान्य कुराकानी भएको दावी गर्दै उहाँले ‘समस्या छिटोछिटो देखा पर्‍यो, अहिले ठीकै छ भनेर प्रधानमन्त्रीलले बताउनुभएको दाबी गर्नुभयो । प्रचण्डले भन्नुभयो, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ, आराम गरेर उहाँ बालुवाटार जानुहुन्छ ।’’

Share Now

Leave a comment.